नागपञ्चमी र रक्षाबन्धनको संयुक्त रौनक (फोटो फिचर)
काठमाडौं : आज हिन्दुहरुको चाड नागपञ्चमी र रक्षाबन्धन एकै पटक परेको छ । सधै श्रावण शुक्ल पुर्णिमाको दिन पर्ने रक्षाबन्धन यसपाली नागपञ्चमीकै दिन परेको छ । पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहण रहेकाले शुक्रबार नै रक्षाबन्धन पनि परेको शास्त्रीय ज्ञाताहरुले बताएका छन् ।
वाल्मीकि विद्यापीठका सहप्रध्यापक जयन्त आचार्यका अनुसार धर्मशास्त्र अनुसार ग्रहणको दिन सुतक मानिन्छ । त्यसैले यस वर्षको श्रावण शुक्ल पुर्णिमाको दिन जनै पूर्णिमा लगाउन हुँदैन भन्ने शास्त्रीय मान्यता छ । पूर्णिमाका दिन गर्नु पर्ने कुनै काम सो समयमा हुननसके त्यो पूर्णिमाभन्दा अघिल्लो पञ्चमीमा गर्नू भन्ने धर्मशास्त्रहरूमा भएकाले यसै अनुसार नागपञ्चमीकै दिनमा यसपाली जनै पूर्णिमा परेको हो ।
हरेक नागपञ्चमीमा मेला लाग्ने काठमाडौंको नक्सालस्थित नागपोखरीमा यसपाला नागपञ्चमी र रक्षाबन्धन दुवै पर्वको रौनक देखिन्छ । पोखरीको बीचमा रहेको नागको प्रतिमामा नागको पुजाआजा गरी भक्तजनहरुले नागपञ्चमी मनाइरहेका छन् । पोखरीको किनारमा रक्षाबन्धन बाधिदिने र बाध्नेको घुइँचो पनि देखिन्छ ।
तस्बिरहरू : रजेन्द्र केसी