नानी, तिमीलाई श्रद्धाञ्जली !
बिहान सदाझैं अखबारहरू लिएर चिया खान बसेँ। मेरा आँखा एक ब्रोडसिट अखबारको पहिलो पातामा एउटी उज्याली जीवन्त महिलाको चित्रमाथि अडिए। चित्रमाथि साना अक्षरको शीर्षकले तान्यो- 'रहिनन् डिना।'
समाचार पढ्नु पहिला म आफैंलाई सम्हाल्न थालेँ। कुनै तर्क थिएन मसँग, थिएनन् प्रश्नहरू। अकारण बालकजस्तो रोएको देखेर बिन्दु दौडेर मसमक्ष आइन्। तर, मेरो र त्यो फोटो-समाचार बीचको मौन र काँपिरहेको आकाश देखेर उनी स्तब्ध भइन्। उनले डिना (म दिना भन्थेँ) को मंगलबार दिउँसो ११:३० मा ५४ वर्षको उमेरमा निधन भएको समाचार पढिसकेकी थिइन्।
मेरो अगाडि डिनाको एउटा आकार उठ्यो। त्यो आकार जीवनभन्दा ठूलो थियो। त्यो अत्यन्त सरल र फाइन आर्टको शैलीमा उठ्यो। त्यो अनुहारमा एउटा जटिल समय र सरल जीवनका तत्वहरूले बनिएको अभिव्यक्ति थियो। त्यो अभिव्यक्ति पछि गएर डिनाको अनुहारको सधैं बसिरहने, हेर्न सकिने बेलाको घामको आभाजस्तो थियो।
लैनसिंह बाङ्देल (१९८१-२०५९) र मानु दिदीको क्षितिजमा डिना जन्मेकी थिइनन्, झुल्केकी थिइन्। बाङ्देलको आत्मसंस्मरणको ढड्डु किताबमा डिना कसरी बाङ्देल दम्पतीका प्रेमकलाको प्रतीक सन्तान थिइन् अनि कसरी ती हुर्किइन् भन्ने भाव र यथार्थका न्यारेटिभहरू पढ्नुपर्छ।
यहाँ मैले कुनै प्रसंग दिएर लेख्न लागेको होइन। त्यस अर्थमा डिना प्रतीकात्मक रूपले सूर्य राशि थिइन्। ती त्यस्तो घाम थिइन्, जुन उज्यालो र कोमल थियो। ती जीवन त्यसमा पनि सुन्दर र राम्ररी निर्मित कलाभन्दा अरू केही होइनन् भन्ने मेरो प्रभाव स्थायी भाव लिएर बसेको थियो। ती घामकी आभामण्डल हुन् जो अमूक विदेशी अस्ताचलपारि गएर कलिलै वयमा डुब्लिन्जस्तो मलाई मात्र होइन, यो देशका लाखौं-लाख नरनारीलाई लागेको थिएन।
मेरो आँखाअगाडि तिनको बालकवयदेखि, आफूले काखमा उठाएको सानो आकारदेखि, ती नेपाली कलालाई नयाँ आकार र चरित्र दिएर उठेको चित्रका अनेकौं कलेवरहरूसम्म कुनै आर्ट फिल्मजस्तो सर्रर उठ्दै आए। भेटेका समाचार सबै पढिसकेपछि एकछिन खुलेर रोएँ।
मनलाई शान्त गर्न सक्ने एउटा उपाय भने थियो। त्यो थियो, अस्मिना रञ्जितलाई फोन गर्नु र बोल्नु। अर्को थियो, नेपालकी वरिष्ठ आर्ट क्युरेटर संगीता थापालाई फोन गर्नु। यी दुई कलाकार र कला क्युरेटर पछिल्लो समयमा डिनासँग नजिकैबाट काम गर्थे भन्ने मलाई थाहा छ। अस्मिना रञ्जित डिनाको अन्तरंग बुझ्ने सिर्जनशील मित्र हुन्।
'इन्भेन्टोरी अफ स्टोन स्कल्पचरस् अफ् भ्याली'को परिचय डिना बाङ्देलले लेखेकी छिन्। त्यो परिचय पढ्नेले बुझ्छ, उनी को थिइन् र उनमा अन्तर्निहित कलाको प्राज्ञ कति बलियो थियो।
संगीता थापाले डिनाको सामथ्र्यमाथि गर्व गरेर मलाई अनेकौंपटक आफ्ना तर्क राखेकी छिन्। संगीताले 'डिना बाङ्देलजस्तो नेपाली परम्परागत, बुद्धधर्मजनिन कला, अनि आधुनिक कलाको ज्ञान र विश्वास लिएर विदेशी विश्वविद्यालयमा तर्क प्रस्तुत गर्न सक्ने महिला पनि तपाईंले बहस चलाउने पेनलमा छन् अभिजी' भनेर दोस्रो अन्तर्राष्ट्रिय कला महोत्सवमा मलाई सूचना दिँदा म अत्यन्त खुसी भएको थिएँ।
मैले डिनालाई धेरै पहिलेदेखि र निकै राम्ररी चिनेको रहेछु भन्ने संगीताले पछि मात्र थाहा पाएकी थिइन्। प्रसंग आएकोले भनिहाल्छु। त्यो पेनलमा नेपाली कला, त्यसमा पनि मैथिली महिलाको कला विषयमा मैले पाटन म्युजियमको प्रांगणमा बहस चलाएको थिएँ। भारतकी मिथिला कला समीक्षक पाण्डेसहित अरू बाहिरका नारी विद्वानहरूको त्यो छलफल डिनासँग मैले गरेको अन्तिम र गम्भीर बहस थियो।
तिनले नेपालमा आधुनिक कला र परम्परागत कला अनि नारीले गरेका कलारचनाबारे भनेको सार आज सम्झिनैपर्ने खालको छ। उनका भनाइ मेरो कम्प्युटरको नोटमा सुरक्षित छ। त्यहीँबाट केही यहाँ राख्न चाहन्छु। त्यसो त सिद्धार्थ आर्ट फाउन्डेसनको रेकर्डमा पनि त्यो हुन सक्छ।
डिनाले भनेकी थिइन्, 'नेपालमा कला भनेको एकल चरित्र भएको विषय होइन, यो विविध हो, तर त्यो विविधता कुनै व्यक्तिले रचना गरेको परम्परा होइन। त्यो कला जीवनसँग अति निकट जोडिएकोले त्यो मैथिली महिलाजस्ता भित्रै बसेर काम गर्नेका शैलीमा, गुम्बामा बसेर वुद्धधर्मजनिन सौन्दर्यका उपासना गर्नेहरूका काममा, जात्रा र चलनमा अनि (मतिर देखाउँदै) नाटकहरूमा प्रस्तुत गरिने भावहरूमा व्यक्त हुँदै आएको एक जीवन्त विषय हो।
यो पुरातन हो, यसको समय सकिएको हो र यो चाहिँ आधुनिक हो भनेर वर्गीकरण गरेर बस्नु असत्य हो।' थपेकी थिइन्, 'मैथिली नारी कलाकारको कला बाहिर आउन सकेन भन्ने विषय अर्कै हो। त्यो सामाजिक कुरा हो।'
डिनाले दुईवटा अनुभवको प्रसंग ल्याएकी थिइन्। तिनले एकजना अमेरिकी प्राध्यापकसँग गरिरहेको काम त्यस अर्थमा एउटा अध्ययन हुनैपर्ने तर नभएको विषय हो। त्यो त्यसैले जीवन्त छ। अर्को प्रसंग, उनले आधुनिक कलाको विषयमा जे कुरा ल्याइन्, त्यसमा उनको र मेरो प्रश्न-उत्तर निकै चल्यो।
उनले आफ्ना पिता लैनसिंह बाङ्देलको कलाले ल्याएको परिवर्तनको विषय उठाइन्। यसमा पनि उनले मलाई औंल्याइन्। आज यी कुरा सम्झिँदा यी प्रतिभाशाली कला प्राध्यापकले मलाई केही दायित्व दिएकी थिइन् भन्ने अकस्मात् बोध भइरहेजस्तो लागेको छ। यसैले पनि आज म अत्यन्त द्वन्द्व र शोकमा परेको घडीमा पनि केही कुरा लेख्न चाहन्छु। मैले त्यहाँ भएका छलफलहरूको नोट-समीक्षाहरूबाट यहाँ केही कुरा राखेको हुँ।
अब के हुन्छ ? मानु दिदी कहाँ छन् ? जस्ता प्रश्नहरू उठे मनको आकाशमा। अनि मैले उनका मित्रहरूलाई फोन गरिनँ। आफैं सम्झनाका पाना पल्टाउँदै गएँ। थोरै समयमा भए पनि केही लेख्न मन लाग्यो जसमा मैले मेरा आफ्नै संस्मरण र बुझाइलाई आधार राखेँ। मेरो पहिलो आधार भनेको उनका पितासँगको मेरो सम्बन्ध अनि डिना एक कुशल कला समीक्षक र सम्पादक भएर हुर्किंदै गरेको आफूले देखेको सन्दर्भ हो।
पितासँग डिना एक विद्यार्थीजस्तो भएर काम गर्थिन्। उनकी माता मानु दिदीले बात्सल्य प्रेम र सरल भिजनले डिनाको मनलाई एउटा कला जस्तो रचना गर्थिन्। त्यो आफैंमा उदाहरणीय कार्य थियो। नजिकैबाट देख्नेले त्यो बुझेकै छन्। डिनालाई लैनसिंह बाङ्देलले आफ्नो कला साधनाकी उत्तराधिकारी बनाउन चाहेको मैले धेरै पहिलेदेखि देखिआएँ।
बाङ्देलजीका मित्र र उनमाथि किताब लेखेका अनि मेरा पनि मित्र डन मेसरस्मिथले डिनाको विषयमा अनेकौं ठाउँमा लेखेका छन्। मैले बाङ्देलमाथि लेखेका लेखहरू (जसको सबै रेकर्ड आफैंसँग छैन) तिनलाई डनले सत्र ठाउँमा उद्धरण गरेको भेटेर चकित परेको थिएँ।
म डिना र उनका पिताको कलाकर्मबारे केही लेखिहाल्छु। बाङ्देलले 'अर्ली स्कल्पचरस् अफ नेपाल' (सन् १९८२), '२५०० इयर्स अफ नेपालिज् आर्ट' (जर्मन १९८७), 'स्टोलेन इमेजेज् अफ नेपाल' ( १९९१) र 'इन्भेन्टोरी अफ स्टोन स्कल्पचरस् अफ् भ्याली' (१९९५) शीर्षकका किताब लेखे। बाङ्देलका यी किताबहरूको प्रसँग ल्याउनैपर्ने यहाँ कारण छ।
यी सबै किताबको लेखन, कतिमा सम्पादन र तिनलाई राम्ररी मिलाएर व्यवस्था गरिदिने काम डिनाले गरेकी थिइन् भन्ने मैले आफैं पनि अनुभव गरेको हुँ। त्यो यथार्थ बाङ्देलजीले आफैं पनि पटक पटक भनेका थिए। 'इन्भेन्टोरी अफ स्टोन स्कल्पचरस् अफ् भ्याली'को परिचय डिना बाङ्देलले लेखेकी छिन्। यो परिचय नपढी त्यो किताब बुझिँदैन। राम्ररी यो किताबका बिम्ब र डिनाको परिचय पढ्नेले बुझ्छ, डिना को थिइन् र उनमा अन्तर्निहित कलाको प्राज्ञ कति बलियो थियो। साथै बाङ्देलजीले नै यो अभिभारा डिनालाई दिएकोबाट अरू थुप्रै रहस्य खुल्छन्।
डिनाको कला समीक्षा र विद्वतामाथि बाङदेलजीलाई ठूलो विश्वास र गर्व थियो। 'नयाँ पत्रिका' दैनिकमा डिनाले दीपक सापकोटासँग अन्तर्वार्तामा निकै वर्षअघि राखेका भनाइ यहाँ उद्धरण गर्न चाहन्छु। यी भनाइबाट डिना पिताको निम्ति माथि भनेजस्तै प्रेरणाको स्रोत र पछि गएर एक विद्वान मित्र थिइन् भन्ने देखिन्छ।
दीपक सापकोटासँग डिना भन्छिन्, -
'जब-जब म बुबालाई सम्झन्छु, मेरो अघि उहाँको चम्किलो अनुहार देखापर्छ। उहाँलाई एक्लै-एक्लै आकाश धमिलिएको बेला एकदम उदास भएर क्यानभासमा हात सल्बलाइहेको देख्छु।। उहाँले लामो निश्वास लिएर 'छोरी' भन्दै बोलाएको सम्झन्छु। एकान्तमा बसेको बेला म झसँग हुन्छु र बुवालाई सम्झँदै टोलाउँछु।'
...
'मलाई सम्झना भइरहेछ, सानी डल्ली म बुवासँगै बसिरहेको हुन्थेँ। उहाँका अघि धेरैखाले रङहरू हुन्थे र उहाँको हात क्यानभास पोत्नमै व्यस्त हुन्थ्यो। बेला-बेला उहाँ भन्नुहुन्थ्यो, 'छोरी रङमा ब्रस चोबिदेउ त'। म त्यसै गर्थें। उहाँले पेन्टिङ गर्दा म उहाँकै अघि हुनुपथ्र्यो। नभए फेरि बोलाउनुहुन्थ्यो, 'छोरी कता छौ? ' उहाँको क्यानभास पोत्ने काम घन्टौंसम्म चल्थ्यो।
मलाई त निस्सास लाग्थ्यो। आकाश धुम्मिएको बेला वा प्रकृति उदास भएको बेला बुवालाई पेन्टिङ गर्ने 'मुड' बढि नै आउँथ्यो। लामो समय पेन्टिङ गरिसकेपछि उहाँ बिस्तारै मुस्कुराउनुहुन्थ्यो। म उहाँको क्यानभासमा देख्थेँ, एउटा एब्स्ट्रयाक्ट आर्ट। कहिलेकाहीँ देख्थेँ, साना घाँटी भएका लाम्चा-लाम्चा अनुहार पोट्रेटहरू। त्यसबेला लाग्थ्यो, कलाकारको अनुभूति रंगीन हुन्छन्, नीलो, रातो कालो। क्यानभासमा छरिएका रङजस्तै।
मैले हेर्दाहेर्दै रित्तो क्यानभासमा एउटा सग्लो आकृतिको चित्र बन्थ्यो। ती चित्र बुवाको सानो आवाजसँगै फनफनी घुमेझैं लाग्थ्यो। बुवा मलाई बोलाउनुहुन्थ्यो र 'मसँगै बस छोरी' भन्नुहुन्थ्यो। सानी फुच्चीलाई एउटा पेन्टरको अघि घन्टौं बस्न दिक्क लाग्थ्यो र फुत्त उठेर बाहिर पुग्थेँ। बुवा मलाई हेर्दै क्यानभासमा केही रेखाहरू कोर्न थाल्नुहुन्थ्यो। केही बेरपछि त्यस क्यानभासमा मेरो स्केच बनेको हुन्थ्यो।
उहाँले मेरो स्केच मात्र बनाउनुभयो, पेन्टिङ बनाउनुभएन। किन होला बुवाले मेरो पेन्टिङ नबनाउनुभएको ? भन्ने सोच्थेँ। एकदिन बुवालाई सोधेँ। उहाँले हाँस्दै भन्नुभयो, 'तिम्रो पेन्टिङ बनाउन तिमी धैर्य भएर मेरो अघि लामो समय बस्नुपर्छ, तिमीसँग त्यो धैर्य नै छैन। अनि कसरी बनाउनु मैले ? ' हो त म कहिल्यै पनि धैर्य गरेर उहाँको अघि बस्न सकिनँ।'
तर, डिनाले आखिर त्यो धैर्य गरिन्। त्यतिमात्र होइन, तिनले बुवालाई नै धैर्य हुन चुनौती दिइन्। उनले आफ्ना पिताको परिचयसहितको एउटा ठूलो आकारको किताब लेखिन्। त्यसमा उनले १७ पाताको लामो परिचय लेखेकी छन्। त्यो बेलाको कलिलो उमेरमा नै डिनाले लेखेको यो परिचय अत्यन्त स्नेहस्निग्ध र यथार्थले रचित कला समीक्षा हो।
यति राम्ररी बाङ्देलमाथि न डन न प्रतापादित्य पालले नै लेख्न सकेका छन् भन्ने मेरो धारणा छ। सन् १९९२ मा प्रकाशित यस किताबमा पिता बाङ्देलका कलाका कालक्रमअनुसारका वर्णन र चित्रहरू राखिएका छन्। ती रंगीन छन् अनि कालो र सेतो अवस्थाका पनि छन्।
यो किताब निस्केको केही समयपछि मलाई बाङ्देलजीले घरमा बोलाए। धेरै कुरा भए। उनले सगर्व यो किताब झिकेर ल्याए र मलाई दिए। पहिले यस्ता शब्द लेखे - 'विथ् बेस्ट रिगार्डस् टु डा.अभि सुवेदी। लैन बाङ्देल। जनवरी २८, १९९३।'
मेरा मित्र लैनले दिएको त्यो किताब आज मेरो जीवनको एक महत्वपूर्ण सम्झना भएको छ। यसमा बाङ्देलजी र डिनाबीचको संवादको मौन शक्तिको तरंग लुकेको छ। यो किताबलाई पछि डनले पनि उनको किताबको आधार मानेका छन्।
मैले भर्खरै भारतको आईसीसीआर केन्द्रले फ्रेन्च भाषामा निकालेको किताबको निम्ति एउटा लेख लेखेँ। त्यो नेपाली कलाकारको विदेशमा भएका तालिम र शिक्षासम्बन्धी छ। त्यसमा मैले नारायणबहादुर सिंह, अरू समीक्षकका लेख, बाङ्देलजीकै मलाई भनेका कुराका संस्मरण र उनका संस्मरणको किताबलाई आधार राखेर लेखेँ। त्यो धेरै कलाकारको विषयमा लेखेको हुनाले उनीमाथि पनि थोरै छ।
मैले फ्रान्समा बाङ्देलजीले शिक्षाको निम्ति गरेको संघर्षबारे पढेर फ्रान्सेलीलाई खुब चाख लागेको थाहा पाएको छु। उनको शिक्षाको कथाको परिणति उनका कला हुन्, उनका किताब हुन्। तर, उनको सबैभन्दा महत्वपूर्ण कला र 'लिग्यासी' हाम्रो निम्ति डिना बाङ्देल थिइन्। डिनाको असामयिक बिदाइले हामी सबै मर्माहत भएका छौं।
बाङ्देलजीले किताब लेखेपछि नेपालका चोरिएर बाहिर गएका प्रस्तर कलाहरू फर्किएर आइरहेका छन्। उनकी छोरी डिना बाङ्देल विदेशका विश्वविद्यालयमा नेपालको कला परिचय दिन गएकी एक विद्वान व्यक्ति थिइन्।
प्रस्तरमूर्तिसमेत फर्के, डिना अस्मिना रञ्जितले भने अनुसार फर्किन लागेको थिइन्। तर फर्किइनन्। जति रोएर उनलाई सम्झे पनि कमै हुन्छ। अब उनले गरेका काम बुझेर अघि बढाउन सबै कलाकर्मी, विद्वान र कलाप्रेमी लाग्नुपर्छ। उनलाई हाम्रो सच्चा श्रद्धाञ्जली त्यही हुनेछ। ल त नानी, तिमीलाई श्रद्धाञ्जली !