समकालीन प्रेमकथाको ऐना हो ‘पर्फ्युम’

समकालीन प्रेमकथाको ऐना हो  ‘पर्फ्युम’

केही समयअघि म स्वयं वैवाहिक जीवनबाट विरक्तिएर एक्लिने निर्णयमा पुगेको बेला समकालीन प्रेमकथाको संकलन ‘पफ्र्युम’ मेरो हातमा आइपुगेको थियो। जब म पुस्तकका हरफहरू सँगसँगै बग्दै गएँ, टक्क रोकिएँ । सहयात्रीसँग बिग्रिएको सम्बन्ध जति उकुसमुकुस छ, बिछोडपछिको अवस्था त झन् चहर्‍याउँदो हुँदो रहेछ भन्ने दृश्य यहाँभित्रका केही कथामा पाएँ । तिनले मेरो निर्णय एकाएक परिवर्तन गरिदियो।

यहाँ राजनीतिक परिवर्तनको आगो बलेको छ । देश संघीयतामा मोडिँदै गर्दा विकास र समृद्धिका सवालहरू चर्को रूपमा उठिरहेका छन् । समाज निर्माण र परिवर्तनको तातो बहसमा मायाप्रेमका कुरा गर्नु अलि नमिल्दो पनि होला !

तर पनि मायाप्रेमका कुरा फेरि किन लेखियो यहाँ?
यसकारण आवश्यक भएर लेखियो कि, प्रेमलाई हामी देख्दैनौं। मात्र महसुस गर्न सक्दा रहेछौं । तर, व्यक्ति कति बलियो छ भन्ने थाहा पाउन उसको धरातल हेर्नुपर्छ। र, उसको धरातल नै प्रेमले मजबुत बनाएको हुनुपर्छ। हामी प्रेमको अभावमा छौं भने क्रियाशीलताको नाममा सिर्फ आक्रोश पोखिरहेका हुन्छौं। पुस्तकको पछाडिको कभरमै लेखिएको छ, ‘प्रेम गरिन्छ या आफैं हुन्छ ?

प्रेममा राजनीति र राजनीतिमा प्रेमको घूसपैठ हुन्छ, हुँदैन? बन्दुकको नालबाट बारुद होइन सुगन्ध निस्कियो भने ? प्रेमी-प्रेमिकाको पुनर्मिलनमा निस्कने हर्षा श्रुमा कुन रसायन होला ? राजकुमार बानियाँ र दीपक सापकोटाद्वारा सम्पादित 'पफ्र्युम'का प्रेमकथाहरूले यिनै अदृश्य शक्तिको उजागर गर्ने प्रयास गरेका छन्।

किताबको अर्को फाइदा के भने कथा पढ्नुअघि हरेक कथाकारको कथामाथिको खास दृष्टिकोण पढ्न पाइन्छ। यो कथा–दृष्टिकोण कताकता कथाकारको कन्फेसनजस्तो पनि लाग्छ। कथा-पेगसँगै पाइने 'फ्री' अफर हो यो। र, किताबको अन्त्यमा समीक्षक गुरुङ सुशान्तले आफ्नो ‘भूमिका’मा समकालीन कथाको अनुहार खिचेका छन्।

यति बेला प्रेम संक्रमणमा परेको छ । बर्सेनि पति-पत्नीबीच सम्बन्धविच्छेदका तथ्यांकको ग्राफ उकालो चढ्दो मात्रामा देखिन्छ, जसको रोकथामस्वरूप हामीले प्रेमका उत्सव÷महोत्सवहरू गरेर समाजलाई एकमुष्ठ रूपमा बाँधेर राख्नुपर्छ । किताबका अधिकांश कथाले प्रेमको महत्व बुझेर तिनै टुक्रिएका सम्बन्धहरूलाई जोड्ने प्रयास गरेका छन्।

सामाजिक जीवनलाई हेरेर नै कथा लेखिने भए पनि स्रष्टाका विचार त्यसमा थपिने भएकाले साहित्य, सिनेमा, नाटक आदिले फेरि समाजकै गन्त्यव्यसम्म हामीलाई डोहोर्‍याइरहेको हुन्छ । यसकारण हामी हाम्रा महत्वाकांक्षाहरूलाई चौबीसै घन्टा नबोकी कम्तीमा पनि एक घन्टा प्रेमको अवस्थालाई हेरौं।

हाम्रा आक्रोशहरूले, हाम्रा महत्वाकांक्षाहरूले हामीलाई जड पो बनाइसक्यो कि ! एकचोटि निक्र्योल गरिहेरौं ।
प्रेमले निम्त्याएको टकराव, प्रेमका नाममा हावी हुने यौनको उन्माद अनि फरक आयामबाट प्रेमको परिभाषा खोज्नमै तल्लीन छन्, 'पफ्र्युम'भित्रका चौबीस थान कथा । यसअघि बुझ्दै आएको प्रेमको व्यापकतालाई यी कथा पढेपछि पाठकले पक्कै पनि फरक रूपमा सोच्नेछन्। प्रेम त हरेक वर्ग र क्षेत्रमा फरक तरिकाले प्रस्तुत भइरहेको हुँदो रहेछ।

मूलतः किताबका सबै कथालाई प्रेमका तीन केन्द्रमा हेरेर अध्ययन गर्न सकिन्छ— प्रेमकेन्द्रित, देहकेन्द्रित र संस्कारकेन्द्रित । गणेशकुमार राईको कथा 'कुताङ'मा नामै नभएकी एक स्त्री मुख्य पात्रको रूपमा आएकी छन्। उनलाई तरुनी, भाउजू, बुहारीजस्ता उपनामले सम्बोधन गरिन्छ। यिनी कुनै सीप नसिकी लोग्नेको घर जाँदा पंगु र अल्छी भएको देखाइएको छ।

पात्रको चरित्र हेर्दा भरखर किरात इतिहास च्यूत भएर खस इतिहास सुरु भएको संक्रमणकालीन अवस्थामा महिलाहरूको दुर्गति कस्तो थियो भन्ने अनुमान लगाउन सकिन्छ। किनकि किरात सभ्यतामा महिलाले परचक्री हुनु पर्दैनथ्यो।

पुरुषको घर गएर आधा निद्रा सुत्नु, आधा पेट खानु र बुहार्तन खेप्नु भन्ने महिलाले जानेकै थिएनन्।'कुताङ'मा खस सभ्यतासँगसँगै महिलाहरू पनि स्थानच्यूत भएर परचक्री हुन नजान्नुको हास्यास्पद कथा छ। हास्यव्यंग्य शैलीमा लेखिएको राईको कथाले पाठकहरूमा एक अनौठो इतिहासको सूचना दिलाउँछ। 

साहित्यको चिन्ता गर्नेहरू भन्छन्-नेपाली कथा यति बेला संकटमा छ। तर, समाज-जीवनको अस्तित्व रहिन्जेल कथा लेखिई नै रहन्छ। भलै फरक-फरक प्रयोग र ढाँचाका रूपमा किन नआऊन् ! सामाजिक यथार्थमात्र होइन, स्वैरकल्पनाको उडानमै पनि कथा रम्न सक्छ तर त्यसले आफ्नो भने प्राण छाडेको हुनुहुन्न।

लोककथाहरू सुन्दा छुट्टै सौन्दर्यबोध गर्ने लेखक मुनाराज शेर्मा ‘एक लुङ लाछा'मा लेख्छन्, ‘साँच्चि हामी नांगानांगै हुनु हो भने के राम्रो होला र ? हामीलाई यी सब सांस्कृतिक गरगहना लत्ताकपडा आदिले सुन्दर बनायो।' हिजोआज साहित्यमा शिल्प र कला पाइएन भन्ने गनगने पाठकहरूले यो कथामा थुप्रै साजसज्जा, दर्शन र कला भेट्नेछन्।

कथाले बोल्छ, 'पहाडी भेगको बाटामा पनि सुम्निमा पेन्सिल हिल लगाएर हिँड्छिन् । बाटाको वारिपारि चुराधागो, खित्रिङमित्रिङ आकर्षक ढंगले सजाइएको हुन्छ। मान्छेका मन प्रेममा तानिएजस्तै...।'

मनीषा गौचनको कथा ‘डिमान्डको तीर’मा कुमारित्व किन्न एक पुरुषले कतिसम्मको हर्कत गर्छ भन्ने देखाइएको छ । मूल्य पाउने भएपछि स्त्रीले केही बेच्न बाँकी राख्दिनन् भन्ने पनि छ। अन्तिममा कुमारित्व बेच्ने छोरी र किन्ने बाबु भएको रहस्य खुल्नासाथ कथाले बिट मारेको छ । यो कथाको बुनोट अति नै पठनीय शैलीमा गौचनले निर्माण गरेकी छन्।

अश्विनी कोइरालाको 'एउटा खोजको अन्त्य' विम्बहरूले भरिपूर्ण कथा हो । पात्र बोल्छ, ‘सुन्धाराको मलमा सिँढीहरू उक्लिरहँदा प्रेम र कौतूहलतामा पनि उत्साह बढिरहन्छ। तर, जब मलको टुप्पामा पुगेपछि प्रेमिका अन्तिमाले प्रेम नपरेको बताएपछि त्यही मलको सिँढीहरू ओर्लिंदै उत्साहित मन पनि हराएको महसुस गर्छ।' यसो भनौं, सिँढी उक्लिनु र झर्नुलाई उत्साह र निरुत्साहको विम्बमा कथाकारले प्रयोग गरेका छन्।

अभय श्रेष्ठको कथा 'वाख्या गीत'मा बालिकाको अनौठो साहस लेखिएको छ। आजभोलि फिल्म, नाटक या टीभी सिरियल जताततै देखाइने दृश्यहरूमा जब खतरा आइलाग्छ तब स्त्रीहरू पछि हट्ने कथा बुनिन्छ। तर, यो कथामा यसको ठीक विपरीत स्त्री चरित्रलाई बलशाली ढंगमा प्रस्तुत गरिएको छ । कथामा एउटा बालकलाई रूखमा बाँधिएर राखेको हुन्छ।

उसलाई अनेक जुक्ति लगाएर बालिकाले उद्धार गरेर घर लैजान्छे। कथा सामान्य देखिए पनि आज छोरीलाई सन्तान मान्न तयार नहुने समाजका लागि एकदम मानक दर्शन हो। कतिपय छोरीका अभिभावकहरूले आपूmलाई अझै पनि असुरक्षित महसुस गरिरहेका छन् । तर, यस्ता कथा र दर्शनको हामीले विकास गर्ने हो भने अभिभावकको मनमा गढेर बसेको त्यो भय अवश्य नै हटेर जानेछ । यस्तो भयको निवारण गर्न श्रेष्ठका कथा मजबुत रूपले आएको छ।

बच्चु विकको कथा ‘आधा चुम्बन’ ज्यादै स्वादिलो र रोमाञ्चकताले पूर्ण छ । कथाले प्रेमको हस्तक्षेपी प्रभावलाई परास्त पार्न एउटी युवतीले गरेको प्रयासलाई उतारेको छ। प्रेमीले जति गर्दा पनि आफ्नो संस्कारको घेराभन्दा माथि प्रेमलाई राख्न नसकेपछि अन्ततः प्रेम टुट्छ । टुटेको प्रेमलाई त्यहीँ विसर्जन गरेर हिँडेकी युवतीले जीवनमा प्रगतिको थुप्रै छलाङ मार्छे।

सामाजिक प्रतिष्ठा, सुखसयलमा जीवन स्थापित गर्न सके पनि हृदय भने त्यही प्रेममा अल्झेर झर्को लाग्ने गरी रोइरहन्छ । युवती हृदय अर्थात् आपूmलाई खुसी पार्न जानेबुझेका अनेक तत्वहरू अपनाउँछे तापनि मन फर्किंदैन र अन्त्यमा ऊ हार स्वीकार गर्छे । यस कथालाई विभिन्न दृष्टिकोणले अथ्र्याउन सकिन्छ।

आख्यानमा यथार्थ लेख्न रुचाउने नयनराज पाण्डेको कथा 'देह'मा पनि यस्तै उल्टो बयान छ । फिल्म डाइरेक्टरहरूबाट यौन शोषणमा परेर थुप्रै युवतीले आफ्नो पेसा नै परिवर्तन गरेको समाचार आइरहेको बेला 'देह'मा भने पात्र चन्द्राले नै देह सुम्पनका लागि डाइरेक्टरलाई निम्ता दिएको कथा छ।

डाइरेक्टरसाप बाटोमा पर्ने मेडिकलमा पसी चार-पाँचवटा के-के जाति किनेर चन्द्रालाई भेट्न रानीवनको एकान्त कटेजमा बाइक उडाएर हरर पुग्छन् । परिस्थितिअनुसार शरीर, देह र आत्माको फरक परिभाषालाई कथाकारले उजिल्याएका छन् । यथार्थ जीवनमा पनि यस्तो हुन्छ र ? सायद हुन्छ भने ‘देह’ कथाले अझ अरू टिप्स थपिदिन सक्छ।

शैलीका हिसाबले रिविनको कथा 'पल्ला' नयाँ ढाँचामा छ। 'कथालाई स्वतन्त्र बग्न दिनुपर्छ। सूत्रमा बाँधियो भने त्यो कथा नभएर गणित बन्छ’ भन्ने मान्यता राख्ने रिविनले प्रेमलाई फूलनानी र दाजुभाइको सम्बन्धमा प्रयोग गरेका छन्।

यो कथा पढिरहँदा कुनै विदेशी संगीतमा नेपाली शब्द भरेको जस्तो छुट्टै स्वाद आउँछ। विनोदविक्रम केसी, मनोज दाहाल, श्याम साह, अमर न्यौपाने, कुमार नगरकोटी, लेनिन बन्जाडे, नवीन विभास, राजु स्याङ्तान, उमा सुवेदी, ऋचा भट्टराई, सुबिन भट्टराईहरूका कथाहरूले पनि प्रेममा थप पेगको सन्तुष्टि दिनेछन्।

साहित्यको चिन्ता गर्नेहरू भन्छन्— नेपाली कथा यति बेला संकटमा छ। तर, समाज-जीवनको अस्तित्व रहिन्जेल कथा लेखिई नै रहन्छ।भलै फरकफरक प्रयोग र ढाँचाका रूपमा किन नआऊन् !

सामाजिक यथार्थमात्र होइन, स्वैरकल्पनाको उडानमै पनि कथा रम्न सक्छ तर त्यसले आफ्नो प्राण छाडेको हुनुहुन्न। नेपाली साहित्यमा सक्रिय समकालीन कथाकारहरूको प्रतिनिधि संकलन 'पफ्र्युम'ले अहिले लेखिँदै आएका कथाको झल्को दिएको छ। यसैले भन्न सकिन्छ, चौबीस कथाकारको फरक कलमले निर्माण भएको यो किताब समकालीन प्रेमकथा लेखनको ऐना हो।

विधा: कथा
सम्पादक: राजकुमार बानियाँ÷दीपक सापकोटा
प्रकाशक : इन्डिगो इन्क
पृष्ठ : २६५
मूल्य : ३९९ रुपैयाँ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.