गान्धीको प्रेरणा र अहिंसा
महात्मा गान्धीले गरेको अहिंसाको प्रयोग कुनै समय विश्वजगत्का लागि मजाकको विषय बन्यो । ब्रिटिस महाराज जर्ज पञ्चमले समेत कहिल्यै अहिंसात्मक क्रान्ति भएको इतिहास छैन भनेका थिए । तर पछि उनै महाराजको बकिंघम प्यालेसमा उनले तिनै गान्धीसँग वार्ता गर्नु परेको थियो । अहिंसामा जुन शक्ति लुकेको थियो त्यो देख्ने दृष्टि गान्धीमा थियो । भविष्य देख्न सक्ने दृष्टि र व्यवहार गान्धीमा निहीत थियो ।
दुनियाँलाई के थाहा नैतिक बल हजारौ संगीनभन्दा पनि सर्वशक्तिमान हुन्छ, भन्ने । गान्धीले भनेका छन् 'जोसँग नैतिक बल नै छैन, उसले सत्यलाई आत्मसात् गर्नै सकिँदैन ।' जब आचार विचारमा स्वच्छता प्रकट हुन्छ, अनि मात्र ऊ सत्यवादी बन्न सक्छ । जसलाई मानवता र मानवीयताप्रति हार्दिकता प्रकट हुँदैन, त्यस्ता मानिसको बोली, व्यवहार, विचार र कर्ममा सत्य रूप प्रकट हँदैन ।
जो दयावान् र प्रेमी हुन्छ, उसको आत्माले सत्यसँग साक्षात्कार गर्न सक्छ । जो धूर्त र दुष्ट स्वभावको हुन्छ, उसले मात्र हिंसालाई सर्वशक्तिमान स्वीकार गर्छ । असत्य उसका लागि सहारा हुन्छ । गान्धीको विचारमा पनि असत्य र प्रतिशोध राखेर जिउने मानिस कहिल्यै पनि अहिंसावादी हुन सक्दैन ।
ज्ञान, ध्यान, साधना (कर्म), विवेकसँगै संयमता र उच्च बौद्धिक चेतनाले मात्र व्यक्तिमा नैतिक बल जागृत गराउँछ । नैतिक बल आर्जनका लागि मानिसमा सरलता, लगनशीलता, श्रम, मानवता र अहिंसात्मक भावना हुनुपर्छ भन्ने विचार गान्धीमा रहेको थियो । गान्धीलाई वर्तमान विश्वले अहिंसाका पुजारी भनेर स्मरण गर्छ । उनको जन्म दिनलाई संयुक्त राष्ट्रसंघले विश्व अहिंसा दिवसका रूपमा घोषणा गरेर नै मनाउन लागेको प्रसंगबारे हामी अवगत नै छौं ।
सन् १९२२ मा महात्मा गान्धी एउटा कार्यक्रममा भाग लिन तमिलनाडुको मदुराई पुग्दा त्यहाँका गरिब किसान महिला आधासरो कपडामात्र लगाएर पानी बोक्दै गरेको दृश्य गान्धीले देखे । भोलिपल्ट कार्यक्रममा प्रमुख वक्ताको हैसियतमा भाग लिँदा उनी एउटा धोतीको पहिरनमा मात्र उपस्थित भए ।
मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कोही न कोही प्रेरणाको स्रोत हुन्छ । गान्धीको जीवनमा अहिंसाको पहिलो प्रेरणाको स्रोत आमा पुतलीवाई थिइन् । किनकि उनी कुशल हिन्दु गृहिणी थिइन् । उनमा धार्मिक संस्कार र व्रत व्यवहारको गुण भरिपूर्ण थियो ।
अन्य बहुजन उनका प्रेरणाका स्रोत थिए । जैन धर्मावल्मी श्रीमद् रायचन्द्रको जीवन दर्शनले उनलाई ठूलो प्रभाव पारेको थियो । गान्धीको अहिंसा र ब्रह्मचर्यको व्रतमा रायचन्द्रको प्रभाव छ । उनी पनि वैवाहिक जीवनपछि ब्रह्मचर्यको पालना गरेका व्यत्तिल थिए । जैन धर्ममा अहिंसाको जति सूक्ष्म चिन्तन र ठूलो महिमा छ, त्यसलाई अध्ययन गरेर नै गान्धीले साक्षात् जीवनमा अहिंसाको व्रत लिएको पाइन्छ । त्यसो त उनले भगवान् बुद्धको जीवनीबाट समेत अहिंसाका बारेमा जानकारी लिएका थिए ।
बुझेको कुरालाई व्यवहारमा उतार्नु गान्धीको गुण हो । गान्धीले वैवाहिक जीवनपछि ब्रह्मचर्यको व्रत लिन सकिन्छ भन्ने प्रेरणा जैन धर्मावलम्बी रायचन्द्र र प्रसिद्ध रुसी साहित्यकार टाल्स्टायको जीवनीबाट लिएको पाइन्छ । गान्धीले चार सन्तान (रामदास, मणिलाल, हरिलाल र देवदास) को जन्मपश्चात श्रीमती कस्तुरबाको सहमतिमा सन् १९०६ देखि ब्रह्मचर्यको व्रत लिएका थिए ।
'सुख आफ्नै हृदयमा छ, अन्त खोजेर प्राप्त हुँदैन' भन्ने कुराको प्रथमतः ज्ञान र जानकारी दिने व्यक्ति पनि उनै रायचन्द्र नै थिए । गान्धीको ब्रह्मचर्यपालना र अहिंसाको सारथि बन्नमा रायचन्द्र, टाल्स्टायँ र रस्किनको गहिरो प्रभाव छ । टाल्स्टायको 'स्वर्ग तिमीमै छ', र रस्किनको 'अन्टु दिस लास्ट'लाई गान्धीले अनुवाद नै गरेका छन् । यी पुस्तक अध्ययनले जीवनमा ठूलो परिवर्तन नै ल्याएको गान्धीले आत्म कथामा उल्लेख गरेका छन् ।
रायचन्द्रको वेदान्त जैन दर्शनको टिप्पणीले गान्धीलाई सत्पुरुष बन्नमा प्रभाव पारेको छ । धर्म, शिक्षा, नैतिकता र समाज संरचनाका बारेमा ज्ञान दिने गुरु टाल्स्टायसँग गान्धीको पत्र व्यवहार निरन्तर भइरहन्थ्यो । उनको 'वार एन्ड पिस' कृति पढेपछि गान्धीमा झनै ठूलो प्रभाव पर्यो । जुन कृतिका लागि नोबेल पुरस्कार प्रदान गर्दा सन् १८७० मा टाल्स्टायले अस्वीकार गरेका थिए ।
गान्धीको जीवनका प्रभाव पार्ने अर्का विदेशी नागरिक हुन, रस्किन । जो ब्रिटिस नागरिक थिए । उनको 'माई इङ्गल्यान्ड' को प्रभाव देखिन्छ । गान्धीले सन् १९०९ मा 'हिन्द स्वराज' लेखेका छन् । दुवै कृति आ-आफ्ना देशको सन्दर्भ र प्रसंगका बारेमा लेखिएको भए पनि विषयवस्तुका बारेमा आलोचना र नकारात्मक टिप्पणी गरिएका छन् । रस्किन आफ्नो युगका अर्थशास्त्री, समाजशास्त्री र कलाकारसमेत थिए । त्यसका अतिरिक्त नेता पनि । त्यसो त गान्धी पनि समाज सुधारक, राजनैतिक आन्दोलनका सारथि र दार्शनिकका रूपमा परिचित छन् ।
शासक र शासित देशका नागरिक भए पनि गान्धी र रस्किनमा 'सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय' आदर्श विचारले प्रभावित पाइन्छन् । गान्धीको अहिंसात्मक आन्दोलनको प्रेरणाको स्रोत अमेरिकी प्रसिद्ध साहित्यकार हेनरी डेविड थोरोको पनि पाइन्छ । उनले थोरोले अमेरिकामा सन् १८५० देखि १८५४ सम्म चलाएको रजौटाहरूविरुद्धको आन्दोलन सविनय अवज्ञाको सिद्धान्तमा आधारित थियो । थारो पनि रजौटाहरूको शासनविरुद्ध अहिंसात्मक आन्दोलन गर्दा अमेरिकामा जेल गएको इतिहास छ ।
गान्धीले जीवनमा विभिन्न व्यक्तिबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणा लिएका छन् । तर सबैभन्दा ठूलो प्रेरणा समग्र भारतको गरिबी, गुलामी र गीताबाट लिएका छन् । गान्धीले एकसरो धोती लगाउने प्रेरणा मिलेको रोचक प्रसंग छ, सन् १९२२ मा गान्धी एउटा कार्यक्रममा भाग लिन तमिलनाडुको मदुराइ पुग्दा त्यहाँका गरिब किसान महिला आधासरो कपडामात्र लगाएर पानी बोक्दै गरेको दृश्य गान्धीले देखे । भोलिपल्ट कार्यक्रममा प्रमुख वक्ताको हैसियतमा भाग लिँदा उनी एउटा धोतीको पहिरनमा मात्र उपस्थित भए । त्यस क्रममा उनले भने, 'देश गरिबीबाट अक्रान्त छ, भने मैले कसरी टाई सुट लगाउन सक्छु ? '
उप्रान्त गान्धीले शरीरमा झकिझकाउ पहिरन लगाएनन् । बरु आफूले लगाउने धोती पनि आफैं चर्खा चलाएर बुनेको खादीबाट लगाएर जीवन निर्वाह गरे । आइपर्ने समस्या र घटनाबाट उनले कैयौं प्रेरणा लिएको पाइन्छ । गान्धीको अहिंसात्मक आन्दोलनले नै सन् १९४८ अगस्त १५ मा भारतलाई ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता दिलायो