उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण नगर्ने
सोल : उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै संकेत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो । त्यसपछि पनि उसले लगत्तै अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचार आएका थिए । दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाली सैन्य प्रमुखले यस्तो जानकारी दिएका हुन् ।
सन् १९५० देखि १९५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धपछि भएको सैन्य सम्झौताको ६४ औं वार्षिकोत्सवको अवसरमा उत्तर कोरियाले यसै साताभित्र अर्काे परीक्षण गर्न लागेको भनी समाचार आएको थियो । 'तर तत्कालका लागि उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाली सैनिक सम्झौताको अवसर पारेर यस्तो परीक्षण गर्नसक्ने भनी आएको समाचार सही हुने अवस्था देखिँदैन’, दक्षिण कोरियाली सैनिक प्रमुखले भने । हालैका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाले अर्काे क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए । उक्त समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले यसअघि पनि खण्डन गरेको थियो ।
यसअघि उत्तरले जुलाई ४ मा गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरूले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अमेरिकाको अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् । यसअघि जुलाई ४ मा गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाँचौँ परीक्षण हो । यस लगत्तै उसले अर्को छैटौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बिहीबार दक्षिण कोरियाले स्पष्ट गरेको हो ।
उत्तर कोरियाले विगत दुई वर्षदेखि निरन्तररूपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ ।
संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दिँदै आएका छन् ।
उत्तर कोरियाको राजधानी प्योङयाङको नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने मंगलबारको यो परीक्षण बढीमा ९ सय ३० किलोमिटरसम्म मात्र पुग्न सक्ने बताएको छ । जापानले भने उक्त क्षेप्यास्त्र करिब २ हजार ५ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो । रासस/एएफपी