एकै दिन चार विश्वकीर्तिमान
एजेन्सी : हंगेरीको बुढापेस्टमा जारी विश्व पौडी प्रतियोगितामा बुधबार एकै दिन चारवटा नयाँ विश्वकीर्तिमान बनेका छन्। प्रतियोगितामा अमेरिकी पौडीबाज लिली किङ, क्यानडाकी कायले ज्याकलिन मासी र ब्रिटेनका एडम पिटीले विश्वकीर्तिमान बनाएका हुन्। दुई महिला खेलाडी किङ र मासीले एक-एक तथा पुरुष खेलाडी एडमले दुईवटा कीर्तिमान बनाएका हुन्।
ओलम्पिकमा स्वर्ण पदक जितेकी किङले महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा चार वर्षअघि बनेको कीर्तिमान तोडेकी हुन्। उनले निर्धारित दूरी पार गर्न एक मिनेट ०४.१३ सेकेन्ड समय खर्चिइन्। उनले आफ्नो स्पर्धामा चर्चित रुसी प्रतिद्वन्द्वी युलिया एफिमोभालाई पनि पछि पारिन्। यसअघि उक्त स्पर्धाको कीर्तिमान लिथुआनियाकी पौडीबाज रुटा मिलुत्यातको नाममा रहेको थियो। रुटाले निर्धारित दूरी एक मिनेट ०४.३५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान आफ्नो नाममा पारेकी थिइन्।
मासीले भने महिला एक सय मिटर ब्याकस्ट्रोक स्पर्धामा नयाँ कीर्तिमान बनाएकी हुन्। उनले निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गर्दै पुरानो कीर्तिमान तोडेकी हुन्। यसअघि उक्त कीर्तिमान ब्रिटेनकी जेम्मा स्पोफोर्थको नाममा थियो। जेम्माले सन् २००९ मा इटालीको रोममा भएको विश्व च्याम्पियनसिपमा निर्धारित दूरी ५८.०८ सेकेन्डमा पार गर्दै कीर्तिमान बनाएकी थिइन्।
यसैगरी एडमले पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा लगातार दुईपटक पुरानो कीर्तिमान तोडे। उनले बुधबार हिट चरणको स्पर्धामा निर्धारित दूरी २६.१० सेकेन्डमा पूरा गरे। यसअघि पनि उक्त स्पर्धाको कीर्तिमान एडमकै नाममा थियो। उनले दुई वर्षअघि कजानमा भएको प्रतियोगितामा अहिलेको भन्दा ०.३२ सेकेन्ड ढिलो निर्धारित दूरी पार गरेर कीर्तिमान बनाएका थिए।
एडमले बुधबार नै भएको सेमिफाइनलमा पुनः नयाँ कीर्तिमान बनाए। उनले सेमिफाइनलमा निर्धारित दूरी पार गर्न २५.९५ सेकेन्ड समय खर्चिए। जारी विश्व च्याम्पियनसिपमा हालसम्म पाँचवटा नयाँ विश्वकीर्तिमान बनेका छन्।
यसैगरी जारी विश्व च्याम्पियनसिपमा २० वर्षीया अमेरिकी खेलाडी क्याथलिन लेडेस्कीले तीनवटा स्वर्ण पदक जितिसकेकी छन्। बुधबार महिला एक हजार पाँच सय मिटर फ्रिस्टायल स्पर्धामा पहिलो स्थान हासिल गरेपछि प्रतियोगितामा लेडेस्कीको स्वर्ण संख्या तीन पुगेको हो।