बेस्ट प्लेयरको फ्ल्यासब्याक
नेपाली खेलकुद क्षेत्र व्यावसायिक बन्न सकेको छैन। खेल क्षेत्रमै लागेर गुजारा चलाउन सक्ने अवस्था अझैसम्म आएको छैन। त्यही कारण खेल क्षेत्रमा लाग्ने जोकोहीले पनि सुरुमा परिवारको साथ र सहयोग पाउँदैनन्।
सोनी खड्का (२०) को हकमा पनि यही कुरा लागू हुन्छ। घरपरिवारबाट सहयोग नहुँदा पनि उनले तेक्वान्दो खेल्न थालिन्। आफूले हन्डर खाएर पनि उनले खेललाई अगाडि बढाइन्। पढाइमा तेज सोनी खेलकुदमा पनि अब्बल बनिन्। दुवै क्षेत्रमा सफलता हासिल गरेपछि मात्र उनले घरपरिवारको सपोर्ट पाइन्। परिवारको साथ र सहयोग पाएपछि उनले खेलकुद र पढाइलाई सँगसँगै अगाडि बढाइन्।
भक्तपुर बालकोटकी सोनीले कक्षा ६ मा पढ्दै गर्दा तेक्वान्दो (आईटीएफ) खेल्न थालिन्। उनी पढ्ने बालकोट इङ्लिस स्कुलमा शेखर थापा आईटीएफ तेक्वान्दो सिकाउँथे। सोनी पनि परिवारको स्वीकृतिबिनै तेक्वान्दो खेल्न थालिन्। स्कुलमा मार्सल आर्टस्को आईटीएफ तेक्वान्दो मात्रै सिकाउने भएकाले आफूले त्यही रोजेको सोनी बताउँछिन्।
उनले मार्सल आर्टस् रोज्नुमा पनि विशेष कारण छ। सानो कदकी सोनीलाई आफ्नै सहपाठीले जिस्क्याउने र हेप्ने गरेपछि उनीहरूलाई तह लगाउनकै लागि मार्सल आर्टस् खेल्न थालेको बताइन्। साथीसँगीको हेपाइका कारण मार्सल आर्टस् खेल्ने अठोट गरेकी उनलाई त्यसलाई अगाडि बढाउन भने धेरै नै सास्ती खेप्नुपर्यो।
घरबाट भागेर ट्रेनिङ गर्न पुग्थिन्। बेलुका घर फर्कंदा बाबुआमाले केर्थे। उनले हरेक दिन बहाना बनाउनुपथ्र्यो। सधैं ढाँट्न नसक्ने भएपछि उनले आमालाई सबै कुरा बताइन्। सुरुमा गाली गरे पनि आमाले विस्तारै सहयोग गरेको सोनीले बताइन्।
आफ्नै सहपाठीहरूले जिस्क्याउने र हेप्ने गरेपछि उनीहरूलाई तह लगाउनकै लागि मार्सल आर्टस् खेल्न थालेकी हुन् सोनी खड्काले।
घरपरिवारलाई ढाँटेकै कारण उनले दुई वर्षसम्म ‘गी' लगाउन पाइनन्। उनीसँगैका साथीहरूले ‘गी' लगाएर तालिम गरे पनि उनले भने फ्रक लगाएरै दुई वर्ष तालिम गरिन्। तेक्वान्दोप्रति छोरीको लगाव देखेपछि आमा पवित्राले दुई वर्षपछि मात्रै ‘गी' किनिदिएको सोनीले बताइन्। ‘अरू साथीहरू ‘गी' लगाएर खेल्थे म भने फ्रक लगाएरै ट्रेनिङ गर्थें', सोनीले भनिन्, ‘ड्रेस लगाउन नपाउँदा नरमाइलो लागे पनि गुरुले सपोर्ट गरेकाले साथीहरूले केही भन्दैनथे।'
२०६८ सालमा एसएलसी परीक्षा दिएकी उनले ८३ प्रतिशत ल्याएर उत्तीर्ण गरिन्। बुवाआमाले खेलेर पढाइ बिग्रिन्छ भन्दै दिनहुँ गरेको कचकचलाई सोनीले एसएलसी परीक्षाबाट जवाफ दिइन्। खेलकुदका साथै पढाइप्रतिको उनको लगाव देखेर बुवाआमा पनि नतमस्तक भए। त्यसपछि उनीहरूले छोरीलाई खेलकुदमा लाग्न प्रोत्साहित गरिरहे। ‘खेलेर पढाइ बिग्रिने होइन रहेछ भन्ने कुरा उहाँहरूले बुझ्नुभयो', परिवारका सात छोरीमध्ये एक सोनीले भनिन्।
कक्षा ११ र १२ पनि प्रथम श्रेणीमा पास गरेकी सोनी अहिले स्नातक तेस्रो वर्षको परीक्षा दिएर बसेकी छन्। स्नातक पहिलो र दोस्रो वर्षको परीक्षामा राम्रो नतिजा ल्याएकी उनलाई तेस्रो वर्षको परीक्षामा पनि पास हुने विश्वास छ।
मीनभवन क्याम्पसमा व्यवस्थापन विषय अध्ययन गर्दै आएकी सोनी पढाइलाई हल्का रूपमा लिनु नहुने बताउँछिन्। ‘हामीले खेलकुदमै जीवन गुजारा गर्न सक्तैनौं। खेलकुदमै लागे पनि पढाइ नै महत्वपूर्ण मानिन्छ। सानै उमेरमा खेलकुदमा लागे पनि मैले पढाइलाई कहिल्यै पनि हल्का रूपमा लिइनँ। खेलकुदसँगै पढाइलाई पनि सँगसँगै अगाडि बढाएँ', सोनीले भनिन्।
२०६७ सालमा भक्तपुरमा आयोजित अन्तरविद्यालय तेक्वान्दो प्रतियोगितामा ४०-४५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले काता (प्याटन) र स्पाइरिङ दुवैमा स्वर्ण पदक जितिन्। प्रतियोगिताकै बेस्ट प्लेयरको उपाधि जितेकी उनले त्यसपछि पछाडि फर्कनु परेन।
त्यसपछिका हरेक प्रतियोगितामा उनले पदक जितिरहिन्।
उनले कक्षा ९ मा पढ्दै गर्दा दोस्रो दक्षिण एसियाली च्याम्पियनसिपमा प्याटनमा स्वर्ण र स्पाइरिङमा कांस्य पदक जितिन्। यस्तै गत वर्ष भारतमा भएको पाँचौं दक्षिण एसियाली च्याम्पियन्समा प्याटन र स्पाइरिङमा स्वर्ण पदक जितेकी सोनीले गत पुसमा पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदमा भने कांस्य पदकमा सीमित भइन्।
तेक्वान्दोकी दोस्रो डान सोनी बेलुका गुरु आशीष कार्कीबाट तेक्वान्दो कला सिक्छिन् भने बिहान साना भाइबहिनीलाई आफूले सिकेको कला सिकाउने गर्छिन्। आईटीएफ तेक्वान्दो जिल्ला कार्यसमिति भक्तपुरकी कोषाध्यक्षसमेत रहेकी सोनी हरेक बिहान एमिनिटी स्कुल गठ्ठाघरमा २५-३० जनालाई आफूजस्तै खेलाडी बनाउन लागिपरेकी छन्।
बिहान पाँचै बजे उठ्ने सोनी सधैं कहिले सिद्धपोखरी त कहिले पशुपतिसम्म पुग्ने गर्छिन्। गठ्ठाघरदेखि सिद्धपोखरी पुग्न २० मिनेट र पशुपति पुगेर फर्कन २५ मिनेट लाग्ने उनी बताउँछिन्।सोनीले खेल्ने गरेको आईटीएफ तेक्वान्दो अफिसियल खेल होइन। आईटीएफ अफिसियल खेल नहुँदा उनलाई दुःख लागेको छ।
'विश्व खेलकुदको महाकुम्भ ओलम्पिकदेखि एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद हुँदा डब्लूटीएफका खेलाडी ती प्रतियोगितामा खेलिरहेका हुन्छन्, म भने साथीहरूको जवाफ दिँदैमा हैरान हुन्छु। उनीहरूलाई आईटीएफ अफिसियल गेम होइन, त्यसैले त्यस्ता प्रतियोगितामा खेल्न पाउँदिनँ भनेर भनिरहनुपर्छ', सोनीले भनिन्।
उनी अञ्जानमै आईटीएफ खेल्न पुगिन्। ‘त्यस बेला मेरो घरनजिकै मार्सल आर्टस्मध्ये आईटीएफ मात्रै खेलाइने गरिन्थ्यो। मलाई जसरी पनि मार्सल आर्टस् खेल्नुपर्ने थियो। त्यही भएर अञ्जानमै आईटीएफ खेल्न थालेँ', सोनीले भनिन्।
डब्लूटीएफमा भएको भए आफूले धेरै पदक ल्याउने आत्मविश्वास उनीसँग छ। अञ्जानमै आईटीएफ खेल्न थाले पनि अब खेल परिवर्तन गर्ने पक्षमा उनी छैनन्। ‘मलाई सोनी खड्का भनेर चिनाएको आईटीएफले हो, त्यसैले यसलाई छाडेर अरू खेल रोज्न सक्तिनँ', उनी भन्छिन्।
सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आईटीएफ र डब्लूटीएफ तेक्वान्दो दुवैलाई समावेश गर्न लागेकोमा उनले खुसी व्यक्त गरिन्। ‘अब हुने ओलम्पिकमा आईटीएफ र डब्लूटीएफ दुवै खेल समावेश हुने भन्ने सुनिएको छ। आईटीएफ तेक्वान्दो पनि ओलम्पिकमा समावेश भएमा हामीजस्ता खेलाडीका लागि खुसीको कुरा हो', उनले भनिन्, ‘हामीले पनि ओलम्पिक खेल्न पाउँछौं भन्ने कहिल्यै कल्पना गरेका थिएनौं।'
उमेर सानै भए पनि आफ्नो पेसालाई कसरी व्यावसायिक बनाउने भन्ने सोनीले बुझेकी छन्। व्यवस्थापनकी विद्यार्थी भएकाले पनि हुनसक्छ, उनले सानैमा खेल्न थालेको तेक्वान्दोलाई पनि व्यावसायिक रूपमा अगाडि बढाएकी छन्। हरेक बिहान ३०-३५ जनालाई तेक्वान्दो कला सिकाएर आफूलाई चाहिने मासिक खर्च पनि पुर्याएकी छन् उनले। फुर्सदको समय सदुपयोगका लागि रेफ्री कोर्स पनि गरेकी छन्।
उनले आईटीएफको बी लेभल रेफ्री अन्तर विद्यालयस्तरीय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन्। लगातार प्रतियोगिता सञ्चालन भएमा रेफ्रीबाट पनि राम्रै कमाइ हुने उनले बताइन्।'हामीकहाँ जुनसुकै प्रतियोगिता पनि नियमित रूपमा हुँदैन। नियमित रूपमा प्रतियोगिताहरू सञ्चालन भएमा रेफ्री पेसाबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ', सोनी भन्छिन्।