खडेरीले धानखेतमा धाँजा फाट्यो
जनकपुरधाम: वर्षा नहुँदा धनुषाका धानखेतमा धाँजा फाट्न थालेको छ। साउनको दोस्रो साता आईसक्दा समेत वर्षा नभएपछि धानका बेर्ना खेतमै सुक्ने जोखिम बढेको छ।
जिल्लाका अधिकांश किसानले आकाशे पानीको भरमा धानखेती गर्ने हुनाले पानी नपर्दा यस वर्ष उत्पादनमा निकै हस आउने सम्भावना बढेको हो।
जिल्लामा गत वर्षको तुलनामा आधा धान उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ। वर्षा नभएर खडेरीको अवस्थामा हालसम्म जिल्लामा २५ प्रतिशत मात्र रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले बताए।
रबेर्ना तयार भइसके पनि वर्षाको अभाव र सिँचाइ असुविधाका कारण किसानले एकातर्फ रोपाइँ गर्न सकिरहेका छैनन् भने अर्कोतर्फ रोपिएका बेर्ना पनि सुक्ने खतरा बढेको ठाकुर बताउँछन्।
गत वर्ष धनुषामा धानको राम्रो उत्पादन भएको थियो। समयमै वर्षा हुँदा जिल्लामा दुई लाख २५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो तर यस वर्ष यस्तै अवस्था रहे एक लाख मेट्रिनभन्दा कम हुने सरकारी अनुमान छ।
जिल्लामा कुल ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६४ हजार पाँच सय हेक्टरमा धानबाली लगाइन्छ तर सिँचाइ सुविधा २५ हजार हेक्टरमा मात्र उपलब्ध छ। किसानले आफ्नो निजी लगानीमा मोटर लगाएर खेतमा पानी पुर्याई धान उत्पादन गरे पनि त्यसको उचित भाउ पाएका छैनन्।
यसले गर्दा पनि धानखेतीमा किसानको आकर्षण घटेको डेवहिडाका किसान शिवशंकर झा बताउँछन्। सरकारले किसानलाई सिँचाइ सेवा उपलब्ध गराउन खासै पहल गरेको छैन।