साझा विवेकशीलको भविष्य
नेपाली राजनीतिमा वैकल्पिक शक्तिबारे पछिल्ला केही वर्षयता बहस÷विमर्शले निरन्तरता पाइरहेको छ । आफूलाई वैकल्पिक शक्तिको दाबी गर्दै यसबीच केही दलहरू खुले पनि । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, रवीन्द्र मि श्र नेतृत्वको साझा पार्टी अनि उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली नयाँ र वैकल्पिक राजनीतिक शक्तिको रूपमा यसबीच देखा परे । केहीअघि सकिएको पहिलो र दोस्रो चरणको निर्वाचनमा यी दलहरू पनि सहभागी थिए । तर नतिजा निराशाजनक हात लाग्यो ।
साझा पार्टी र विवेकशील नेपालीले उपत्यकामा सम्मानजनक मत हासिल गरे, जसबाट जनस्तरमा यी पार्टीका उम्मेदवारप्रतिको आकर्षण रहेको देखियो । यही पृष्ठभूमिमा साझा र विवेकशील पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टीमा रूपान्तरण भएको छ । यो एकीकरणको मुख्य आधार पहिलो चरणको निर्वाचनमा यी दलले उपत्यकामा प्राप्त गरेको मतले विकास गरेको मनोविज्ञान हो । बेग्लाबेग्लै प्रत्याशी बन्दा राम्रो मत पाएका यी दलमा मिलेर चुनाव लड्दा जितिन्छ भन्ने मनोविज्ञान विकास भएसँगै एकीकरणले मूर्तरूप हासिल गरेको छ ।
लोकतन्त्रमा समान विचार भएका दलहरूबीच एकता हुनसक्छ । यो एकतालाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्छ । तर सँगै अब विवेकशील साझा दलले आफ्नो वैचारिक धरातल प्रस्ट पार्न सक्नुपर्छ । त्यो किनभने दुई पार्टीका समकक्षी नेताहरूको बोलीमा वैचारिक एकरूपता भेटिँदैन।
बैठकहरूको अध्यक्षता गर्ने भूमिका पाएका रवीन्द्र मि श्र यसलाई वामपन्थी विचार राख्ने मध्यमार्गी पार्टीको रूपमा परिभाषित गर्छन् भने सहसंयोजकको भूमिका पाएका उज्ज्वल थापा वाम वा दक्षिणपन्थी होइन, अग्रगामी पार्टी भन्छन् । दुई पार्टी एक भइसकेपछि अब यसले आफ्नो राजनीतिक, वैचारिक आधार र त्यसमा आधारित राजनीतिक, आर्थिक कार्यक्रमहरू प्रस्टरूपमा भन्न सक्नुपर्छ । छिटो विकास र समृद्धिको बाटो समात्नुपर्ने धारणा राख्दै आएको यो पार्टीले मुलुकले समृद्धिको खाका कसरी कोर्ने प्रस्ट पार्न सक्नुपर्छ ।
नेपाली राजनीतिमा अहिले पनि केही पुराना दलकै दबदबा छ । स्थानीय निकाय निर्वाचनले त्यो दबदबा देखाइसक्यो । नेपाली कांग्रेस, एमाले र माओवादी आदिकै वर्चस्व उक्त निर्वाचनले पुनः एकपटक प्रमाणित गर्यो । वैकल्पिक राजनीतिक शक्तिको खाँचोबारे चर्चा चलिरहँदा पुराना पार्टीहरूकै वर्चस्व राजनीतिमा कायम हुनुले नयाँ दलहरूको भविष्यलाई लिएर प्रश्न उठेका छन् ।
धेरैले चाँडै स्थापित हुनेमा शंका पनि गर्छन् । तर वास्तविकता के पनि सँगै छ भने ठूला पार्टीहरूप्रति जनस्तरमा गुनासा र असन्तुष्टि पनि उत्तिकै छ । वडास्तरसम्म फैलिएको संगठन सञ्जाल परिचालन गरेर ठूला पार्टीहरूले चुनावी नतिजा हातमा पारेका हुन् तर उनीहरूले पनि जनताका अपेक्षाहरूको उचित सम्बोधन गर्न सकेका छैनन् । जसले गर्दा वैकल्पिक राजनीतिक शक्तिहरूले आफ्नो ठाउँ बनाउन सक्छन् । तर त्यो त्यतिबेला सक्छन्, जुन बेला जनता तिनले उठाएको मुद्दा र नाराहरूप्रति विश्वस्त हुनेछन् ।
मुख्य दलहरूसँगको निराशाकै पृष्ठभूमिका वैकल्पिक शक्ति खडा हुने आधार तयार भएको हो । विवेकशील साझा पार्टीको एकता पनि त्यसैको एक कडी हो । यो एकताले यी दुई नवोदित दललाई निश्चय पनि केही उत्साहित बनाएको छ, यद्यपि यसको राजनीतिक भविष्यको निर्धारण यसले लिने नीति, त्यसप्रति जनताको आकर्षण र अझ प्रस्ट भन्नुपर्दा तेस्रो चरण हुँदै प्रदेश र केन्द्रको चुनावले तय गर्नेछ ।