जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेल गुड्ने

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेल गुड्ने

जनकपुरधाम : मार्च २०१८ सम्ममा नेपालमा ब्रोडगेज संचालनको लक्ष्य लिई निर्माण कार्यलाई तिव्रता दिइएको छ। भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म जम्मा ६९ किलोमिटर ब्रोडगेज रेल मार्ग निर्माण कार्य सम्पन्न गरिने योजना भए पनि अबको आठ महिनामा जयनगरदेखि कुर्था सम्म ३२ किलोमिटर रेल पहिलो चरणमा संचालन गर्न अधिकांश तयारीहरु पूरा भइसकेको छ।

भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि सुरुवातमा भारत सरकारले पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल सात अर्ब २० करोड भारतीय रुपैंया खर्चिने जनाइएको छ।

पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्च सम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबास सम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो। सोही अनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो। ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढेको छ।

जस अन्तर्गत नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का दिइएको हो।

भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको हो। जसमा हाल भारतीय कम्पनीले इनर्वादेखी महुवासम्ममा माटो, स्लोप, घाँस राख्ने, लगायतको कामहरु सम्पन्न गरिसकेको कम्पनीका इन्जिनियर कौशिक साहुले बताए। उनले भने, ‘हामी मार्चमा रेल सञ्चालनका लागि प्रतिबद्ध भई काम गरिराखेका छौं। यता, अर्काे ठेकेदार कम्पनीले पनि आफ्नो काम करिब करिब सकेकै हो।’

रेल र स्लिपरको काम इरकनले आफैं गर्ने छ। जस अन्तर्गत भारत तर्फ स्लिपरहरु सबै आइसकेको र नेपालका लागि ल्याउने कामहरु भइरहेको छ। त्यसैगरी रेल मार्गमा बिछ्याइने विशेष प्रकारको ढुंगा ब्लास्टहरु समेत जम्मा गर्ने कामहरु भइरहेको छ। ब्लाष्ट र स्लिपरको काम भइसकेपछि लिक ओछ्याउने काम सुरु हुने र त्यसका लागि समेत भारतको उडिसा राज्यको भिलाई भन्ने स्थानमा निर्माण कम्पनीलाई ठेक्का दिई एडभान्स रकम समेत दिई सकिएको र चाँडै नै वीरगंज बन्दरगाहबाट ति लिकहरु नेपाल भित्र्याइने जनाइएको छ।

रेल मार्गमा पर्ने जम्मा साना पुलहरु १२३ वटा र मुख्य ठूला पुलहरु १९ वटा पर्ने र जसमध्ये साना पुलहरु सबै निर्माण भइसकेको र मुख्य पुलहरुमा १७ वटामा काम करिब करिब सम्पन्न हुने तरखरमा रहेको इरकनका प्राविधिकले बताएका छन्। पुलहरुमा गाटर हालेर एक अर्कासंग जोडिएपछि ब्लाष्ट बिछाउने र लिंक हाल्ने काम सुरु भई स्लिपरहरु समेत राखिने छ।

३ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको रेल सेवा मार्चसम्ममा ब्रोडगेजमा परिणत हुने प्रतिबद्धता भारतीय पक्षले व्यक्त गर्दै आएको हुनाले सोही अनुरुप आफूहरु पनि काममा लागि परेको र निर्धारित समयमै रेल संचालन हुने रेल तथा मेट्रो विकास आयोजना, साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद ओझाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.