श्रीखण्डको व्यावसायिक उत्पादन सुरू
डडेल्धुरा : डडेल्धुरामा बहुमूल्य जडीबुटी श्रीखण्डको व्यावसायिक उत्पादन सुरु गरिएको छ । नर्सरी स्थापना गरी उत्पादन गरिएका श्रीखण्डका बिरुवाको बिक्रीवितरण पछिल्लो समय फस्टाएको छ ।भागेश्वर गाउँपालिका-४ का खेमराज जोशीले नर्सरी स्थापना गरी श्रीखण्डका बिरुवा बिक्री गरिरहेका छन् ।
आफ्नो जीवन निर्वाह गर्न कृषि पेसा गर्दै आएका जोशीले स्वदेशमै रोजगारी सिर्जना गर्न र केही नयाँपन दिन यो पेसा रोजेको बताए । प्रतिबोट तीन सय रुपैयाँका दरले बिक्रीवितरण सुरु गरेका उनले अहिले आफ्नै नर्सरीमा श्रीखण्डका पाँच सय बिरुवा उमारेका छन् । गत फागुन महिनामा थापेको नर्सरीबाट बेर्ना उत्पादन गरी एक वर्ष पुगेपछि मात्रै बिक्रीवितरण थालेको जोशीको भनाइ छ ।
श्रीखण्डको बिरुवा हुर्काउन एक वर्षको समय लाग्ने भएकाले विगत केही वर्षदेखि बिरुवा उत्पादनमा केन्द्रित भएको उनले बताए । जोशीका अनुसार एउटा रुख तयार हुन १०-१५ वर्ष लाग्ने र प्रतिरुखबाट तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
बाँझो जमिनलाई हराभरा बनाउन र आर्थिक तवरबाट सबल बन्न सुदूरपश्चिमलाई श्रीखण्डमय बनाउने अभियानमा जुटेका जोशीको भनाइ छ । यो अभियानमा स्थानीय भद्रपुरका उज्ज्वलदत्त पनेरुसमेत सक्रिय छन् । धार्मिक पूजा र चन्दनका रूपमा मात्र नभई श्रीखण्ड औषधिको रूपमा प्रयोग गरिनाले आम्दानी राम्रो हुने देखिन्छ ।
पछिल्लो समय डडेल्धुराका अधिकांशले यसको महत्व बुझेपछि श्रीखण्डका बोट रोप्न थालेका छन् । भागेशवर गाउँपालिका मात्र नभई अन्य गाउँपालिकामा समेत श्रीखण्डका बिरुवा लगेर बाँझो जमिनमा लगाउन थालेको स्थानीयको भनाइ छ ।यसबाट जमिन पनि हराभरा हुने, आर्थिक पाटो पनि मजबुत बन्ने भएकाले कतिपय व्यावसायिक रूपमै यसको उत्पादनतर्फ लागेको स्थानीय राजेश्वरी भट्टले जानकारी दिइन् ।
यसबाट हस्त तथा सिल्पकला निर्माण, औद्योगिक बस्तु, सौन्दर्य सामग्री बनाउन प्रयोग गरिन्छ ।
पानीमा मिसाएर श्रीखण्ड खाएमा टाउको दुखेको, ज्वरो आएको, शरीर सुन्निएको, छाला चिलाएको, लुतो, पिसाब पोल्ने, रगत बढी बग्ने, स्मरणशक्ति कमजोर भएको, पागलपन, छारे, मुटुरोग, कुष्ठरोगका बिरामीलाई लाभदायक हुने आयुर्वेद चिकित्सक बताउँछन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमाश्रीखण्डको माग दिन-प्रतिदिन बढ्दै गएको छ । घरआँगनमा खाली रहेको सानो ठाउँमा शितलताका लागि मात्रै एक-दुई बोट लगाउन सके त्यसबाट पनि लाखौं आम्दानी गर्न सकिन्छ ।