वैदेशिक रोजगारीमा ठगी गर्ने व्यवसायी किटान,कार्वाही गर्ने तयारी
काठमाडौ उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताएका छन् ।
व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उनले राज्यका निकाय एवम् विदेशस्थित नियोगलाई एकीकृत ढङ्गबाट परिचालन गरेर तत्कालको समस्या सम्बोधन गर्ने बताए उनले भने ‘आजको समस्यालाई बुझेर वैदेिशक रोजगारीलाई व्यवस्थित गर्नु नै वस्तुवादी हुन्छ ।’
मन्त्री महराले आफू श्रम तथा रोजगार मन्त्रालयसँग निरन्तर संवाद गरेर समस्याको समाधान गर्न लागि गरेको स्पष्ट पारे । उनले परराष्ट्र, गृह, अर्थ र श्रममन्त्रालयका प्रतिनिधिसहितको संयन्त्र बनाइसकेको जानकारी दिँदै श्रमिकका समस्यालाई तदारुपताका साथ परिणामुखी बनाउने विश्वास दिलाए । मन्त्री महराले भने ‘श्रमिकका विषयमा सरकार संवेदनशील र गम्भिर छ ।’
मध्यपूर्वमा काम गर्ने श्रमिकका विषयमा विशेष ढङ्गबाट सोच्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खाडी राष्ट्रका कूटनीतिक नियोग र श्रमसहचारीसहितको सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने सोचका साथ आफू अगाडि बढेको जानकारी गराए ।
त्यसैगरी उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुने गरी मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाउने बताए ।
तत्काल श्रमिक फिर्ता गर्न नसकिएपनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै मन्त्री महराले त्यस कार्यका लागि सरकारले गम्भिररुपमा पहल गर्ने बताए ।
वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कुटनीतिक सम्बन्ध अझ सबल गराउने बताउँदै उनले सरकारी तहमै श्रम सम्झौता गरेर मात्र श्रमिक पठाइने बताए । मन्त्री महराले तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने बताए ।
उनले भने “संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भइ समस्याको समाधान हुन्छ ।” मन्त्री महराले नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइने जानकारी दिए ।
दीर्घकालमा मुलुकमै औद्योगिक विकास गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उनले आफू अर्थमन्त्री हुँदा २०० बन्द उद्योग पुनःस्थापना भएको र ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएकोले त्यसलाई निरन्तरता दिने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘विदेशमा जाने श्रमिकका लागि स्वदेशमै रोजगार स्थापना गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने हाम्रो लक्ष्य छ तर त्यो लक्ष्य आजै पूरा हुन सक्दैन’ मन्त्री महराले भने“सकारात्मक लक्ष्य प्राप्तिका लागि निरन्तर पहल गर्नुपर्छ ।” बैठकमा गृहमन्त्री जनार्दन शर्मा र श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरको सहभागिता थियो ।
बैठकमा परराष्ट्रसचिव शङ्करदास वैरागीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारीमा ठगी गर्ने व्यावसायीमाथि छानविन गरी नियोगले किटानी दिइसकेको भन्दै उनीहरु उपर कारबाही हुनुपर्ने बताए । उनले भने “नेपाली नागरिकको सुरक्षा सरकारको दायिन्व हो, त्यसका लागि सरकारी निकायबीच समन्वय आवश्यक छ ।”