'अनिको'को अद्भूत मूर्ति
मेरा आदरणीय पाठकहरू सोध्नुहोला, 'अनि को त ? ' म चीनका प्राचीन मङ्गोल सम्राट्, कुब्लै खाँले ती व्यक्तिलाई देख्नेबित्तिकै आश्चर्यचकित हुँदै उच्चारण गरेको परिचय उद्धृत गर्छु, 'उही फुच्चे कलाकार क्या त !'
उनी नेपालबाट तिब्बततिर ८० जनाजति कलाकारको नेतृत्व गर्दै पठाइँदा इतिहासशिरोमणि बाबुराम आचार्यका अनुसार केवल सत्र वर्षका थिए । र त्यसै बेला चीनका सम्राट्ले उनलाई देख्न पाएका भए अवश्य पनि फुच्चे नै भनिने थिए होलान्, तर टाक्कटुक्क आजसम्म पाइएका वृत्तान्तअनुसार निकै वर्ष तिब्बतमा बसेर अद्वितीय मूर्ति, अतुलनीय मन्दिर र अनुपम चित्र बनाएर प्रसिद्धि पाएपछि नै ती नेपाली कलाकार चीनको राजधानी बेइजिङमा सम्राट् कुब्लै खाँबाट निम्त्याइएका थिए ।
त्यसै हुनाले उनी उमेरले र प्रतिभाले पाका र प्रशंसनीय भइसकेका भए पनि चीनको दर्बारमा पुग्दा कदले सस्याना वा फुच्चे देखिएका हुन सक्छन् । त्यतिमात्र होइन, कला क्षेत्रमा अभूतपूर्व प्रतिभा देखाइसकेर ठूलो ख्याति कमाइसकेका अनिको सामान्य नेपालीझैँ पुड्का नभएर कुब्लै खाँका कल्पनामा विशाल शरीरका भीमसेनझैँ हुनुपर्ने थियो होला । के गर्नु ? प्रतिभा भन्ने कुरो सस्याना च्यान्टे शरीरमा पनि प्रस्फुटित हुँदो रहेछ ।
यहाँ म हाम्रा कलाकारविभूति अनिकोको उल्लेख गर्दैछु । उनी नेपालमै जन्मे तापनि देहत्याग गर्दा चीनमा थिए । उनको चिहान युआन्पिङको शाङ्सन भन्ने गाउँमा अझै पनि छ । चिहानमाथि कपिएका लेखोटबाट अनिकोका विषयमा धेरै कुरा थाहा पाउन सकिन्छ । त्यस चिहानको निर्माण उनका चिनियाँ छोराले गरेका थिए । हुन त यी नेपाली कलाकारका विषयमा युआन वृत्तान्तमा पनि पाइन्छ भनेर फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीले १०९ वर्षअघि प्यारिसमा प्रकाशित पुस्तकमा र इटालीका इतिहासकार पेतेकले ५९ वर्षअघि रोममा प्रकाशित पुस्तकमा लेखेका छन् । तापनि ऐतिहासिक तथ्यका दृष्टिकोणले शाङ्सन गाउँस्थित अनिकोको चिहानमा अङ्कित चिनियाँ लेखोटको प्रामाणिक नेपाली अनुवाद नहुन्जेल वैज्ञानिक रूपले किटेर यही हो भन्ने ह्याउ ममा छैन ।
इतिहास जति पुरानो भयो, त्यति नै त्यससँग सम्बद्ध पात्र, घटना र स्थान धूमिल हुँदै जान्छन् । कहाँसम्म भने तिनमा कतिपय त पूरा कथा वा लोककथाका रूपमा थपथाप र काँटछाँट हुँदै यथार्थभन्दा धेरै फूलबुट्टाले सिँगारिन पुग्छन् । अनिकोको जन्म क्राइस्टाब्द तेह्रौँ शताब्दीमा भएको सत्य त उनी सम्राट् कुब्लै खाँका समकालीन भएकाले पनि अड्कल गर्न सकिन्छ । त्यसका साथै तिनै सम्राट्ले आफ्नो दर्बारमा पहिलो पल्ट भेट्ता 'अनिको' वा फुच्चे भनिएका व्यक्ति पक्कै पनि निकै पछि जन्मिएका हुनुपर्छ ।
उनका चिहानका लेखोटलाई उल्लेख गर्दै बाबुराम आचार्यले कुब्लै खाँ मरेको बाह्र वर्षपछि अनिको मृत्यु अँगाल्न पुगे भनी लेखेका छन् । त्यसो भएकाले १२९४ मा कुब्लैको देहावसान भएकाले त्यसमा बाह्र जोड्दा हुने क्राइस्टाब्द १३०६ अर्थात् विक्रमाब्द १३६२ को फागुनको अन्त्यतिर उनी दिवङ्गत हुन पुगे होलान् । त्यही चिहानमा उनको जन्मसाल १२४५ क्राइस्टाब्द हो भनी लेखिएको छ भनिन्छ । सत्रै वर्षको उमेरमा तिब्बत पठाइएका ती नेपाली कलाकारले त्यहाँ पुग्नेबित्तिकै सुवर्णस्तूप निर्माण गरेका थिए रे । चीनको राजधानीमा श्वेतपगोडा बनाउँदा त उमेरले निकै पाका भइसकेका हुनुपर्छ ।
शाङ्सन गाउँको चिहानमा अङ्कित लेखोटअनुसार चीनतिर लाग्नुअगावै नेपालमा उनी चै-य-ल-लक्ष्मी (अर्थात् जयतलक्ष्मी) नाम्नी नवयुवतीसित विवाहबन्धनमा बाँधिइसकेका थिए । ती कलाकारका बाजेको नाम मि-ति-र्ह (अर्थात् मित्र ? ) र बाबुको नाम लक् ओन (अर्थात् लक्ष्मण ? ) हुनुपर्छ भनी चिहानका लेखोटको व्याख्या बाबुराम आचार्यले गरेका छन् ।
जे होस्, पेतेक र लेभीले अनिकोलाई राजकुलका थिए । त्यसै हुनाले १७ वर्षका कलिला युवक भए पनि ८० जना परिपक्व कलाकारका नाइके भएर नेपालको प्रतिनिधित्व गर्दै तिब्बत पठाइए भनेर परिकल्पना गरेका छन् । आचार्य भने उनलाई राजकुलका मान्दैनन् । राजा अभय मल्लका पालामा जन्मेका अनिको पक्कै पनि प्रतिभासम्पन्न बौद्ध उपासक थिए, जसले कुनै नेपाली बौद्ध विहारमा नै मूर्ति, चित्र र वास्तु निर्माणका कला सिकेका थिए हुनन् । त्यसै हुनाले राजपरिवारसँग उनको घनिष्ठता हुनु सम्भव तथा स्वाभाविक देखिन्छ । मल्ल ठकुरी र राजघरानाका मानिस हुनाले हातले कोर्नु, कप्नु र कुँद्नुपर्नेतिर आकृष्ट हुँदैनथे, बरु त्यस्ता कुरालाई हेय मान्थे ।
लेभी र पेतेकले 'पालेपाओ' शब्दको प्रयोग गरी अनिको त्यस ठाउँका राजकुमार थिए भनी अनुमान गरेकाले उनको जन्म पाल्पामा भएको कल्पना गर्नेहरू पनि निस्किए, पाटने थिए भन्नेहरूको पनि लाम लाग्यो र एकदुई जनाले भने त्यति बेला पाटन र काठमाडौँ त भक्तपुरकै राज्यअन्तर्गत थिए र भक्तपुरको नेपाल उपत्यकाका मल्लहरूको राजधानी थियो भनी 'पालेपाओ'लाई पनौतीको पुरानो नाम मानी अनिको जन्मस्थल पनौती भएको अनुकल्पना अघि सारे । यस्ता व्यक्तिमा कलाकार मनुजबाबु मि श्रको नाम अग्रस्थानमा छ । उनले आफ्नो 'स्वप्नसम्मेलन' उपन्यासमा अनिकोलाई मुख्य पात्र बनाएका छन् र तिनलाई भक्तपुरमै जन्माएका छन् ।
वास्तवमा 'पालेपाओ' शब्द चिनियाँ लेखोटबाट बनाइएको हो । यसले गर्नु गर्यो । बेइजिङलाई पेकिङ वा पेइचिङ भनिएझैं 'बलबाहु'लाई 'पालेपाउ÷पालेपाओ' भनिएको हुनुपर्छ भन्ने भ्रम पनि परेकै हो । यसरी स्थानवाची नामलाई समेत कलाकारको नाम ठानी इतिहासशिरोमणि आचार्यले समेत 'अनिको'लाई 'बलबाहु' भन्ने ठानेर गल्ती गरेको थिएँ भनी स्वीकारेका छन् । नेपाली कलाकारको नाम संस्कृतमा हुन्छ र पालेपाउ वा पालेपाओ भनी चिनियाँमा लेखिएको छ भने त्यो 'बलबाहु' हुनुपर्छ भन्ने अस्वाभाविक पनि होइन, तर तिब्बती र चिनियाँमै पनि नेपाललाई नै पालोपाओ भनिन्थ्यो रे ।
अनिको भक्तपुरकै होलान्, ज्यापू नै होलान् र ती राजकुलका नभएर कलाकारकुलकै बौद्ध उपासक होलान् । तिनी आफ्नी नेपाली पत्नी जयतलक्ष्मीलाई यहीँ छाडेर चीन गएका थिए र तिनले चीनका सम्राट्बाट आफ्नो मृत्युपछि 'मिङ होई' (जिउँदो प्रतिभा) भन्ने पदक पाएका थिए । उनले चीनमा त्यहीँकै ६-७ जना पत्नी बिहा गरेर छ छोरा पनि जन्माएका थिए । तिनै छोराले उनको चिहान निर्माण गरेर त्यसमाथि लेखोट कपी दिएका थिए ।
आजसम्मका अध्ययनको निष्कर्ष :
१. अनिको चिनियाँ नाम हो र ऐतिहासिक अनुसन्धाबाट प्राप्त यही नाम नै शुद्ध हो । 'अर्निको' वा 'अरनिको' जस्ता लेखाइ वा उच्चारण अशुद्ध हुन् ।
२. बलबाहु भावुकतावश अनिकोका लागि अनुमान गरिएको काल्पनिक नाम हो । 'पालोपाओ' वा 'पालेपाउ' शब्दले पाल्पा, पाटन वा पनौतीजस्ता सस्याना स्थानविशेषलाई बुझाउँदैन । नेपाल शब्दलाई नै पुरानो तिब्बती वा चिनियाँ भाषामा 'पालेपाउ' भनिन्थ्यो ।
३. अनिकोको विवाह जगतलक्ष्मी भन्ने नेपाली नवयुवतीसित यहीँ नेपालमै भएको थियो, तर उनलाई मातृभूमिमै छोडी उनले चीन जानुपर्यो । चीनमा पनि उनले पछि विवाह गरे र छोरा जन्माए । उनका तिनै चिनियाँ छोराले शाङ्सन भन्ने गाउँमा आफ्ना कलाकार पिताको उहीँ देहान्त भएपछि समाधि निर्माण गरी त्यसमाथि लेखोट छाडेका थिए ।
४. अनिको राजपरिवारका सदस्य थिएनन्, राजपरिवारले रुचाएका र प्रशंसा गरिएका बौद्ध धर्मावलम्बी किसानका कलाकार छोरा थिए अर्थात् उनी ज्यापू परिवारका प्रतिभावान् व्यक्तित्व थिए ।
५. महान् कलाकार अनिकोको जन्म क्राइस्टाब्द तेह्रौँ शताब्दीमा नेपाल उपत्यकाभित्रै अभय मल्लको राज्यकालमा भएको थियो र उनले १७ वर्षका भएर तिब्बत पठाइनुअगावै हाम्रै बौद्ध विहारभित्र कलाको यथेष्ट व्यावहारिक प्रशिक्षण पाएका र प्रतिभा तिखारिसकेका थिए । उनी हाम्रा असाधारण र गौरवशाली कलाकार हुन् ।
माथि लेखिएका कुरा हृदयङ्गम गरेर नै होला, आफ्नो 'स्वप्नसम्मेलन' नामक उपन्यासमा मि श्रले आफ्नो प्रमुख पात्र अनिकोलाई भक्तपुरका ज्यापूका रूपमा प्रस्तुत गरेका होलान् । प्रसङ्गवश अहिले मूर्तिकार पूर्ण वनेमले मि श्रको बगैँचामा अनिकोको अद्भुत मूर्ति बनाएका छन् । नेपालभित्र आजसम्म यथार्थ मनुष्यको प्रतिकृति देखाउने मूर्ति सिमेन्टीमा बनिएकै थिएन । जङ्गबहादुर, पृथ्वीनारायण, भानुभक्त, देवकोटा आदि जतिजति प्रसिद्ध व्यक्तिका मूर्ति आजसम्म बनेका छन्, ती प्रस्तर र धातुमा छन् तर वनेमद्वारा निर्मित मूर्ति भने सिमेन्टी ढालेर यथार्थवादी शैलीमा बनिएको छ।
भर्खर आफ्नो घर भादगाउँबाट आएको त्यहीँको स्थानीय बासिन्दा देखिने अनिकोका अनुहारमा चित्रित आँखा, कान, नाक, मुख, चिउँडो तथा बाहुला पट्याइएकाले देखिने नाडी र हातका औंला तथा सुरुवाल माथितिर फर्काइएकाले छर्लङ्ग भएका पाउ, पिँडुला र औंला तिनका फुलेका नसाहरू खुम्चिएका छालाले गर्दा जिउँदा, वास्तविक र अनुपम देखिन्छन् । कलाकारद्वय मि श्र र वनेमका आँखा छल्दै अहिले नै बोलिहाल्लान् जस्ता ती मूर्तिलाई श्रद्धासाथ छुन म पुग्दा त अनिको मुसुक्क मुस्काउँदै मलाई सोध्न पो लागे, 'बाबु तारानाथ, तिमी पनि मलाई भेट्न आइपुग्यौ ?
अब तिमीले मलाई भेट्न बेइजिङ पुग्नु पर्दैन बाबु, श्वेतपगोडा छाम्न पुग्नु पर्दैन, म यहीँ आइपुगेँ ।' अघिल्तिरका झोलामा घन र छिनो थन्क्याएर उनले मेरो टाउको सुम्सुम्याउँदा म भावविह्वल भएँ । बरर्र आँसु खसाल्दै मैले आशीर्वाद मागेँ, 'मातृभूमिको गौरव राख्न प्यारी पत्नीलाई समेत छाडेर विदेश पुगी कलामा समर्पित हे परमपुजनीय पिता ! कलाप्रतिका तपाईँका समर्पण र साधनाका लाखौँ अंशमध्ये एउटै मात्र पनि ममा हुन सके पुग्थ्यो ।'
'बाबु तारानाथ ! हेर, सात सात सय वर्ष मैले प्यारो मातृभूमिबाट टाढा रही परदेशमा कहर काटेँ । तर धैर्य गर्नुपर्दो रहेछ । आज यति शताब्दीपछि भए पनि म तिमीजस्ता सहृदयी कुटुम्बसँग भेट्न पाइरहेछु ।'
म उनका पाउमा घोप्टँदा उनले मेरो शिर बीचैमा समातेर रोक्तै भने, 'तारानाथ ! तिमीले जसरी मलाई आफ्नै राष्ट्रिय विभूति मानेर हृदयमा विराजमान गराएका छौ, उसरी नै मैले पनि तिमीलाई मुटुभित्रै राखेको छु । बल्लबल्ल सात सय वर्षपछि यहाँ यस पवित्र कलाकुटीमा म सुस्ताउन पाइरहेथेँ, तर यहाँबाट समेत मलाई उक्काएर, भत्काएर र टुक्र्याएर अर्कैतिर लाने कुरो पो गर्दैछन् भन्ने म सुन्दै छु।
हेर तारानाथ ! के तिमी सगरमाथालाई उचालेर, उक्काएर र उछिट्ट्याएर हामी नेपालमाताको शिरबाट कतै लान सक्छौ ? म के तिम्रा परम प्रिय मित्र कलाकार मि श्रका बगैंचामा सगरमाथा झैँ अडिग भएर बस्न पाउँदिनँ, के म तिम्रो मुटुबाट चोइटिन सक्छु ? भन न बाबु ! भन त तारानाथ !!
मैले मि श्र र वनेमका आँखा धेरै बेर छल्न सकिनँ । वनेमले मलाई आश्वस्त पार्दै भने, 'फलामका छड सिमेन्टीमा बज्रजस्तै जमाएर जमिनमा मैले भित्रसम्म गाडेको छु, ती छडलाई काटिएमा वा तिनलाई छुट्ट्याइएका मूर्ति नै टुक्राटुक्रा हुन्छ । यो महान् मूर्ति सधैंका लागि अब यहीँ हामीलाई आशीर्वाद र प्रेरणा दिँदै बसिरहनेछ । यसलाई कसैले पनि यहाँबाट अरूतिर प्राविधिक रूपले पनि सार्नै सक्तैन ।'