ट्रिपर सहित दुई व्यक्ति त्रिशुलीमा बेपत्ता
गजुरी (धादिङ) : पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नं २ चाम्वासबाट त्रिशुली नदीमा ट्रिपर खस्दा ट्रिपर सहित २ जना वेपत्ता भएका छन् ।
सिद्धालेक गाउँपालिकाको फिसफिसेटारबाट वालुवा लिनको लागि गजुरी तर्फ जादैँ गरेको बा ४ ख ५१४६ नम्बरको ट्रिपर सडक देखि ३० मिटर तल त्रिशुली नदीमा खसेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रिपर संगै चालक सागर परियार र उनका साथी २१ बर्षीय भोजराज थपलिया नदीमा हराएका हुन्।
सडक छेउको ४ वटा प्याराफिट भत्काउदै ट्रिपर ३० मिटर तल त्रिशुलीमा खसेको थियो । नजिकैको झोलुङ्गे पुलबाट बटुवाहरुले ट्रिपर खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेपत्ताहरुको खोजीमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिए पनि फेला पार्न नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए।
खोजीका लागि सशस्त्र प्रहरीको राजमार्ग उद्धार टोली पनि परिचालन गरिएको छ । सापकोटाले भने, ‘दुर्घटना हुने वित्तिकै विपत ब्यवस्थापन तालिम केन्द्र कुरिन्टारबाट आएका शसस्त्र प्रहरीहरुको टोलीले नदीमै पसेर खोजी कार्य गरेको भएपनि पानीको उच्च बहावका कारण उहाँहरुको डुङ्गा समेत पल्टियो, पानीको बहाव उच्च भएकाले खोजी कार्यमा समस्या भइरहेको छ।'
ट्रिपरसंगै हराइरहेका थपलिया यस अघि ट्रयाक्टर चालकको काम गर्दथे । एक महिना अघि थपलियाले चलाएको ट्रयाक्टरले नलाङमा एक बालिकाको ज्यान गएपछि थुनामा परेका उनी केही दिन अघि मात्रै थुनामुक्त भएका थिए।
त्यस्तै पृथ्वीराजमार्गकै बेनिघाटमा सवारी दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ३७४० नम्वरको ट्रक र काठमाण्डौबाट मुग्लिन तर्फ जादै गरेको बा १२ च ४४०८ नम्बरको जीप पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट नजिकै बादरेमा एकआपसमा ठोक्किदा ७ जना घाइते भएका हुन्।
घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाइ उपचारका लागि राजमार्गको अस्पतालमा पठाइएको बेनिघाट प्रहरीले जनाएको छ ।