अर्ब नाघ्यो पाँच बैंकको नाफा
काठमाडौं : आर्थिक वर्ष २०७३/०७४ को वित्तीय विवरण सार्वजनिक गरेका पाँचवटा वाणिज्य बैंकहरूको नाफा अर्ब नाघेको छ । गत आवमा पाँचवटा बैंकको केल नाफा सात अर्ब ५१ करोड रुपैयाँ छ । यो नाफा अघिल्लो आवमा ती बैंकहरूले गरेको नाफाको तुलनामा ३५ प्रतिशत बढी हो । यसरी वित्तीय विवरण सार्वजनिक गर्नेमा ग्लोबल आईएमई, एनएमबी, एनआईसी एसिया, सिटिजन्स् बैंक इन्टरनेसनल र सानिमा बैंक छन् ।
गएको वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका बैंकमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । एक वर्षमै बैंकको नाफा दुई अर्ब तीन करोड रुपैयाँ पुगेको हो । अघिल्लो आवको तुलनामा हाल बैंकले कमाएको नाफा करिब साढे ६५ करोड रुपैयाँ बढी हो । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.५५ प्रतिशत बढी हो । यस अवधिमा बैंकले एक अर्ब ३८ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकहरूले नाफा बढाउँदै लगे पनि बढेको पुँजीअनुसार नाफा कमाउन नसकेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘आकारमा नाफामा बढेको छ तर प्रतिसेयर आम्दानी बढ्न सकेको छैन’, उनले भने ‘१० प्रतिशत नाफा बाँड्न अब सवा अर्ब कमाउनुपर्छ ।’ पहिला जस्तो २०/२२ प्रतिशत प्रतिसेयर आम्दानी बाँड्न सक्ने अवस्थामा बैंकहरू छैनन् । पुँजी वृद्धि भएकाले नाफा बढे पनि बैंकहरूले पहिलेकै अवस्थामा प्रतिसेयर आम्दानी बाँड्न नसक्ने भएका हुन् । चुक्ता पुँजी बढेको केही वर्षसम्म यस्तै अवस्था रहने उनको भनाइ छ ।
ग्लोबल आईएमईको नाफा दुई अर्बमाथि
दुई अर्बमाथि नाफा कमाएको ग्लोबल आईएमईले असार मसान्तसम्म आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकको असार मसान्तसम्ममा एक खर्ब एक अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने ८० अर्ब ८१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । बैंकले हालसम्म १६ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ । खराब कर्जा अनुपात एक दशमलव ५७ प्रतिशत छ ।
एनएमबी बैंकको नाफा डेढ अर्ब
एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाएर अर्ब कमाउने बैंकमा सूचीकृत भएको छ । गत आव बैंकले एक अर्ब ५१ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३९ करोड ६३ लाखले बढी हो । बैंकले अघिल्लो वर्षको तुलनामा ३५.५४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले एक अर्ब ११ करोड ५० लाख थियो । बैंकले असार मसान्तसम्ममा सञ्चित कोषमा चार अर्ब २६ करोड रुपैयाँ जम्मा गरेको छ ।
बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुगेको छ । असार मसान्तसम्ममा निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म १० अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १.६६ प्रतिशत छ ।
एनआईसीले कमायो डेढ अर्ब एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष एक अर्ब ४६ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले गरको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३७.७५ प्रतिशत बढी हो । यो बैंकले अघिल्लो आवमा एक अर्ब ६ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा निक्षेप ८६ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ भने ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।
सिटिजन्स् सवा अर्ब नजिक
सिटिजन्स् बैंक इन्टरनेसन गत आर्थिक वर्षमा एक अर्ब २१ करोड १० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशत बढी हो । यो बैंकले अघिल्लो वर्ष एक अर्ब आठ करोड रुपैयाँ थियो । बैंकले असार मसान्तसम्ममा ६ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । गएको वर्ष ५२ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको छ भने ४८ अर्ब सात करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।
सानिमा अर्बपति क्लबमा प्रवेश
अघिल्लो वर्षसम्म अर्बभन्दा थोरै कम नाफा कमाएको सानिमा बैंक पनि गएको वर्षमा एक अर्ब ३० करोड रुपैयाँ नाफा कमाएर अर्ब कमाउने बैंकको सूचीमा समावेश भएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो । नाफा अघिल्लो आवभन्दा ३०.५३ प्रतिशत बढी हो । यो बैंकको असार मसान्तसम्मको चुक्ता पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । बैंकले असार मसान्तसम्ममा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । नेपालमा वाणिज्य बैंकको संख्या २८ छ ।