नाकाबन्दी दुई देशको सम्बन्ध बिगार्ने गम्भीर कदम: रूस
मस्को: रूसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मंगलबार पास गरेको कानुन रूस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रूसले जनाएको छ।
अमेरिकी प्रतिनिधिसभाले रूससहित इरान र उत्तर कोरियामाथि पनि नाकाबन्दी लगाउने प्रस्तावमा अत्यधिक बहुमतले सहमति जनाएको थियो। यो नाकाबन्दीको कानुनले रूससँग अमेरिकाको सम्बन्ध थप असहज बनाउने रूसको धारणा आएको हो । रूसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले रूसी समाचार समिति इतार तासलाई बुधबार दिएको अन्तर्वार्तामा भने, ‘यो कानुनले रूससँगको सम्बन्ध राम्रो बनाउने होइन कि थप बिगार्न ठूलो सहयोग पुर्याउनेछ।'
यसैगरी रूसी संसद्का अन्तर्राष्ट्रिय मामिला कमिटीका ‘लियोनिड स्लत्स्की'ले पनि यो विधेयक पारित भएमा कटेता उत्पनन हुने बताएका छन् । उनले भने, ‘यो विधेयक पारित भएको खण्डमा अमेरिकाले रूसप्रति गर्दै आएको अहिलेको व्यवहार बदलिनेछ ।' उनले अमेरिकाले रूसमाथि लगाउने प्रतिबन्धले अमेरिका र रूसको सम्बन्ध जटिल हुने बताएका छन्।
यी देशमाथि केही विषय र क्षेत्रमा नाकाबन्दी लगाउने विषयमा मंगलबार अमेरिकी प्रतिनिधिसभामा मतदान भएको थियो । उक्त मतदानमा ४ सय १९ जनाले पक्षमा र तीनजना मात्रले विपक्षमा मतदान गरेका थिए।
यो पछिल्लो कानुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार कटौतीका लागि लक्ष्य गरेर आएको छ । यस विषयमा गत दुई सातादेखि अमेरिकी संसद्मा व्यापक मात्रामा बहस जारी थियो। उत्तर कोरिया र इरानका लागि गरिएको यो नयाँ नाकाबन्दी खासगरी पछिल्लो समयमा उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणको विरुद्धमा गरिएको छ।
साथै रूसका लागि लक्षित नाकाबन्दी उनले रूसका पक्षमा गर्नसक्ने कुनै पनि निर्णयको अधिकार कटौतीका लागि ल्याइएको हो । यो विधेयक पारित भएमा उनको अधिकारमाथि कंग्रेसको अंकुश कायमै रहनेछ।
मतदानको प्रक्रियासम्म रिपब्लिकन र डेमोक्र्याटको सहमतिको आधार यो कानुन बनेको थियो । अब यो विधेयक अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटले पारित गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्रपति समक्ष जानेछ।
राष्ट्रपति ट्रम्पले आफू पनि सो विधेयकको पक्षमा रहने प्रारम्भिक प्रतिक्रिया दिए पनि वास्तविकतामा त्यो नहुन पनि सक्ने अनुमान गरिएको छ। रूसमाथि कडा खालको नाकाबन्दी लगाउने विषयमा अमेरिकी सिनेट र प्रतिनिधिसभामा व्यापक मात्रामा विवाद रही आएको थियो । त्यस मतदानमा प्रस्तावको पक्षमा यति धेरै मत प्रकट भएकाले अब सिनेटबाट सिधै पारित गर्ने कि के गर्ने भन्ने बारेमा राष्ट्रपति ट्रम्पलाई अप्ठेरो अवस्था रहेको विश्लेषकहरूको भनाइ छ।
उनीहरूले राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न पनि सक्ने अधिकार दिइएको भए पनि प्रतिनिधिसभामा यति धेरै सहमतिको अवस्था देखिएकाले उनलाई आफ्नै पार्टी रिपब्लिकनका तर्फबाट पनि समर्थन प्राप्त नहुन पनि सक्ने खतरा रहेको बताएका छन्।
इरानका राष्ट्रपति हसन रोहानीले बुधबार अमेरिकाले सन् २०१५ को परमाणु सम्बन्धी सम्झौताको परिवर्तन गरेमा त्यसको उचित प्रतिक्रिया दिने चेतावनी दिएका छन् । अमेरिकी प्रतिनिधिसभामा प्रतिबन्धसम्बन्धी नयाँ विधेयक पारित भएको भोलिपल्टै इरानको यस्तो भनाइ आएको हो।
सरकारी सञ्चारमाध्यम आईआरआईबीद्वारा प्रसारित एक बैठकमा रोहानीले भने, ‘यदि शत्रुले सम्झौताका कुनै पक्षमा फेरबदल गर्छन् भने हामीले पनि त्यसै गर्नेछौं । शत्रुले सम्झौताका सम्पूर्ण पक्षमा कुनै नयाँ कदम उठाउँछन् भने हामीले पनि त्यही गर्नेछौं ।' इरानको संसद्को राष्ट्रिय सुरक्षा एवं विदेश मामिला समितिले शनिबार यस बारेमा असाधारण बैठक बोलाएको छ । अमेरिकी प्रतिबन्धका विषयमा धारणा बनाउन यस्तो बैठक बोलाउनुपरेको हो।
मंगलबार मात्र पारित भएको यस कानुनका बारेमा उत्तर कोरियाले भने कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प इरान र उत्तर कोरियाको आणविक गतिविधि रोक्नका लागि रूसको समर्थन जुटाउन लागि परिरहेका थिए।
यो विधेयक सिनेटले पास गरेको खण्डमा रूससँग सुमधुर सम्बन्ध कायमा राख्न प्रयासरत ट्रम्पको योजनामा दखल पुग्ने देखिन्छ ।