शिक्षाविश्वविद्यालय: एक अनुदार अनुभूति
मैले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेको तीन वर्षमात्र बितेको छ। विसं २०६० मा एसएलसी पास गरेँ। उच्चशिक्षा हासिल गर्ने उत्साहका साथ त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहमा भर्ना भएँ। पढाइ नियमित रूपमै अघि बढ्दै गयो। त्यति बेला प्रमाणपत्र तह दुई र स्नातक तह तीन वर्षको हुन्थ्यो। स्नातकोत्तर तह दुई वर्षको हुन्थ्यो र अहिले पनि छ।
एक नियमित विद्यार्थीका लागि स्नातक तह पाँच वर्षमै सकिनुपथ्र्यो। तर, कहिले नियमित परीक्षा नहुने त कहिले १०÷११ महिनामा मात्र रिजल्ट प्रकाशित हुने विश्वविद्यालयको अस्तव्यस्तताले स्नातक तह सकिन सात वर्षभन्दा बढी समय लाग्यो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर सकेर निस्कँदा १० वर्ष कटिसकेको थियो।
उर्वर युवाकालको कम्तीमा तीन वर्ष लुप्त रूपमा खेर गयो। यो मेरो कारणले थिएन। विश्वविद्यालयको कारणले थियो। आज पनि अवस्था खास फेरिएको छैन। विश्वविद्यालयमा कुलपति, उपकुलपति, रजिस्ट्रार, रेक्टर र डिन फेरिए तर त्यहाँको प्रणाली उस्तै रह्यो।
विश्वविद्यालय अन्तर्गतका कलेजमा पढ्दै गरेका विद्यार्थीले यी र यस्ता अनेक पीडा अझै पनि खप्नु परेको छ। पढिसकेका विद्यार्थीको सर्टिफिकेट बजारमा बिक्न नसक्दा झस्किनु परेको छ। आफूले प्राप्त सर्टिफिकेटलाई अन्तर्राष्ट्रिय बजारले भाउ नदिँदा लज्जाबोध हुनु परेको छ।
विश्वविद्यालयप्रतिको विश्वसनीयतामा ह्रास आएको छ। त्यसैले १२ कक्षा सक्नासाथ हुनेखाने र ‘ट्यालेन्ट' कहलिएका युवा लाखौं खर्च गरेर विदेशतिर पलायन भइरहेका छन्। न्युन र मध्यम वर्गीय परिवारबाट आएका युवापंक्तिले भने गुणस्तरीय शिक्षा दिन नसक्ने नेपाली विश्वविद्यालयकै शरण पर्न बाध्य हुनु परेको छ।
सन् १९०१ बाट प्रख्यात नोबेल पुरस्कार वितरण गर्न आरम्भ गरियो। सयौं नोबेल पुरस्कार वितरण भइसके। छिमेकी मुलुक भारत र चीनले कैयौं पुरस्कार प्राप्त गर्दा नेपालको पोल्टामा एउटै पुरस्कार परेको छैन।
कुनै पनि देशको उच्च शिक्षाको अवस्था जोख्ने एउटा सुस्पष्ट मानक नोबेल पुरस्कार पनि हो। नेपाल विश्वको नक्सामा सानो देखिएकै कारण नोबेल जित्न नसकेको अवश्य होइन। नेपालका विश्वविद्यालयले अनुसन्धानमूलक शिक्षा दिन नसक्दा नोबेल जित्नयोग्य प्रतिभा जन्मिन नसकेको प्रस्ट देखिन्छ।
नेपाली विश्वविद्यालयले रसायन विज्ञानको सूचना दिए तर रसायनशास्त्री जन्माउन सकेनन्। विश्वमा भइरहेको भौतिक विज्ञानको प्रगतिको सूचना दिए तर भौतिकशास्त्री जन्माउन सकेनन्। विश्वविद्यालयमा अर्थशास्त्रको पढाइ हुन्छ तर अर्थशास्त्री जन्मिन सकेनन्।
चिकित्साशास्त्र पनि पढाइएको छ तर चिकित्सा-वैज्ञानिक उदाउन सकेनन्। इन्जिनियरिङको पढाइ हुन्छ तर नयाँ प्रविधिको विकास गर्ने वैज्ञानिक देखा परेनन्। त्यसै कारण समस्या विश्वविद्यालयको पढाइमा छ।
थेसिसप्रतिको उपहास
विश्वविद्यालयमा खासगरी स्नातकोत्तर, एमफिल, र पीएचडी गर्दै गर्दा शोधपत्र लेख्नु अनिवार्य हुन्छ। थेसिस लेख्न लगाउनुको उद्देश्य नयाँ ज्ञान-विज्ञानको खोजी हो। विद्यार्थीलाई सक्षम र गरिखान सक्ने बनाउनु पनि हो।
तर, थेसिस लेखनको ध्येयप्रति उपहास भएको छ। विश्वविद्यालयले थेसिस लेखनमा हुने गरेका ‘बौद्धिक चोरी'लाई नियन्त्रण गर्न ठोस कदम चाल्ने रुचि देखाएको छैन। डा. विद्यानाथ कोइराला यस्तो प्रवृत्तिप्रति टिप्पणी गर्दै भन्छन्, 'थेसिस कस्तो र कसरी लेख्ने भन्ने कुरा विद्यार्थी र शिक्षकमा निर्भर रहन्छ। जसले थेसिस खरिदबिक्री गर्छ वा चोर्छ ती प्राज्ञिक जनावर हुन्।
विश्वविद्यालयका शौचालयको भित्री पर्खालमा युवकयुवतीका यौनकुण्ठा छताछुल्ल भएका देखिन्छन्। कतै शब्दमार्फत त कतै चित्रमार्फत। ट्वाइलेट नै फोहोर भएपछि विद्यार्थीलाई सायद यहाँ लेख्ने नै यस्तै हो भन्ने ज्ञान फुर्दो हो।
यस्तो कर्म गर्ने र गराउने दुवै अपराधी हुन्।'हो, ठाउँठाउँमा थेसिस खरिदबिक्री गर्ने लुप्त केन्द्रहरू खोलिएका छन्। मेरो एकजना सुपरिचित साथीको जागिर नै अरूका लागि थेसिसको खेस्रा लेखिदिनु थियो। त्यसबापत उनले ६ देखि १० हजार रुपैयाँसम्म पैसा लिन्थे। अहिले उनी गतिलै देशमा बिदेसिएका छन्।
विश्वविद्यालयसँग थेसिस ‘कपी-पेस्ट' गरिएको हो या होइन जाँच्ने त्यस्तो कुनै अत्याधुनिक सफ्टवेयर छैन। अरूले जोडजाड गरेर लेखिदिएको थेसिसको ड्राफ्ट बोकेर नक्कली अनुसन्धानकर्ता सुपरीवेक्षकसमक्ष पुग्छ। र, केही संशोधनमार्फत थेसिस पारित हुन्छ।
आफैंले लेखिएका थेसिस पनि खास गहन छैनन्। थेसिस लेख्ने पूरै प्रक्रिया एक कर्मकाण्डजस्तो बनेको छ, जहाँ थेसिसका तत्वहरू पुगेपछि पारित हुन्छ। विद्यार्थीको कसरत पनि जसरी हुन्छ छिटो प्रमाणपत्र लिनुमा छ।
अलिकति गहन खालका थेसिस लेख्न खोज्ने शोधकर्ताका लागि थप समय, शक्ति र पैसा खर्च हुन्छ। यस्ता शोधकर्ताका लागि स्रोत र साधनमा सहयोग गरिदिन विश्वविद्यालय असमर्थ छ। कोही कुनै गैरसरकारी संस्थाको नजिक छ भने केही सहयोग पाउला, त्यो फरक कुरा हो।
थेसिसप्रतिको यस्तै हल्का मानसिकताका कारण देश खोज, अनुसन्धान र आविष्कारमा पछि परेको टिप्पणी गर्न सकिन्छ।
बासी सूचनाको हस्तान्तरण
प्रमाणपत्र तहमा भर्ना हुँदै गर्दा मलाई पनि स्वाभाविक रूपमा सुरुसुरुमा रमाइलो लाग्ने नै भयो। अनिवार्य विषयको कक्षाका लागि ठूला सभाहलजत्रा कोठा छुट्याइएका हुन्थे, जहाँ सयौं विद्यार्थी कोचिएका हुन्थे।
लेक्चरर आफ्नो तयार गरिएको नोट बोकेर आउँथे। सर्रर लेखाइदिन्थे र फर्किन्थे। शिक्षकलाई विद्यार्थीको कुनै मतलब थिएन। कक्षाभित्र अन्तरक्रिया र बहस हुँदैनथ्यो। पछाडि बस्नु परेका विद्यार्थीलाई लेक्चररको आवाज सुन्न हम्मेहम्मे पर्थ्यो।
विश्वविद्यालयको पूरा शिक्षणपद्धति आज पनि नोट केन्द्रित छ। यो एक सजिलो तर संकुचित शिक्षण प्रणाली हो। यसले परीक्षामा पास गर्न सजिलो बनाइदिन सक्छ तर विषयवस्तुको फराकिलो अध्ययनलाई नकारात्मक प्रोत्साहन दिन्छ।
संसारका विभिन्न विश्वविद्यालयका प्राध्यापकले प्रध्यापन समयमै नोबेल पुरस्कार जितेका छन्। किनकि त्यहाँका प्राध्यापकमा पनि नयाँ तथ्य फेला पार्ने हुटहुटी हुन्छ। तर, हाम्रोमा एउटा कलेज सकाएर अर्कोमा कुदिहाल्न हतार हुन्छ। एकपटक शिक्षकले नोट तयार गरेपछि वर्षौंलाई पुग्छ। त्यही बासी सूचना हस्तान्तरणलाई शिक्षा भनिएको छ।
आजको जमानामा हरेक विद्यार्थीको पहुँचमा मोबाइल पुगेको छ। विद्यार्थीले आफ्नो विषयवस्तुका बारेमा हरेक नयाँ सूचना इन्टरनेटबाट प्राप्त गर्न सक्छन्। त्यसैले कक्षाभित्र गएर वर्षौंअगाडिको नोट खुरुखुरु लेखाइदिनु आजको दिनमा अप्रासंगिक बन्न गएको छ।
कृषिविद् डा. मदन राई यसरी उत्पादित जनशक्तिमाथि व्यंग्य गर्छन्, ‘एमए÷एमएस्सी गरेकालाई दुई लाइन लेख्न आउँदैन। घोक्नेहरू डाक्टर बनेका छन्।' उनको आफ्नै पनि अनुभूति छ, ‘मैले रामपुर क्याम्पसमा बिएस्सी सक्दा एक दिन पनि माटो छुनु परेन। धानमा पीएचडी गरेकाहरूले एक दिन पनि धान छोएका हुँदैनन्।'
विश्वविद्यालयको शिक्षालाई जीवनसँग जोड्न सकिएको छैन। त्यहाँबाट डिग्री हासिल गरेर व्यक्ति सीपविहीन भएर निस्कन्छ। विद्यार्थी जागिरका लागि प्रमाणपत्र भरेको झोला भिरेर भिक्षा माग्दै निस्कन्छ। कसैले जागिर दिएन भने बेरोजगार बन्छ वा आफ्नो शैक्षिक स्तरभन्दा साना काममा अल्झिन विवश हुन्छ। त्यो पनि भएन भने विदेशमा शरण पर्छ। शिक्षाले आफैं केही गर्नसक्ने खुबी, सीप र आत्मविश्वास दिन सकेन। विडम्बना यो हो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भइसकेका केदारभक्त माथेमा पनि विश्वविद्यालयले पाठ्यक्रम समयसन्दर्भअनुरूप परिमार्जन गर्न नसकेर अन्तर्राष्ट्रिय जगत्लाई नै पछ्याउन गाह्रो परिरहेको ठान्छन्। कक्षाभित्र सोच्ने, विश्लेषण गर्ने, समालोचना तथा प्रश्न उठाउने र मन्थन गर्ने खालको शिक्षण अवलम्बन गर्न नसकिएकोमा उनी पनि असन्तुष्ट छन्।
राजनीतिक अत्याक्रमण
सुनियोजित ढंगबाट विश्वविद्यालयमा प्रणाली यस्तो बसाइएको छ, पियनदेखि उपकुलपतिसम्म राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुन्छन्। विश्वविद्यालयका पदाधिकारी जुन पार्टीको कोटाबाट नियुक्त भए, त्यही पार्टीका चाहना परिपूर्ति गर्नतिर लाग्छन्। राष्ट्रिय आवश्यकता गौण बन्न पुगेका छन्। व्यक्तिको योग्यता, विद्वता र प्रतिभाप्रति मजाक उडाइएको छ।
डाक्टर'सापहरू विभिन्न नियुिक्तका लागि पहुँचवाला नेतासमक्ष बिन्तिभाउ चढाउन दैलो धाउनु परेको छ। मसँग नजिक रहेका डाक्टरहरू निराश भएर भन्छन्, ‘नेताको दैलो चाहार्नु हुँदैन भन्ने थाहा छ। यसले प्राज्ञिक मर्यादामा आँच पुर्याउँछ भन्ने पनि थाहा छ। तर, राजनीतिज्ञको खोल्टीबाट पद मिल्ने नियम भएपछि दैलो धाउन बाध्य हुनु परेको छ।'
भीसी, रजिस्ट्रार, रेक्टर, डिन, विभागीय प्रमुखदेखि शिक्षकसम्मका पदमा राजनीतिक भागबन्डा चल्छ। यस्तो अवस्थाले विश्वविद्यालयको प्राज्ञिक श्रेष्ठता, सम्मान र उचाइलाई ढलाएको छ।
‘हालका भीसी, रजिस्ट्रार र रेक्टर क्रमशः कांग्रेस, एमाले र माओवादीको बुई चढेर नियुक्त भएका हुन्। उहाँहरूले ‘ग्लोबल कम्पिटिसन' र शिक्षालाई राष्ट्रिय उत्पादनसँग जोड्ने दृष्टिकोण बोक्न सक्नुभएको छैन। सम्बन्धित पार्टीका संकीर्ण चाहना पूरा गर्नमा अल्मलिइराख्नुभएको छ', यस्तो दुरवस्थाप्रति विद्यानाथ कोइरालाको पनि विवेकसम्मत आक्रोश छ।
प्राध्यापक भनेका देशका सबैभन्दा चेतनशील प्राणी ठानिन्छन्। उनीहरूको संयुक्त प्रयासले राष्ट्रलाई दिशाबोध गराउन सक्छ। तर, दुर्भाग्य, कलेज–कलेजमा पार्टी मातहतका प्राध्यापक संघ छन्; जसको मूल धर्म नै सम्बन्धित पार्टीका चाहना र निर्देशन कलेजभित्र लागू गराउन दबाब दिने हो।
प्राध्यापककै हकहितका लागि काम गर्ने हो भने त एउटा प्राध्यापक संघ भए पुग्छ। दल निकटका प्राध्यापक संघमार्फत प्राज्ञिक थलोभित्र राजनीतिक हस्तक्षेप गर्नु दलहरूको सुनियोजित षड्यन्त्र हो। प्राध्यापकले कलेजभित्र राजनीति गर्न थालेपछि कलेजको पद्धति अपांग बन्न जान्छ। यस्तै भइरहेको छ।
विद्यार्थी संगठनहरूको त कर्तव्य नै कलेजभित्र राजनीति गर्ने हो। विश्वविद्यालय राजनीतिको पञ्जाबाट मुक्त हुन नदिन घोषित रूपमै त्यहाँ संगठनको प्रवेश भएको हो।
विश्वविद्यालयले विद्यार्थी संगठनको स्वीकृतबेगर कुनै निर्णय गर्न पाउँदैन। संगठनले आपूmलाई लाभप्रद हुने विषयहरू लागू गराउन स्वीकृत दिन्छन्। नहुने विषय अस्वीकृत गरिदिन्छन्।
उच्च शिक्षाः आविष्कारबाट पर
कुनै पनि संस्था कति व्यवस्थित भनेर हेर्नु छ भने सर्वप्रथम संस्थाको शौचालय प्रवेश गर्नु आवश्यक हुन्छ। शौचालयमा बढी फोहोर फ्याँकिन्छ, त्यसैले यो सबैभन्दा सफा हुनु अनिवार्य रहन्छ। गान्धीले त्यसै भनेका होइनन्, भान्साकोठाभन्दा शौचालय सफा हुनुपर्छ भनेर।
तर, विशेषगरी सरकारी कलेजका शौचालयभित्र प्रवेश गर्दा लज्जानुभूत हुन्छ। लाग्छ, कैयौं महिनादेखि शौचालय सफा गरिएको छैन। त्यसमाथि शौचालयको भित्री पर्खालमा युवकयुवतीका यौनकुण्ठा छताछुल्ल भएका देखिन्छन्। कतै शब्दमार्फत त कतै चित्रमार्फत। ट्वाइलेट नै फोहोर भएपछि यहाँ लेख्ने नै यस्तै हो भन्ने ज्ञान फुर्दो हो सायद।
विश्वविद्यालयका थोरै अनुसन्धान केन्द्र पनि खास उपयोगमा आएका छैनन्। अनुसन्धान केन्द्रको विस्तार र आधुनिकीकरण सँगसँगै जानुपर्ने हो। प्रविधिको युगमा पुरानै डिजाइनका कक्षाकोठामा पुरानै लेक्चर विधि चलिरहेको छ। मैले रसायनशास्त्र पढेँ। त्यहाँ हुने पाठ्यक्रमसम्बद्ध विज्ञानका प्रयोगहरू सतही कुरामा मात्र सीमित छन्। नयाँ प्रयोग र आविष्कारका लागि उत्प्रेरित गर्ने कुनै प्रयोगात्मक कक्षा छैनन्।
विज्ञान पढ्दै गरेको विद्यार्थीले केही प्रयोगात्मक कक्षा लिन्छ। तर, ती कक्षा पनि परीक्षामा प्राक्टिकल गर्नसक्ने हुनका लागि मात्र सीमित छन्। शिक्षकले पनि प्राक्टिकल कक्षा औपचारिकता पूरा गर्नका लागि लिइराखेको हुन्छ।
विज्ञान पढ्दै गरेको विद्यार्थी सुरुचिपूर्वक पाठ्क्रमबाहेक पनि प्रयोग र परीक्षण गर्न उत्सुक हुनुपथ्र्याे। खोजको लागि अभ्यास गरिरहनुपथ्र्यो। लगातार प्रयोग र परीक्षणबाट गुज्रिसकेपछि मात्र नयाँ आविष्कार हुने हो। तर, कलेजले यस्तो माहोल निर्माण गरिदिन सक्दैन।
प्रयोगशालाको पनि आधुनिकीकरण भएको छैन। हाम्रा विश्वविद्यालयले हार्वर्ड र अक्सफोर्डजस्ता विश्वविद्यालयले जस्तो विद्यार्थी भर्ना भइसकेपछि केही बनेरै निस्कनपर्ने बाध्यात्मक अवस्था निर्माण गर्न सकेनन्।
हामी नेपालीले क्षणक्षणमा विज्ञानका उपलब्धिको प्रयोग गरिरहेका छौं, जो गैरनेपालीले आविष्कार गरे। तर, हामीले पनि नयाँ आविष्कार गरेर विश्वलाई गुन तिर्न सकिरहेका छैनौं। शिक्षाले विश्वका आविष्कारको सूचना दियो तर आविष्कार गर्नसक्ने खुबी निर्माण गरिदिन सकेन।
यसैकारण विश्वविद्यालयबाट कमजोर जनशक्ति उत्पादन भइरहेको छ। यस्तो तरिकाले विश्वव्यापीकरणको यो युगमा अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्नु त परको कुरा, पछ्याउन पनि हम्मेहम्मे परिरहेको छ। हाम्रो देशलाई विश्वमा चिनाउन पनि विश्वविद्यालयको शिक्षामा कायाकल्प आउनैपर्छ।