हरियो चुरा धर्म कि व्यापार ?

हरियो चुरा धर्म कि व्यापार ?

किन साउनमा हरियो चुरा लगाउनु भएको ? भनेर सोध्ने हो भने अधिकांश महिलाको जवाफ हुन्छ, 'साउनमा हरियाली बनाउन ।' देशमा खेतीयोग्य जमिन प्लटिङ गरेर पक्की घर, पिच बाटो बनाइएका छन् । खाली घडेरी बाँझो राखेर हात हरिया चुराले भर्दैमा हरियाली हुने भए विश्व किन जिउनका लागि मरिहत्ते गथ्र्यो होला ?

चाडपर्व, धर्म, संस्कृति पिता पुर्खाका परिचय अनि एकता र मनोरञ्जनका प्रतीक हुन् । जुन खराब छैनन् तर अहिले नेपालको सन्दर्भमा एकातिर राजनीतिको म्युजिकल चेयरका खेलाडीले पहिचानको नाममा विभिन्न जाति र धर्मका नाममा एकता बिथोलेका छन् । गिनिज बुकबाटै नेपालको धार्मिक परिचय 'हिन्दु राष्ट्र' मेटाउने विदेशी षड्यन्त्रलाई सहयोग गरेको प्रतीत हुन्छ । अर्कोतिर हुनेखाने महिलाले नै सबै धर्म संस्कृति, चाडपर्व, परम्परा, रीतिरिवाजलाई आफ्नो पेवा झैं तडकभडकले जता मन लाग्यो त्यतै मोडेर मनाउन थालेका छन् । यसले हुँदाखानेलाई पिरोलेको छ । उनीहरू आफ्नो परम्परागत संस्कृतिप्रति खर्चकै कारण वितृष्णा जागेर धर्म परिवर्तन गर्न समेत बाध्य पारिएका छन् ।

बर्सेनि नेपाली महिलाले शृंगार र तडकभडकमा देशको सबैभन्दा ठूलो धनराशि विदेश पठाएको रेकर्ड (५८ अर्ब यो वर्ष) पाइएको छ । हामी आफैंले बिगारेको संस्कार आफंै सच्याएर बिदेसिने अर्बौं पैसा बचाऔं भन्दै 'संस्कृतिलाई पाल्नुछ रोजेर विकृतिलाई फाल्नुछ खोजेर' भन्दै चितवनका विभिन्न महिला समूहले संयुक्त रूपमा यही असार २५ गते गुरुपूर्णिमा, व्यास जयन्ती, शंकराचार्य जयन्तीको दिन ॐकार धर्मगुरुहरू पण्डित, पुरोहित, लामाहरूबीच जिल्ला समन्वय समितिको हलमा अन्तरसंवाद गरेका थिए ।

वि.सं.१९७८ असार २५ कै दिन तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराद्वारा सम्पूर्ण नेपाली महिलालाई श्रीमान्सँगै जल्नुपर्ने अत्यन्त क्रूर र अमानवीय सतीप्रथा उन्मूलन गरेर महिलालाई अकाल मृत्युबाट बचाउने काम गरिएका थिए । यस्ता नेपाली महापुरुषका योगदान हुँदाहुदै, भोजपुरकी योगमाया न्यौपाने (जसले महिला उत्थानको लागि केही सीप नलागेर वि.सं. १९९८ मा ६८ जना सहित जलसमाधि गरेकी थिइन् ।) नेपाली महिला हुँदा हँदै विश्व पहिचानको प्रतिस्पर्धामा दौडिएको बेला विदेशले बोकाएको पहिचानको नारा लगाएर अमेरिकाका नाममा हामीलाई नारी दिवस मनाउन बाध्य नपारियोस् । यो दिन हामी राष्ट्रिय नारी दिवसका रूपमा मनाइयोस् तबमात्र हाम्रा विभूतिहरूको उचित सम्मान र देशको पहिचान रहनेछ ।

साउनमा शिवजीलाई पहेँलो टालो, ध्वजा चढाउने हो तर मान्छे आफैं शिवजी बन्न खोज्दैछ, यो सबै विकृति हो ।'

हाम्रा धार्मिक, सामाजिक, सांस्कृतिक परम्परामा थपिँदै गएका विकृति न्यूनीकरणका लागि प्रशासन, बुद्धिजीवी, पत्रकारलगायत सम्बन्धित निकायको सहयोग र ऐक्यबद्धता आवश्यक छ । अन्तरक्रियामा सहभागी महिलाले साउनको नाममा हरियो चुरा तथा पहेँलो वस्त्र, तीजको महिनौंअघिदेखि सुरु हुने खर्चिलो दर, गरगहना प्रदर्शन, महँगा लुगा खरिदको प्रतिस्पर्धा, तिहार, विवाह, व्रतबन्धका नाममा चुलिँदै गएका उपहार, गहना, जोखेर किनिने साडी, दुलही र सम्धिसम्धिनीका नाममा ढोगाउनी आदि विकृतिका बारेमा चिन्ता गरेका छन् ।

परम्परा र संस्कृतिका पथ प्रदर्शक पण्डित र लामाहरूसँग कुनै शास्त्र विशेषमा उल्लेख गरिएभन्दा बाहेकका तडकभडक रोक्न पहल गरिदिन पनि आग्रह गरिएको छ । सबै वक्ताले साउनका नाममा लगाइने हरियो चुरा र पहेँलो वस्त्र संस्कृतिको रूपमा कुनै शास्त्रमा उल्लेख नभएको र विदेशीले चुरा व्यापारका लागि विकृति फैलाउन नेपाली कलमजीवीलाई कुनै समय प्रयोग गरिएको निष्कर्ष निकालेका थिए । विदेशी व्यापारीले विज्ञापनको रूपमा सोझासिधा महिलालाई प्रयोग गरेर भड्किलो व्यापार गर्ने नियत राखेको समूहका महिला दिदीबहिनीको थियो ।

साउनको नाममा चुरा र वस्त्र

संस्कृति पिता पुर्खाका परिचय भए पनि विदेशीले व्यापारका लागि भिराएका नवनिर्मित एजेन्डाहरू विकृति हुन् । हाम्रा हजुरआमाले होइन आमाले पनि नगरेको काम साउनमा हरियो-पहेँलो चुरा र पहेलो वस्त्र अहिले नेपालमा ठूलो विकृतिका रूपमा देखिएको छ । विशेषगरी भारत, बंगलादेशबाट चुराको व्यापारका लागि सोझासिधा महिलालाई प्रयोग गरी विज्ञापन गरिएको छ । तर यो कुनै धर्मशास्त्रमा उल्लेख छैन । अरूबेला चुराको नामै नलिनेले पनि साउनमा काखेबालिकादेखि क्याम्पस पढ्ने उमेरकी फेसनदार आधुनिक छोरीचेलीले समेत यो अपनाएको देखिन्छ ।

परम्परामै नभएको कुरामा प्रतिवर्ष ५० रुपैयाँको मात्रै चुरा एक करोड ५२ लाख नेपाली महिलाले लगाउँदा दुई अर्ब २८ करोड रुपैयाँ बिदेसिन्छ । प्रायःले कम्तीमा सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको चुरा लगाउँछन् । के यो परम्परा हाम्रो अनि राम्रो हो त ? यसले देशलाई उभो लग्ला कि अवनतितिर ?

आफ्नो देशको उत्पादन हुँदा सुनका चप्पल लगाएर हिँडे पनि हुन्छ । तर देशमा उत्पादन नहुने कुरालाई संस्कृतिको नाममा फेसन बनाएर खाली पेटमा पटुका कसेर छोराछोरीलाई दुई छाक राम्ररी नखुवाई 'चलन'को नाममा देखासिकी गर्नुपर्ने किन ? धर्म संस्कृति र परम्परा सबैका साझा सम्पत्ति हुन् । जसमा सधैं धनीले मात्र हाँस्नु र बाँच्नुपर्छ भन्ने छैन । तर जुनसुकै चाडपर्व र परम्परा किन नहोस् धनीमानीको हालीमुहाली, महँगा कपडा र गरगहना प्रदर्शन बढ्दैछ । यसको अन्तिम बिन्दु या चरम बिन्दु कहाँ होला ? कसैले आंकलन गरेका छैनौं ।

ठूला गहना र महँगा सिताराजडित वस्त्रको इज्जत ठूलो हुन्थ्यो भने अहिलेसम्ममा हामी एंगेला मर्केलको देशभन्दा कयौं गुणा धनी र इज्जतिलो भइसक्नु पथ्र्यो । गहना नलगाउने, सिताराले नपुरिने एलिजावेथ संसारका शक्तिशाली राष्ट्र अस्ट्रेलिया, क्यानडासहितको राष्ट्राध्यक्ष छन् । हाम्रो मुलुकमा पनि उच्च पदमा आसीन महिला गहना र झिल्के कपडाले सिंगारिएको देखिँदैन । यसो सोचौं न हाम्रा राष्ट्राध्यक्ष, सभामुखलगायतले छड्के तिलहरी, न्याक्लेस, सिताराजडित साडी लगाएको भए हामी कति कुरा काट्थ्यौं होला ! किन छि छि भन्यौं होला ।

गाउँघरका दिदीबहिनीले विशेष समारोहमा सहरिया हुनेखाने महिलाको जति शृंगार देखाउन नसके हामी 'बिचरा'को उपमा दिन्छौं । हाम्रो सोचाइमा सत्यता छ त ? बिचरा त हामी हौं, जो उत्पादन नभएको मुलुकमा बसेर तिनै गरिबले आर्जेको वस्तुबाट कमाएको सम्पत्तिमा रमाएर देशको सम्पत्ति संस्कारका नाममा विदेशीलाई सुम्पँदै छौं ।

आजकल विदेशीले व्यापारका लागि अर्को तमासा साउनका नाममा थालेका छन् । 'बोलबम' भन्दै पहेँला वस्त्र लगाउने चलन हाम्रो पुरानो परम्परा हैन । हामीले नै ८÷१० वर्षअघि नदेखेको तर आजकल चाहे पुरुष चाहे महिला कुर्ता सुरुवाल, पछ्यौरा, साडी, चोलो, टोपी, भेस्ट जेसुकैमा ॐ लेखिएको भए सिधैं स्वर्ग जान्छौं भनेझै गर्दैछौं । हामीले ॐ कारलाई गरेको सम्मान के सही छ त ? वर्षभरि ॐ उच्चारणसम्म गर्दैनौं ।

एक दिन लुगामा ॐ लगाएर के स्वर्ग गइएला त ? लामा, पण्डितहरूले भनेका छन्, 'साउनमा शिवजीलाई पहेँलो टालो, ध्वजा चढाउने हो तर मान्छे आफैं शिवजी बन्न खोज्दैछ, यो सबै विकृति हो ।' ॐ को अर्थ के हो ? हामी किन यति लापरवाह भएर प्रयोग गर्दैछौं ? तपाईंको मनमा कति हरि छ, ॐ छ भन्ने कुरा तपार्इं हरेकका व्यवहारले झल्काइरहेको हुन्छ । ओड्ने ओच्छ्याउने ॐ हँदैमा पुण्यता मिल्छ भन्ने कमजोर सोच हामीले अँगालिरहेका छौं । हाम्रो ॐ कार वाणीले पश्चिमा मुलुकहरूले कयौं वैज्ञानिक आविष्कार गरेर सम्पन्नता तिर दौडिँदैछन् । हामी उनीहरूले व्यापारका लागि बनाएका लुगामा ॐ झुन्ड्याएर दौडिन थालेका छौं ।

हामीले बुझ्नैपर्ने कुरा के भने कुनै महिलाले आफ्नो घडेरी जमिन बाँझो राखेर तरकारी, गोलभेँडा, साग र खुर्सानी समे भारतीयको खाएर विदेशबाट छोरा र श्रीमान्ले दुःख गरेर भित्र्याएको पैसाले हरिया चुरा लगाउँदैमा वास्तविक हरियाली पाइँदैन । कृत्रिम हरियालीले न त वातावरण नै न त स्वास्थ्य नै राम्रो पार्छ । बरु त्यो पैसाले दुई दाना तरकारीको बिउ किनेर जमिन हराभरा बनाऔं ।

वर्षको एउटा बिरुवा रोपौं, त्यसले हामीलाई साउनको वास्तविक हरियाली दिनेछ । भान्साका लागि हुने खर्च पनि बचत हुनेछ । पहेँले टालो शिवजीको सम्मानमा चढाऔं, ॐ कार हरेक बिहान नियमित उद्गार गरौं, जसका कारण स्वास्थ्य पनि राम्रो हुनेछ । मन पनि शान्त रहनेछ । यसो गरे बर्सेनि बिदेसिने दसौं अर्ब रुपैयाँ मुलुकमै अडिनेछ । देशको आर्थिक विकासमा टेवा मिल्नेछ । योभन्दा अर्को धर्म के छ ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.