बक्राहाको बाँध आधा पनि नबनाई ठेकदार फरार
विराटनगर : मोरङको बक्राहा खोलामा बाँध निर्माण गर्न ठेक्का पाएका ठेकेदार बीचैमा काम अलपत्र पारेर सम्पर्कविहीन भएका छन् । असार मसान्तभित्रै बाँध निर्माणको काम पूरा गरिसक्नुपर्ने थियो तर तीस प्रतिशत काम पनि पूरा भएको छैन ।उत्तरदेखि दक्षिणसम्म करिब ५५ किलोमिटर क्षेत्रमा हरेक वर्ष बक्राहाको बाढीले बाँध भत्काएर ठूलो क्षति गर्दै आएको छ । अघिल्लो बर्खामा मोरङको पथरी शनिश्चरे नपा-५ जयनगरमा पाँच सय मिटर बाँध भत्काएर खोला गाउँतिर पसेको थियो ।
त्यही ठाउँमा नयाँ बाँध निर्माण गर्न ठेक्का पाएको हिमालय निकित कन्स्ट्रक्सन्सका ठेकेदार सम्पर्कविहीन भएका छन् । यो कन्स्ट्रक्सन्स कालो सूचीमा परेको निर्माण कम्पनी हो । बाँधको काम ३० प्रतिशत मात्र पूरा भएका कारण फेरि बाढी आएर खोलो गाउँ पस्ने चिन्तामा गाउँले परेका छन् । कन्स्ट्रक्सन्सले एक करोड एक लाख रुपैयाँमा बाँध निर्माण गर्ने ठेक्का पाएको थियो ।
‘माटो मात्र भर्ने काम भएको छ, अरू काम नहुने हो भने बाढी यो पटक पनि गाउँ पस्ने खतरा छ’, सुनवर्सी नपा २ का वडाअध्यक्ष प्रताप तामाङले भने, ‘काम अपुरो छाडिँदा बाढीले फेरि बाँध भत्काएर गाउँमा बितण्डा गर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ उनले अहिलेसम्म मुस्किलले ३० प्रतिशत मात्र काम पूरा भएको जानकारी दिए ।
पुरानो बाँध निकै कमजोर अवस्थामा रहेकाले फेरि बाढी आउने त्रास रहेको स्थानीय ६७ वर्षीय लेखनाथ श्रेष्ठले बताए । उनले भने,‘पोहोर ३ बिघा खेतमा खोलो पसेपछि बगर भयो, फेरि आएर अरू सक्ने हो कि भन्ने पिर छ ।’ उनले अघिल्लो वर्षजस्तै बाढी रोक्न बाँध दह्रो बनाउन सुझाब दिए ।
जयनगरका स्थानीय पूर्णबहादुर थापाले सरकारले स्थायी र दह्रो बाँध बनाउन चासो दिनुपर्ने बताए । उनले भने, ‘झारा टार्ने गरी हरेक वर्ष माटो मात्र पुर्ने काम गर्दा पैसाको खर्च, काम पनि कमसल ।’ उनले यो पटक निर्माण गरिएको बाँध पनि कमजोर रहेको बताए । अघिल्ले वर्ष उनको ४ बिघा खेतमा खोलो पसेर बालुवा भरिएको थियो ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका अनुसार अघिल्लो वर्ष तटबन्ध भत्काएर बक्राहा खोलो गाउँ पस्दा एक हजार बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । तीन हजार परिवार प्रभावित बनेका थिए । यो वर्ष पनि पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाभित्रका हसन्दह, अमरदह, सुगा, डाइनिया, टकुवालगायतका गाउँ बाढीको उच्च जोखिममा छन् ।
जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका इन्जिनियर रामचन्द्र गुप्ता नेतृत्वको सरकारी प्राविधिक टोलीले बाँध निर्माणको मौजुदा अवस्था निरीक्षण गरेको छ । काम पन्ध्र दिनभित्र पूरा गर्न टोलीले निर्देशन दिएको छ ।