लोप हुँदै भरिया पेसा
भोजपुर : भोजपुरमा सडक सञ्जाल जोडिएको १० वर्ष भयो । त्यो बेलासम्म यहाँका मानिस भारी बोकेर सामान ओसारपसार गर्थे । कतिपय बिकट भेगका मानिसका लागि भारी बोक्ने मुख्य पेसा थियो । सदरमुकाम आसपासबाट सामान गाउँसम्म लैजानेमात्र नभएर जिल्लाको एक मात्र विमानस्थलबाट साढे आठ किलोमिटरमाथि पर्ने सदरमुकाम र टाढाटाढाका विभिन्न गाउँबस्तीसम्म भरिया, खच्चर लगाएरै सामान ओसारप्रसार हुन्थ्यो । सामान पुग्न कैयौं दिन लाग्थ्यो ।
तर, अहिले मध्यपहाडि लोकमार्गसँगै खुलेको ट्र्याक सडक सञ्जालले यी सबै दुविधा हटेर गएको छ । पहिलेजस्तो हप्तौं, महिनौं लगाएर सामान ढुवानी गर्नुपर्ने सास्ती हटेर गएको छ । जिल्लाका अधिकांश भेगमा कृषि तथा ग्रामीण सडक पुगेकाले सजिलै सामान ढुवानी गर्न सकिन्छ ।
तर दक्षिणी हतुवागढी गाउँपालिका-१, रानीबासका ५० वर्षीय काजीमान राईले डोको, नाम्लो, खकन र तक्मा बिसाएको सात वर्ष भयो । तराईसँग सडकको पहुँच नपुगुन्जेलसम्म साहुको भारी बोकेर जीविका चलाए । त्योबेला उनी तराईदेखि पहाड, पहाडदेखि हिमालसम्म सामान पिठ्युमा बोकेर सात जनाको परिवार धानेका थिए । उनले सुनसरीको चतरादेखि घोडेटारबजार, सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका कुनाकाप्चामा भारी बोकेर पुर्याउने गरेका थिए ।
अक्करको भीर, सप्तकोसीको तीर, अरुण नदीको गड्तीर हुँदै चामल, नुन, तेल, चिउराजस्ता खाद्यान्न र लत्ताकपडाको भारी बोकेर गाउँबस्तीका साहुकहाँ पुर्याउथे । भारी बोकेर पाएको ज्यालाले पाँच स-साना बच्चाबच्ची र पत्नीलाई एकछाक टार्न र एकसरो लाउन पुर्याउथे । उमेरमा हट्टाकट्टा बलिया राई साहुको सामान बोकेर सुनसरीको चतरामा पुग्थे । त्यसबेला पहाडको फेदीको चतरा बजार गुल्जार थियो । हिडेकै दिन पुगेर चतराको साहुलाई सामान बुझाउथे उनले । सामान जिम्मा लगाएर सय केजीको भारी कसेर भोलिपल्ट बिहानै पहाड उक्लन्थे । चौथोे दिन बिहान खानाखाने गरी घोडेटार बजारमा सामान ल्याइ पुर्याउथे ।
सात वर्षको सानो उमेरदेखि नै भारी बोक्न थालेका उनका लागि घोडेटारदेखि चतरासम्मको ११ कोष यात्रा दैनिकी थियो । घोडेटारबजारमा रहेको खाद्य गोदाममा चामलको अधिकांश माग धान्ने उनी नै थिए । उनले बोकेको चामलले बजारको माग धान्ने गरेकाले उनलाई सबैले 'गोदामे’ उपनामले पनि चिन्छन् । उनले भारी नबोकेको साहुको कुनै पसल थिएनन् । न त पुस माघको कठ्यांग्रिने जाडो भन्थे । न त जेठ, असारको तरतरी पसिना चुहाउने प्रचण्ड गर्मी ।
स-साना लालाबालालाई पत्नीको जिम्मा लगाएर महिनौंसम्म भारी बोक्न कोषौं टाढा पुग्नुपथ्र्यो । भारी बोकेकाले थाप्लोको कपाल खुइलिएको छ । सानैमा बाबुआमा गुमाएर टुहुरो बन्नुभएका उनले भरिया जीवनमै ४० वर्ष कटाउनुभयो । उनले पत्नी, ठूली, माइली छोरीलाई पनि भारी बोक्न तराई झर्थे । गाउँमा काम नपाएर भोकतिर्खासँग पौठेबाजी गरिरहेका युवालाई समेत भारी बोक्नका लागि डोर्याएका थिए ।
समयको परिवर्तन र सडक विकासले फड्को मारेसँगै भरियाको दैनिकी फेरिएको छ । १० वर्षयता उनीहरूले पेसा परिवर्तन गरेका छन्।
तर उनी अचेल गाउँमै ज्यालादारी काम गर्छन् । गाउँबस्तीमा सडकको पहँच पुगेपछि उनले भरिया पेसा परिवर्तन गरेर जीविका चलाउन थालेका छन् । उ बेला यातायातको माध्यम पैदल थियो । सामान ओसारपसार गर्ने भरपर्दो माध्यम भरिया हुन्थे । केही ठाउँमा खच्चड प्रयोग गरिन्थे । सबै भूगोलमा खच्चड सम्भव हुदैनथ्यो । भारी बोक्ने मान्छेको निकै खोजी हुन्थ्यो । 'भारी नबोकी खान पाइँदैनथ्यो, बजार पसलमा सामान किन्नबेच गर्न सकिँदैनथ्यो, साहुजीले भरिया खोज्थे, भारी बोक्न जति पनि पाइन्थ्यो’ काजीमानले विगतलाई सम्झँदै भने, 'अचेल भारी बोक्छुभन्दा पाइँदैन, कसैले पत्याउलान जस्तो पनि लाग्दैन, सबैतिर गाडी र ट्र्याक्टरले ओसार्छन् ।’
समयको परिवर्तन र सडक विकासले फड्को मारेसँगै भरियाको दैनिकी फेरिएको छ । १० वर्षयता भोजपुरमा मध्यपहाडि राजमार्ग जोडिएर गाउँगाउँ सडक सञ्जाल जोडिएपछि भरियाले पेसा परिवर्तन गरेका छन् । 'समय अनुसार चल्नै परेको छ, भारी बोक्न पाइएन भनेर एकठाउँ बसेर खान पाइँदैन, जसरी भए पनि पेट पाल्नै पर्यो, दुःखजिलो गर्नै पर्यो’, काजीमान जस्तै भरिया जीवन व्यतित गरेकी दक्षिणी रामप्रसाद राई गाउँपालिका- ६, बैकुण्ठेकी ४२ वर्षीय मेनुका रम्तेलले बताए ।
रम्तेलले बैकुण्ठे आसपास, सदरमुकामबजार, धनकुटाको फलाटेमा भारी बोकेर घरपरिवारको जीविका धानेका थिए । ६४ वर्षीय अपांग पति पूर्ण रम्तेल, एक छोरा र तीन छोरीलाई भारी बोकेर कमाएको ज्यालाले हुर्काइबढाइ गरेको उनी बताउँछन् । भरियाको पेसा पाउन छाडेकाले खेतीकिसानी र बनिबुतो गरेर घरव्यवहार धान्दै आएको मेनुकाले बताए ।
त्यसबेलाका सबैजसो भरिया अहिले वृद्धाअवस्थामा छन् । उनीहरूले खेतीकिसानीलाई निरन्तरता दिएका छन् । कोही भारतको सिलाङमा कोइला काट्न जान्छन् त बेरोजगार युवा विदेश पलायन भएका छन् । सडकले सहज भए पनि अर्काको भारी बोकेर जीवन काट्नेका लागि बाँच्ने आधारशीला सकिएको छ । जीवनमा भारी बोक्नेबाहेक काम नजानेकाको जीन्दगी विजोग छ । डोको, नाम्लो, खकन र तक्मा बेकामे बनेका छन् । तिनैको साहारामा जीवन धानेकाका लागि समय अनुकूल पर्याप्त रोजगार छैन ।