स्वास्थ्यकर्मीको लापरवाहीले सुत्केरीको मृत्यु
इटहरीः सुनसरीको बराह नगरपालिकामा एक क्लिनिक सञ्चालकको लापरवाहीले सुत्केरी महिलाको ज्यान गएको छ।
बराह नगरपालिका वडा नं. ५ मा क्लिनिक सञ्चालन गरेर बसेका बराह नगरपालिका ४ का रामदेव ठाकुरको लापरवाहीका कारण स्थानीय तुलसा माझीको ज्यान गएको परिवारले दावी गरेको छ।
३० वर्षीया माझीले सामान्य रुपमै बुधबार बच्चा जन्माएकी थिइन्। दिउँसो १ बजे छोरालाई जन्म दिएकी माझीको सालनाल सफा गर्नको लागि क्लिनिक सञ्चालक तथा स्वास्थ्य सहायक ठाकुरलाई बोलाइएको थियो ।
‘तर ठाकुरले एकै पटक हात हाले,' श्रीमान भीमलाल माझीले भने, ‘के नशा तानिदियो, श्रीमतिको ज्यान गयो।' सुत्केरी बेहोस भएको भन्दै औषधि लिन भनेर गएका ठाकुर फर्केर आएनन्। पछि खोजी गर्दा उनी भागिसकेका थिए।
श्रीमतिको मृत्युपछि माझीले ठाकुरविरुद्ध प्रहरीमा किटान जोहरी दिन खोजे पनि प्रहरीले भने जाहेरी लिन नमानेको उनले बताए। ‘पोष्टमार्टमको रिपोर्टअनुसार हत्या हो कि भबितव्य हो, हेरेर मात्र मुद्दा अघि बढाउने भनेर अहिले ज्यान सम्बन्धि भनेर उजुरी दर्ता गरेका छौं,' इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले भने, ‘किटानी जाहेरी लिनको लागि हामीसँग आधार छैन ।'