ट्राफिक र चालकको भिडन्त कहिलेसम्म?
काठमाडौं: थापाथलीस्थित त्रिपुरेश्वर जाने मोडमा ट्राफिक प्रहरी सधैंजसो हातमा चीट बोकेर तैनाथ हुन्छन् । लाग्छ कि सवारीचालकले पहिल्यै नियम तोड्छन् र कारबाही गरिहालौं।
बुधबार मात्रै ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुरबीच भएको छलफलमा यो विषयले प्रवेश पाएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्रश्न गर्दै एक व्यवसायीले भने, 'ट्राफिकले चीट हातमा बोकेर आतंक मच्चाईरहेको छ, लाग्छ कि उनीहरु फिल्मको टिकट बेच्न बसिरहेका छन्, यसले राम्रो शोभा दिदैन, यो तत्काल बन्द गर्न लगाउनुस्।' जवाफमा खनालले यो विकृतिलाई रोक्ने बताए।
ट्राफिक प्रहरीको कारबाही चीटमा चालकले ट्राफिक प्रहरीसँग बादविवाद गरेको विषयमा समेत चीट काट्ने गरेको गुनासो व्यवसायीको थियो। नेपाल यातायात सोतन्त्र मजदुर संगठनका उपाध्यक्ष अर्जुन अर्यालले प्रश्न गरे, 'चालक र ट्राफिकबीचको वादविवादलाई कसरी मापन गर्ने?
केही कारबाही गर्ने ठाउँ नपाएपछि वादविवाद भयो भनेर पनि दुःख दिंदै आएका छन् ट्राफिकले यसलाई रोक्नुपर्छ।' अर्यालले ट्राफिकले चालकलाई र चालकले ट्राफिकलाई जहिल्यै पनि 'दुस्मनी' को रुपमा हेर्ने प्रवृत्ति कहिले रोकिन्छ भन्दै प्रश्न गरे।
यातायात व्यवसायी भीम दौलागाईले सुरुमै ट्राफिक र चालकबीचको भीडन्त कहिल्येसम्म? भन्दै प्रश्न गरे। उनले उपत्यकाको जनसंख्या, सडकको भौतिक पूर्वाधारको अवस्था र सवारीसाधनको संख्यालाई आधार मान्दा सवारी व्यवस्थापन ज्यादै चुनौतिपूर्ण रहेको बताए।
उनले भने, 'गत वर्षको मात्रै तथ्यांक हेर्ने हो भने उपत्यकाको सवारीसाधन संख्या नौ लाख २० हजार छ, जनसंख्या बढ्दो छ, सडकको भौतिक पूर्वाधार नाजुक छ, यस्तो अवस्थामा सार्वजनिक सवारीले यात्रुलाई सुविधा दिंदै आएका छन् तर पनि चालकलाई ट्राफिकले देखि नसहने किन ? चालक र ट्राफिक कहिलेसम्म भिड्ने ?।'
नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय राईले ट्राफिक प्रहरी मुख्य बाटोमा मात्रै ढुकेर बस्ने र सहायक बाटोमा ड्युटी नगर्दा सडक जाम हुने गरेको बताए। उनले पछिल्ला दिनमा राज्यले भत्ता नदिने भएपछि ट्राफिक प्रहरीले पहिल्ये जस्तो गौडागौडा कुरेर कारबाहीमा नउत्रिएको बताए।'
पैदलयात्री हिड्ने पेटी छैन, ट्राफिक लाईट छैन, सवारी चाप छ यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्ने ? ट्राफिकको संख्या बढाएर मात्रै हुदैन प्रविधिमैत्री बनाउनुपर्यो,' राईले भने।
छलफलमा सवारीसाधनलाई दिईदै आएको मनपरि रुट परमिटको विषयले समेत प्रवेश पाएको थियो। व्यवसायीहरुले अहिले सडकको बारेमा यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीको मात्रै चासोको विषय बनेको ध्यानाकर्षण गराएका थिए।
उनीहरुले यातायात व्यवस्था विभागले जथाभावी रुट परमिट दिएका कारणले पनि उपत्यकाको अवस्था भद्रगोल बन्न पुगेको बताए। ' रुट परमिट दिने बेलामा बाटोको अवस्था, जनसंख्याको चाप र सवारीसाधनको विवरण हेरेर मात्रै दिनुपर्ने व्यवस्था कानुनमै स्पष्ट भएपनि विभागले जथाभावी रुट वितरण गरेपछि भएभरको सवारीसाधन उपत्यकामा भित्रियो यो कसरी व्यवस्थापन गर्ने?
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले भने। उनले जेब्राक्रस, आकाशेपूलबाटै बाटो काट्नुपर्छ भन्ने ज्ञान सडक प्रयोगकर्तामा गराउन नसक्नु अहिलेको मुख्य चुनौति रहेको बताए।
सबैको धारणा सुनेपछि महाशाखा प्रमुख एसएसपी खनालले ट्राफिक प्रहरीले पैसा मागेका तुरुन्दै ट्राफिक प्रहरीको नाम र विवरण टिपाएमा घटनास्थलमै कारबाही गर्ने बताए । उनले भने, 'हिजो के गर्यो थाहाभएन, अब ट्राफिकले पैसा माग्छ र अनावश्यक दुःख दिन्छ भने तुरुन्त टिपाउनुस् कारबाही गर्छु तर ट्राफिक नियम र कानुन विपरित जाने जो कोहीलाई पनि छाड्दीन त्यो पनि विचार गर्नुस् ।'
उनले एक साता भित्रै उपत्यकाको सवारी व्यवस्थापनमा आभास हुनेगरि काम गर्ने बताए । ' जरिवाना असुल्ने काममा अब ट्राफिक अल्मलिदैन, काम गरेर देखाउँछ, सडकका खाल्डाखुल्डी पुर्नेकाम अगाडी बढिसकेको छ, अनुशासित भएर सवारी हाकौं, नियम पालना गरौं, आफैं व्यवस्थित हुन्छ, खनालले भने ।