नेपालीलार्इ भारतमा अंग प्रत्यारोपण गराउन सास्ती
नयाँदिल्ली : नेपालबाट भारतको चन्डीगढस्थित म्याक्स अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन आएका एक बिरामी भारतस्थित नेपाली दूतावासबाट अनिवार्य लिनुपर्ने नो अब्जेक्सन सर्टिफिकेट (मानव अंग प्रत्यारोपणका लागि अनुमतिपत्र) लिन नसक्दा समस्यामा परे ।
भारतमा मानव अंग प्रत्यारोपण गराउन नेपाली दूतावासको अनुमतिपत्र अनिवार्य हुन्छ । तर, कागजात अपुग भएको भन्दै दूतावासले उनलाई अनुमतिपत्र दिन आनाकानी गरेको थियो । नेपालबाटै प्रक्रिया पु¥याएर ल्याउनुपर्ने कागजातमध्ये परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित काउन्सिलर सेवा विभागको अनुमतिपत्र अपुग भएको भन्दै उनलाई फर्काइएको रहेछ ।
दाङबाट उपचारका लागि आएका ती बिरामीले काउन्सिलर विभागको अनुमतिका लागि कागजात स्क्यान गरेर पठाएको बताए । ‘तर विभागले ओरिजिनल डकुमेन्ट नै मागेको छ, कुरियर गरेर पठाउनुपर्ला’, उनले भने । दूतावासको अनुमतिपत्र लिन उनी दुई दिदी, दाइ र सालाका साथ दूतावास पुगेका थिए ।
‘चार महिनाअघि एउटा मात्रै मिर्गौला सक्रिय रहेको र त्यसले पनि ८० प्रतिशत काम गर्न छाडेको थाहा भयो’, उनले भने । नियमित डायलासिस गराउँदै आएका उनी फुपूकी छोरीको मिर्गौला म्याच भएपछि उपचारका लागि चण्डीगढ आएका हुन् ।
केही महिनाअघि १४ वर्षे छोरीको कलेजो प्रत्यारोपणका लागि आएका एक अभिभावकले पनि नो अब्जेक्सन लेटर लिन २०-२५ दिन कुरेको अनुभव सुनाएका थिए । दूतावासबाट यो पत्र लिन अन्य कागजातका साथै नेपालको स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मेडिकल बोर्डको सिफारिससमेत अनिवार्य हुन्छ । ‘पर्याप्त कागजात पुगेको छैन भने हामीले दिन मिल्दैन । मानव अंग प्रत्यारोपणमा हुने तस्करी नियन्त्रणका लागि पनि यसमा कडाइ गरिएको हो तर कागजात पुगेको छ भने तत्कालै त्यस्तो सर्टिफिकेट बनाइदिन्छौं, बढीमा एक दुई घन्टा लाग्छ’, ती अधिकारीले दाबी गरे ।
नेपालमै कागजातबारे थाहा नपाउँदा सास्ती पाएको बिरामी बताउँछन् ।
मिर्गौला प्रत्यारोपणको उपचार नेपालमै सुरु भइसके पनि नेपालको स्वास्थ्य सेवाप्रति विश्वास नगरी भारत आउने बिरामीको संख्या कम छैन । एनओसीका लागि दूतावासमा महिनामा ३-४ बिरामी आए पनि कागजात नपुगेर त्यत्तिकै फर्कन बाध्य हुन्छन् ।
दूतावासका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ४१ बिरामीले नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए भने अघिल्लो आर्थिक वर्ष २९ जनाले लिएका थिए । तीमध्ये ६० प्रतिशत मिर्गौला प्रत्यारोपणका लागि आएका थिए भने ४० प्रतिशत कलेजो प्रत्यारोपणका लागि । अपवादका रूपमा बोनम्यारो प्रत्यारोपणको ‘केस’ अपवादमा मात्रै आउँछ । पछिल्लो दुई वर्षमा एउटा मात्र त्यस्तो बिरामी आएको दूतावासका अधिकारी बताउँछन् ।
समस्या कहाँ छ ?
जिल्लाबाट आउने बिरामीको हकमा नाता प्रमाणित कागजातमा समस्या आउँछ । नेपालमै कागजातबारे थाहा नपाउँदा सास्ती पाएको बिरामी बताउँछन् । ‘यति कुरा नेपालमै भनिदिएको भए अहिले यत्रो दुःख हुँदैनथ्यो’, दूतावासमा भेटिएका एक मिर्गाैला बिरामीले भने, ‘उताबाट चाहिँ यति कागजात भए पुग्छ भनिदिए । होला भनेर आयौं । तर, अहिले समस्या भयो ।’
काठमाडांैबाट आउने बिरामी भने काउन्सिलिङको समस्या नै प्रमुख भएको बताउँछन् । इन्टरनेटको प्रयोगसँगै कम समयमा काम सकिनुपर्नेमा जिल्लाको समस्या अलग्गै छ । नाता प्रमाणित गर्न दूतावासले जिल्लामा इमेल तथा फ्याक्सबाट पत्राचार गरे पनि जिल्लाका कर्मचारीले हामी त फ्याक्स र इमेल हेर्दैनौं भन्दै फर्काउने गरेको बिरामीका आफन्त बताउँछन् ।
आवश्यक कागजात के हो ?
- मेडिकल बोर्डको सिफारिस
- बिरामी र अंगदाताको नाता प्रमाणित प्रमाणपत्र
- स्वास्थ्य मन्त्रालयबाट नो अब्जेक्सन लेटर
- मिर्गौला र कलेजो दिनेको मञ्जुरीनामा
- अंगदाताको परिवारको मञ्जुरीनामा
- कागजातका कन्सुलर सेवा विभागबाट प्रमाणित अंग्रेजी कपी
- कन्सुलर सेवा विभागको सिफारिसपत्र
- बिरामी र दाताको फोटो