सहकर्मीसँग झगडापछि ट्रेनिङ छाडे नेमारले
मियामी : आफ्नै सहकर्मीसँग झगडा गरेपछि बार्सिलोनाका ब्राजिली स्ट्राइकर नेमारले क्लबको शुक्रबारको नियमित अभ्यास नै छाडेका छन् । यससँगै पछिल्लो समय चलेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जाने उनको चर्चा अझ चुलिएको छ । सहकर्मीसँगको झगडालाई युरोपेली मिडियाहरूले नेमारको पीएसजीसँगको अनुबन्धसँग जोडेर हेरेका छन् ।
नयाँ सिजनको तयारीका लागि हाल अमेरिका भ्रमणमा रहेको बार्सिलोनाको टोली मियामीमा नियमित अभ्यास गर्दै थियो । अभ्यासकै क्रममा उनी आफ्नै टोलीका रक्षक नेल्सन सेमेडोसँग जुध्न पुगे । हावामा रहेको बल हेडिङका लागि उनीहरू दुवैजना उफ्रिएका थिए, त्यतिबेला उनीहरू दुवैको शरीरले एकअर्कालाई धकेलेको थियो । त्यस प्रयासमा नेमारले गोल गरेका थिए । लगत्तै नेमार रक्षक सेमेडोतर्फ फर्किएर रिसाए । नेमारले सेमेदोलाई भने, ‘के गरेको ? ’
सेमेदो जवाफ नफर्काउँदै त्यहाँबाट अन्तै मोडिए । यद्यपि नेमार उनीतर्फ अघि बढ्दै थप गाली गर्न लागे । नजिकै रहेका अर्का सहकर्मी सर्जियो बस्कुइट्सले नेमारलाई सम्हालेपछि मात्रै झगडा साम्य भएको थियो । बस्कुइट्सले नेमारलाई झगडा गर्नबाट रोके पनि मैदानबाट बाहिरिन भने रोक्न सकेनन् । नेमार अभ्यास छाडेर मैदानबाट बाहिरिए ।
उनीहरूको झगडा सामाजिक सञ्जाल र स्काई स्पोटर््सबाट प्रसारित भएपछि भाइरल बनेको छ । युरोपेली मिडियाहरूले नेमार पीएसजी जाने लगभग पक्का भएको संकेत गरेका छन् । पीएसजीले नेमारका लागि एक सय ९५ मिलियन पाउन्डको विश्व कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । जुन प्रस्तावमा बार्सिलोनाले समेत लगभग स्वीकृति जनाइसकेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्ताेमेऊले हालैको एक अन्तर्वार्तामा बार्सिलोनासँग नेमारलाई रोक्न सक्ने क्षमता नभएको बताएका थिए ।
कतारी मालिकको नेतृत्वमा रहेको पीएसजीले पछिल्लो लामो समयदेखि नेमारलाई भित्र्याउने लक्ष्य बनाउँदै आइरहेको छ । शुक्रबार पत्रपत्रिकामा आएका केही समाचारहरूका अनुसार पीएसजीसँगको नेमारको अनुबन्ध लगभग पक्का भइसकेको छ । त्यसका लागि पीएसजीले नेमार नाम र नम्बर लेखिएको जर्सी बनाउन सुरु गरिसकेको छ । कतारी फुटबल संघले समेत नेमार र पीएसजीबीचको अनुबन्ध भइसकेको जनाएको छ ।