अस्पताल नपुग्दै बाटोमै मर्छन् बिरामी
गमगढी : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा भरपर्दो स्वास्थ्य चौकी नहुँदा यहाँका बासिन्दाले निकै सास्ती भोग्दै आएका छन्। जिल्ला अस्पताल पुग्न दुई दिन लाग्ने भएकाले धेरैले त अस्पतालको मुख समेत देख्न पाउँदैनन् भने कतिपयको त बाटोमा नै ज्यान जाने गरेको छ। पछिल्लो एक हप्तामा यही गाउँपालिकाका तीन जनाले अस्पताल नपुग्दै ज्यान गुमाएका छन्।
अस्पताल ल्याउने क्रममा बाटोमा नै उनीको मृत्यु भएको हो। सोरु गाँउपालिका–६ का ३२ वर्षीय हर्क लावडको पेट दुखेपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पताल ल्याउन खोजे तर उनलाई अस्पतालसम्म पुर्याउनै पाएनन्। उनले बाटोमै जीवन लिला त्यागे।
यस्तै सोही गाँउपालिका–२ का हिक्मत नाथ योगीले पनि यस्तै नियती भोग्नुपर्यो। उनको शरीरमा देखा परेको घाउखटिराको उपचार गर्न जिल्ला अस्पताल गमगढी ल्याउदै गर्दा बुधबार उनको पनि बाटोमै ज्यान गयो भने वडा न ९ का सिद्ध जैशीलाई आफन्तले अस्पतालसम्म पुर्याउन पाएनन्।
गाउँमा एउटा स्वास्थ्य चौकी छ जहाँ विशेषज्ञ चिकित्सक छैनन्। स्थिति कतिसम्म दयनीय छ भने स्वास्थ्य चौकी एकजना करार अनमीको भरमा सञ्चालित छ।
सरकारी स्वास्थ्य चौकी आफैँ विरामी स्थितिमा छ। त्यहाँको स्वास्थ्य सेवाप्रति स्थानीयको कमै विश्वास छ। सोरुकोटमा रहेको निजी क्षेत्रबाट सञ्चालित जेएन आयु मेडिकलमा सामान्य विरामीको उपचार हुन्छ। जटिल बिरामीलाई मेडिकलले जिल्ला अस्पताल रिफर गर्ने गरेको छ तर जिल्ला अस्पताल पुग्नै दुई दिन लाग्छ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार सेवा नहुँदा आफ्नो १२ बर्षीय छोरा हिक्मतको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आमा हदेली योगीले बताइन्।
आर्थिक अभावले उपचार गराउन नसक्दा ६ महिना अघि उनले आफ्ना ४५ बर्षीय श्रीमान दलनाथलाई गुमाएकी थिइन्। अहिले उपचारकै अभावमा छोरा गुमाएपछि उनी निकै पीडामा छिन्।
सोरु गाँउपालिकाको ११ वटै वडामा स्वास्थ्य चौकी छन्। सबै स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्यकर्मीको अभाव छ। उनीहरु अधिकांश जिल्ला सदरमुकाममा भने भेटिने गरेको स्थानीय बताउँछन्। स्वास्थ्य चौकीमा औषधि समेत नपाइने गरेको सोरु गाउँपालिका–६ का टक्क बहादुर शाही बताए।
जिल्ला अस्पताल मुगुका डाक्टर जितेन्द्र कटेल भने दरबन्दी अनुसार सबै स्वास्थ्य चौकीमा कर्मचारी पठाइएको दाबी गर्छन्। उनले आवश्यक काममा बाहेक स्वास्थ्यकर्मी सदरमुकाम नआउने गरेको समेत जीकिर गरे।