ड्रोनबाट गोहीको अनुगमन
बर्दियाः मानव रहित विमान (ड्रोन) प्रयोग गरी बर्दिया राष्ट्रिय निकुञ्जको बबई नदीमा रहेका घडीयाल र मगर गोही अनुगमन गरिएको छ। संरक्षित क्षेत्रहरुमा हुनसक्ने वन्यजन्तुको चोरी शिकार एवम अवैध गतिविधि नियन्त्रणका लागि मात्रै नेपालमा प्रयोग गरिँदै आएको ड्रोन बर्दियामा पनि प्रयोग गरिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत तथा आईयुसीएनको रातो सूचीमा अतिसंकटापन्न र लोपोन्मुख प्रजातिका रुपमा सुचिकृत गोहीको ड्रोनबाट अनुगमन तथा सर्भेक्षण कार्य गरिएको हो।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागबाट वन्यजन्तु अनुगमनका लागि परीक्षणका रुपमा नेपालमै पहिलो पटक मानवरहित विमान प्रयोग गरी बबई नदीमा रहेका गोही अनुगमन तथा सर्भेक्षण गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।
उनले थपे, ‘प्रविधिका कारण ३ घण्टामा ४६ किलोमिटरको दूरीमा अनुगमन कार्य सकिएको हो । सर्भेक्षणबाट बबई नदीको प्राकृतिक बासस्थानमा ३३ वटा घडीयाल र ३१ वटा मगर गोही रेकर्ड गरिएको छ ।'
नेपालमा घडीयाल र मगर गरी दुई प्रजातिका गोही पाईन्छन् । नेपालमा विगतका वर्षहरुमा गोही सर्भेक्षण तथा अनुगमन कार्य गोहीको पदचाप हेरेर गरिँदै आएको थियो। सन् २०१६ मा गरिएको गोही सर्भेक्षण गणना अनुसार नेपालका नारायणी, राप्ती, बबई र कर्णाली नदीमा १ सय ९८ वटा घडीयाल गोहीहरु भेटिएको थियो। उक्त समयको सर्भेक्षण अनुसार बबई नदीमा ३१ वटा घडीयाल गोही रेकर्ड भएको निकुञ्जले जनाएको छ ।
आधुनिक प्रविधिको प्रयोगले छोटो समयमै धेरै काम सम्पन्न गर्न मद्दत पुगेको थापाको भनाई छ। ड्रोनको प्रयोग सहज मात्र होइन, भरपर्दो र प्रभावकारी समेत देखिएको उनले प्रष्ट्याए । नेपालमै पहिलो पटक परिक्षणका लागि बबई नदीमा मानव रहित विमान मार्फत गरिएको गोही अनुगमन सफल भएको निकुञ्जको दावी छ।