'उपचार होइन गोर्खाल्याण्ड देऊ'
दार्जिलिङः : पश्चिम बंगाल सरकार अन्तरगतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङमा गोर्खाल्याण्डको माग राखी नौ दिनदेखि आमरण अनशनमा बसेका युवाहरुले उपचारको साटो गोर्खाल्याण्ड दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
गोर्खाल्याण्डका लागि अनशन बसेका युवाहरुलाई उपचार सेवा गर्न पुगेका जिल्ला प्रशासनका अधिकारीहरुलाई उपचारको साटो गोर्खाल्याण्ड दिन अनुरोध गरेका हुन् । कालेबुङमा अनशनरत स्टमेट रोड निवासी ४२ वर्षीय अजित रोकाको अवस्था चिन्ताजनक बनेपछि त्यहाँ पुगेका सरकारका प्रतिनिधिलाई उनीहरुले अनशन पनि नतोड्ने र उपचार पनि नलिने बताएका छन् ।
कालेबुङ अस्पतालका डाक्टर एसएन दासले रोकाको अवस्था चिन्ताजनक रहेको र जुनसुकै समयमा जे पनि हुन सक्ने बताएका छन् । गोर्खा जनमुक्ति मोर्चाको विद्यार्थी संगठनका प्रवक्ता सन्दीप क्षेत्रीले दार्जिलिङ, कालेबुङ, मिरिक र खर्साङमा अनशन बसेको १२ जना युवाको स्वास्थ अवस्था नाजुक बनेको, शरीरमा पानीको मात्रा सकिँदै गएको बताएका छन् । उनका अनुसार डाक्टरले उपचार सेवा लिन आग्रह गरेपनि अनशनकारीले ज्यानको आहूती दिने तर गोर्खाल्याण्ड नआएसम्म अनशन नतोड्ने बताएका छन् ।
दार्जिलिङमा नोरजेन डुक्पा, अमित सुब्बा र राकेश क्षेत्री, कालेबुङमा राजु विश्वकर्मा, सागर दियाली र अजित रोक्का, मिरिकमा कुशल खनाल, कञ्चन क्षेत्री र धन प्रसाद शुब्बा र खर्साङमा अनोज थापा, नरेन खवास र श्रेय राई अनशन बसेका छन् ।
‘अहिले अनशनमा बसेका युवाहरुको अवस्था चिन्ताजनक भएको छ , उनीहरुलाई बोल्नसमेत समस्या भएको छ ।’ मोर्चा नेतृ शर्माले बताइन् । बंगाल सरकारले अनशनरत युवाको अनशन जबरजस्ती तोडाउन प्रयाश गरिरहेको मोर्चाले आरोप लगाएको छ ।
दार्जिलिङका जिल्लापाल जोयशी दासगुप्ताले अनशन तोडाउने नदिनेलाई कानुनी कारवाही गर्ने सूचना निकालेकी छन् । उनले अनशन तोडाउन अवरोध गर्ने विरुद्ध भारतीय ऐन अनुसार हत्याको मुद्धा चलाउने समेत चेतावनी दिएकी छन् ।
अनशनकारीले भने गोर्खाल्याण्डको विषयमा केन्द्र सरकारले ठोस पहल नगरेसम्म अनशन नतोड्ने अडान राखेका छन् ।