'देउता'ले गर्न नसकेको न्याय (फोटो फिचर)
असार २७ गते अन्नपूर्ण पोस्ट्को अनलाइन संस्करणमा 'अपडेट' भएको एउटा समाचारले मन भरंग भयो। समाचारको शीर्षक थियो 'सर्पले टोकेर छाउगोठमा युवतीको मृत्यु'।
अर्कोदिन अन्नपूर्ण पोस्ट्कै छापा संस्करणमा मुख्य समाचार त्यही शीर्षक थियो। त्यसको केही घन्टापछि दाङका पत्रकार नरेन्द्र केसीले एउटा फेसबुक स्टाटस लेखे 'दैलेखमा अझै तीन सयभन्दा बढी छाउगोठ।' मन अझैं उद्देलित भइरहेको थियो। घटना असार २६ गते रातिको थियो।
लगत्तै नेपालगन्ज ब्युरोबाट सम्पादकीय विभागलाई एउटा प्रस्ताव इमेल गरेँ, छाउपडीको कुसंस्कारलाई अन्त्य गर्नका लागि सरकारलाई दबाब दिनुप¥यो र त्यसका लागि दैलेखमै पुगेर फिल्ड रिपोर्टिङ गर्नुपर्यो। डेपुटी सम्पादक मनोज दाहालले तुरुन्तै अनुमति पठाउनुभयो।
सम्पादक युवराज घिमिरेले पनि तुरुन्तै भन्नुभयो 'ल भोलि नै दैलेख पुग्नु।' सुर्खेतका सहकर्मी ललितबहादुर बुढासँगको सल्लाहपछि सोही दिन नै म त्यहाँ पुगे। समस्या दैलेखको मात्रै थिएन। सुर्खेतका केही 'छाउपडी'ले भरिएका गाउँ छिचोल्दै हामी दैलेख पुग्यौं।
दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका लैनचौर पुग्दा असारे झरी बर्सिँदै थियो। सिमसिमाइरहेको असारे वर्षात्ले घरका भित्ताहरू रसिला थिए। माथि कौसीमा देखिएकी एउटी जिंग्रिंग परेकी 'आमा'का आँखा त्योभन्दा पनि भरिला थिए। त्यो त्यही घर थियो जहाँ नौ दिनअघि 'छाउ बार्न' गोठ बसेकी २३ वर्षीया तुल्सी शाहीलाई एउटा विषालु सर्पले आफ्नो विष छोडेको थियो। माध्यम एउटा सर्प थियो तर तुल्सीको जिन्दगीमा 'छाउ'को कुसंस्कार विषाक्त बनेको थियो।असारको अन्तिम झरी निरन्तर थियो। त्यसको छिटाले आँगनमाथिको वर्षाती फटफटाइरहेको थियो। स्थानीय विद्यालयका प्रधानाध्यापक धर्मराज योगीसँगै केही गाउँलेलाई लिएर हामी त्यो घरको आँगनमा टेक्दै गर्दा 'कुना' बसेकी तुल्सीकी आमाले मुन्टो तानेर बाहिर हेरिन्। 'मानो' मिसाउन केही गाउँलेहरू पनि त्यो घरतिर सोझिँदै थिए।
'पाखा सरेकी' छोरीलाई गोठमै गुमाएकी उनकी आमा छोरीको किरिया बसेकी थिइन्। ती तिनै आमा हुन् देर्जुकुमारी शाही जो अहिलेसम्म पनि छाउ बारिरहेकी छिन्। १२ वर्षको उमेरमा पहिलोपटक 'रजस्वला' हुँदा उनी पनि गोठमै सुताइएकी थिइन्।
पहिलोपटक अचानक रगताम्मे भएकी उनलाई त्यो बेला डर लागिरहेको थियो, के भयो ? घरका दिदीबहिनीलाई भनेपछि उनलाई पनि गोठमा सुताइयो। त्यो बेलादेखि अहिलेसम्म उनी हरेक महिना गोठमै सुत्छिन्। पाँच दशकको उकालो चढिरहेकी उनलाई हेक्का छैन कतिपटक गोठमा सुतिन् तर अहिलेसम्म हरेक महिना त्यो क्रम दोहोरिइरहन्छ। छोरी तुल्सीको मृत्युपछि उनी अवाक् छिन्।
आँगनमा 'कालो चियो'ले हामीलाई स्वागत गर्न उभिएका थिए तुल्सीका दाइ प्रेमबहादुर शाही जसको अनुहारभरि बहिनी गुमाउनुको पीडा भरिएको थियो। कुराकानीकै क्रममा उनको अनुहारमा 'छाउ' प्रथाप्रतिको आक्रोश पनि उस्तै देखियो। अनिसँगै 'समाज'को डरले उनको बोली थर्थराइरहेको थियो।
रजस्वला महिलाले पाएको प्रकृतिको उपहार हो जसले सृष्टिलाई निरन्तरता दिन्छ। तर, कृष्णकला विकहरू बाँचेको समाजले त्यसलाई 'पाप' ठान्छ। र, बाध्य बनाउँछ 'छाउगोठ'मा बस्न जहाँ केवल भय छ, मृत्युको कालो छाया छ र छ मानवता अनुपस्थित सन्नाटा।
उनकी बहिनीमात्रै होइन त्यो गाउँमा धेरै महिलाले रजस्वला हुनुको 'सजाय' गोठमा भोग्दाभोग्दै ज्यान गुमाइसकेका छन्। त्यसको एक महिनाअघिमात्रै त्यही गाउँकी अर्की एकजना किशोरी लालसरा विकले छाउगोठमै आफ्नो जिन्दगी बिसाएकी थिइन्। पहिलोपटक रजस्वला भएर छाउगोठमा सुताइएकी १४ वर्षीया विकको जिन्दगी जेठ ८ गते सर्पको विषले निमोठिदिएको थियो।
छाउगोठमै बहिनी गुमाएका प्रेमसँग बहिनी गुमाउनुको पीडा त छँदै थियो, आक्रोशित पनि उस्तै थिए। आक्रोशमा उनले हामीसँग भने, 'मान्छेको ज्यान मास्ने यस्तो संस्कार राम्रो होइन।' उत्तिखेरै उनी समाजको डरले फत्रक्कै हुन्थे अनि रुन्चे स्वरमा भन्थे 'हाम्लेमात्रै नमानेर के गर्नु, हाम्ले छाउ नबार्दा अरूले मान्दैनन्, छाउ नबार्नेहरूका सन्तान भनेर हामीलाई यही गाउँका मान्छेले भित्र पस्न दिँदैनन्।'
जतिसुकै पीडा भोगे पनि यो ठाउँका मानिस यो कुसंस्कारबाट बाहिर निस्कन नसक्नुको एउटामात्रै कारण त्यही सामाजिक बहिष्कारको डर हो। त्यही डरले यो प्रथाको जरा फैलाउन सहयोग गरिरहेको छ।
तीन दिनसम्म दैलेखका विभिन्न गाउँबस्तीको घुमाइ अनि त्यहाँका मानिसको कुराकानीबाट हामी प्रस्ट भयौं, यो संस्कार हटाउन त्यत्ति सजिलो छैन। हुन त गैरसरकारी संस्थाहरूले छाउप्रथाको नाममा करोडौं खर्च गरिरहेका छन्। यो संस्कार हटाउन उनीहरूले गाउँमा धेरै कार्यक्रम गरिसकेका छन्। प्रहरी लगाएर छाउगोठहरू नभत्काइएको पनि कहाँ हो र ?
केही 'इन्डिकेटरहरू'मा हरियो बत्ती बालेर यी एनजीओहरूले धूमधामसहित छाउप्रथा अन्त्यको घोषणा पनि गरेका हुन्। केही गोठहरू भत्किए, केही पैसाको खोला पनि बग्यो। गाउँमा शुभसंकेतका बाजागाजाहरू रन्किए। अनि एनजीओहरू फर्किए।
गाउँहरूमा 'छाउगोठ'हरू त भत्किए तर, गाउँलेहरूमा मनमा खडा भएको त्यो कुसंस्कारको गोठ भने भत्किएको थिएन। परिणाम पाखाका गोठ भत्किए र ती 'छाउगोठ' तल्लोतलामा बनाइएका गाईभैंसीका 'भकारा'मा सरे। त्यसैका सिकार हुन् तुल्सी र लालसराहरू।
०००
न ढोका छ, न छन् राम्रोसँग बारिएका भित्ताहरू। वर्षात्को पानी छेक्न माथिबाट केवल टिनको पाताले छोपिएको छ। वरिपरि पुराना बोराहरू झुन्ड्याएर भित्ता बनाइएको छ। ती भित्तारूपी बोराहरू न हावा छेक्छन्, न पानी। खोलाको किनारमा रहेको यही छाउगोठमा एउटा मलिन किशोरीको अनुहार हामीले बाटोबाटै देख्यौं। उनी थिइन्, १४ वर्षीया कृष्णकला विक।
मलिन अनुहार, त्रसित मानसिकता र पीडाले थलिएको अवस्थामा छाउगोठमा भेटिएकी कृष्णकलाले भन्दै थिइन् 'मैले के अपराध गरेँ र यो सजाय भोग्दैछु ? छाउगोठमा सुत्न डर लाग्छ, तर घरभित्र सुत्नै दिँदैनन्।'
चिसो भुइँमा ओछ्याइएको बोरामाथि रात कटाउँदै आएकी उनले भनिन् 'मर्न त डर लाग्छ नि, अरू केही हुने पो हो कि ? ' क्यामेराका लेन्स तेस्र्याउनै लाग्दा केही तर्सिएकी उनी पछि भने अलि सहज भइन्। उनी 'पाखा सरेको' तेस्रो दिनमा हामी त्यही छाउगोठ अगाडि पाइला टेकेका थियौं। अहिलेसम्म चारवटा रजस्वला उनले त्यही छाउगोठमै बिताइसकेकी छिन्।
१० कक्षामा अध्ययनरत कृष्णकलालाई थाहा छ, रजस्वला शारीरिक प्रक्रियामात्र हो। विश्वभरकै उमेर पुगेका महिला हरेक महिना रजस्वलाबाट गुज्रिन्छन्। यो महिला हुनुको परिचायक पनि हो। रजस्वला महिलाले पाएको प्रकृतिको उपहार हो जसले सृष्टिलाई निरन्तरता दिन्छ। तर, कृष्णकला विकहरू बाँचेको समाजले त्यसलाई 'पाप' ठान्छ। र, बाध्य बनाउँछ 'छाउगोठ'मा बस्न जहाँ केवल भय छ, मृत्युको कालो छाया छ र छ मानवता अनुपस्थित सन्नाटा।
महिनावारी भएको दोस्रो रात उनलाई छाउगोठमै कीराले टोकेपछि परिवारमा रुवावासी नै चल्यो। सर्पले टोकेको ठानेर आफन्तले उपचारका लागि हारगुहार नै गरे। पछिमात्र थाहा भयो, उनलाई अर्कै कीराले टोकेको रहेछ। 'म त यसपालि भाग्यले बाँचे, सर्पले टोकेको भए जीवन नै सकिने थियो' कृष्णकला भन्दै थिइन्, 'घरभित्र सुत्दा देउता बिग्रिन्छन् रे, गाई भैंसीले पनि दूध दिँदैन भन्छन्। आमाबालाई मभन्दा भैंसी प्यारो भयो, पाप गरेजस्तै सजाय दिएको छ, छाउ भएँ त पाप गर्या हो र ? '
०००
दैलेखका यी ताजा उदाहरणमात्रै हुन्। मध्यपश्चिमकै दैलेख, सुर्खेत, जाजरकोटलगायतका जिल्लामा यो कुसंस्कारका जराहरू धेरै गहिरो गरी गाडिएका छन्। यहाँ छाउप्रथा हटाउन पहल नभएका होइनन् तर पनि मानिसको सोंचबाट यो कुसंस्कार हट्न सकेको छैन।
छाउपडी प्रथा अन्त्यका लागि अछामलगायत केही जिल्लाहरूमा 'सेभ द चिल्ड्रेन'ले लगातार पाँच वर्षसम्म कार्यक्रमहरू गरेको थियो। त्यो बेला छाउगोठहरू भत्काउनेलगायत थुप्रै जनचेतनाका काम भएका थिए। त्यसका लागि करोडौं लगानीसमेत भयो। तर, मानिसको सोंचमा परिवर्तन आउन सकेन। समस्या ज्यूँ का त्यूँ छ।
त्यो पाँच वर्षको बीचमा गैरसरकारी संस्था तथा सरकारी निकायलगायतले पाँच करोडभन्दा बढी यही मुद्दामा पैसा लगाएका छन्। निकै तामझामका साथ त्यो बेलामा छाउमुक्त गाउँहरू पनि घोषणा भए। सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिलबहादुर ऐरका अनुसार अछाम, डोटी, बाजुरा, बझाङलगायत जिल्लाका करिब ४० गाविस छाउमुक्त घोषणा भएका थिए। गोठहरू भत्किए पनि छाउप्रथा हट्न सकेन।
'सेभ द चिल्ड्रेन'ले आफ्ना सबै रणनीतिक कार्यक्रम त्यहाँस्थित महिला तथा बालबालिका कार्यालयलाई हस्तान्तरण गर्यो। तर, अहिलेसम्म पनि सरकारी स्तरबाट त्यहाँको वास्तविक अवस्था आउन सकेको छैन। महिला बालबालिका कार्यालय अछामका कार्यालय प्रमुख भगवती अर्याल भन्छिन्, 'समस्या त उस्तै छ। सरकारी तर्फबाट छाउ विशेषै भनेर बजेट वा कार्यक्रम नभए पनि हामीले अरू कार्यक्रममा छाउको विषय जोडेर जनचेतना जगाउने काम गरिरहेका छौं।'
यो संस्कारप्रतिको आम मानिसको चेतना भने जहाँको त्यहीँ छ। अहिले कुनै पनि सरकारी कार्यालय तथा अन्य गैरसरकारी संघसंस्थाहरूले छाउपडी प्रथा हटाउनका लागि कार्यक्रमहरू चलाएका छैनन्। सेभ द चिल्डे«नले पनि दुई वर्षअघि कार्यक्रम सकेर फर्किसकेको छ। गोठ भत्काउने, छलफल गर्ने, घरदैलो जस्ता कार्यक्रमबाहेक छाउको संस्कार हटाउन र त्यसको सोचमा परिवर्तन गर्ने खालका कुनै पनि प्रभावकारी कार्यक्रमहरू हुन सकेनन्।
'यहाँका मानिसमा बसिरहेको देउता नै सबैभन्दा ठूलो समस्याको जरो हो' महिला बालबालिका कार्यालयका प्रमुख अर्याल भन्छिन्, 'छाउ नबार्दा देउता रिसाउँछन् र घरपरिवारमा नराम्रो हुन्छ भन्ने सोंचबाट मानिसलाई बाहिर निकाल्न निकै गाह्रो छ।'
२०५७ सालदेखि अहिलेसम्मको आँकडाअनुसार अछाममा मात्रै १२ जना महिलाको छाउगोठमै मृत्यु भएको छ भने कैयौं गम्भीर बिरामी भएका छन्। तर, धेरैजसो मृत्युका घटनालाई अहिले मानिसहरू छाउगोठसँग जोड्न चाहँदैनन्। धेरै घटना बाहिर नै आउँदैनन्। मानिसहरू घरपरिवारमा जुनसुकै दुर्घटना हुँदा पनि छाउपडीलाई नै जोड्छन्।
छाउ नबारेका कारण घरमा नराम्रो भएको उनीहरूको सोंचले निकै जरा गाडिसकेको छ। 'गाउँमा गाईभैंसीले दूध दिन छोडे रे, पानीका मूल सुके रे, देउता रिसाए रे' अछाम जनालीकोटकी कोपिला साउद भन्छिन्, 'पहिला कार्यक्रमहरू थिए र गोठ भत्काएर घरमै बस्न थालेको सकिएन, देउता रिसाएर अहिले त सबै फेरि गोठमै बस्न थाल्या छौं।'
आम भाषामा महिलालाई हुने 'महिनावारी' वा रजस्वला नै पश्चिम नेपालको भाषामा 'छाउ' हो। खासगरी सुदूरपश्चिममा यो भाषा अझै प्रचलित छ। पश्चिम नेपाली समाजमा यो महिनावारी (छाउ) एक प्रकारको 'पाप' बनेको छ। अनि यस्तो बेलामा 'छाइछुई' अर्थात् 'चोखा' चिजहरू छँदा उनीहरूका 'मस्टो' अर्थात् 'देउता' रिसाउँछन् भन्ने अन्धविश्वासले गहिरो जरा हालेको छ।
त्यसैले हरेक महिनाको मासिकस्राबभरि महिलाहरू छुट्टै गोठमा बस्नुपर्छ। अर्थात् रजस्वला भएबापत उनीहरूले सजाय भोग्नुपर्छ। जसले गर्दा कैयौं महिलाको ज्यानसमेत गइसकेको छ। तर, पनि सरकार चुप छ। समाजकै कलंक मानिएको सतीप्रथा राणा शासनकालमै अन्त्य भइसकेको छ। त्यस्तै हलिया प्रथा हट्यो। कमैया, कम्लहरी प्रथाहरूलाई सरकारले अपराधै मानेर त्यसको अन्त्यको घोषणा गरिसक्यो तर, कैयौं महिलाको ज्यान खाइसकेको 'छाउ' प्रथामा राज्यको आँखासम्म पनि परेको छैन।
तस्बिर: गजेन्द्र बोहोरा