फागुले जुराएको विवाह

 फागुले जुराएको विवाह

आफ्नै कुनै सहानुभूति नभए पनि सत्यलाई
पुनर्उत्पादन गर्नु जीवनको यथार्थलाई सामथ्र्यका
साथ व्यक्त गर्नु एउटा लेखकका लागि निकै ठूलो
आनन्दको क्षण हो।-तुर्गनेभ

यही भनाइलाई मनन गरेर निकै अगाडिदेखि मनमा लागेका केही सत्य विगत खोतल्ने प्रयास गरिरहेँ मैले। यसो गर्दा बितेका दुःखद क्षणहरू फेरि जिएजस्तो लागेर त्यही दुःख र चिन्ता फेरि बल्झेर आएजस्तो पनि लाग्ने।

जीवन एक त त्यसैपनि अप्राप्तिको भारी बोझले किचिएर जिउनलायक रहन गएको छैन त्यसमाथि बीचबीचमा पर्न गएका दुदन्ति असहनीय र अकल्पनीय घटनाहरूले गर्दा निकै दुस्सहः र मर्माहतसमेत बन्दै गएको छ। त्यसैले त्यही 'मर्म' मा झ्वाम्मै हाम्फाल्नुभन्दा केही दुःख र सुख मिलेर बनेका जीवनका केही घटना सम्झनुपर्छ जस्तो लागिरहन्छ धेरैपल्ट।

'आत्मगत' रूपमा मैले केही लेख्ने कोसिस कहिल्यै पनि नगर्ने विचार गरेको रहेछु-जीवनको आरम्भमा र आगे वर्षहरूमा तर जब उत्तराद्र्ध लाग्दै आयो धेरैपल्ट धेरै आत्मीयजनको मृत्युले झस्कायो तब 'पैतालामुनि' शीर्षकमा केही लेख्ने इच्छा पलाएर आएको सर्वविदितै छ।


अहिले फेरि २०२८ साल मंसिर ८ मा म फर्कन लागेको छु। यद्यपि यसरी त्यो दिनमा फर्कनु भनेको आफ्नो विवाहको दिनलाई मनमा ल्याउनु र सुखद स्मृतिमा हराइरहनु हो भनेर मान्छेहरू भन्छन्। तर, त्यति कुराले मात्र म त्यो दिनको सम्झना गरिरहेको छैन।

त्यो दिन आउनभन्दा अगाडिका केही अप्रत्याशित दुर्घटनालाई पनि पुनर्ताजगी दिन गइरहेछु। यसबाट जीवनको सम्पूर्ण अप्रत्याशित दुर्घटनाहरूको सिलसिला पनि सोहोरिएर आउने रहेछ। यद्यपि हामीलाई ठ्याक्कै आउने दिनको कुनै पूर्वाभास हुँदैन।

एकछिनपछि के हुन्छ भन्नसक्ने अवस्थामा हामी छैनौं। खालि यस्तो भएको भए यस्तो हुन्थ्यो भनेर पूर्वानुमान गर्ने कोसिस मात्र हाम्रो हो। न हामी त्यो समय फर्काएर ल्याउन नै सक्छौ न त त्यसमा कुनै 'प्रुफ रिडिङ' नै गर्न सक्छौं। अनि केचाहिँ गर्न सक्छौं ? खालि यसरी टोल्हाइरहेर विगतलाई सम्झनुभन्दा त्यसलाई लिपिबद्ध गर्नु बेस।

हामीलाई कैयौं मानिस के तपाईंहरूको प्रेमविवाह हो ? भनेर सोध्छन्। जिज्ञासुहरूलाई गाला चड्काउनु पनि भएन। त्यसैले म आज प्रेम र विवाहबारे केही लेख्ने अर्को शब्दमा आफ्नै गोप्यता खोल्न पनि गइरहेछु। शारीरिक रूपले म अलि गोरो भए पनि मेरो पाँच फिट दुई इन्चको उचाइले कसैलाई आकर्षण गर्लाजस्तो लाग्दैन। तर पनि मानिसहरूले मलाई अलिकति उचाइ भए 'नायक'को रूपमा सिनेमा नै खेल्नसक्ने मानिस पनि भनेका थिए जवानीमा।

खैर, पहाडको स्वच्छ हावापानीमा हाइस्कुलको शिक्षक भएर हुर्किरहेको म निकै फूर्तिलो र उत्साही त थिएँ नै। नेवार भए पनि अन्य नेवारहरूका भन्दा अलि सुलुत्त परेको नाकले पनि मलाई औसत युवाहरूभन्दा विशेष नै ठानेका रहेछन्, त्यस बेलाको समकालीन बजारले। तर स्थिति के छ भने अहिले पनि न म आफूले मन पराएकी केटीको नाम नै लेख्न सक्छु न त आफूलाई मन पराएर हजारौं प्रेमपत्र लेख्ने भावुक केटीको नाम नै लेख्नसक्छु।

दुवैको पारिवारिक जीवनमा असर पर्ने डर अझै छ। मलाई मन पराएर हजारौं प्रेमपत्र लेख्ने ठिटीको त मृत्यु पनि भइसक्यो। उनको एकोहोरो प्रेमको कहानी अतीतको गर्तमा कहिल्यै पनि नब्यूँझिने गरी नामेट भइसक्यो। उनको पनि मलाई बारम्बार सम्झना भइरहन्छ र छक्क लाग्छ किन त्यसरी मरिमेटेर लागेकी होलिन् ? अहिले मलाई उनको समर्पण भाव र एकोहोरो प्रेमप्रसंगले भावुक बनाइरहन्छ।

जुन प्रेममा अलिकति पनि 'वासना' थिएन त्यो सम्झेर अत्यास पनि लागिरहन्छ। सायद हाम्रोबीच कुनै शारीरिक सम्बन्ध भएको भए पो हामी एक दोस्रोप्रति आकर्षित र अझ छुट्टिनै नसकिने गरी बाँधिने पो थियौं कि ? जस्तो पनि लागिरहन्छ।

समयमा यो कुराको हेक्का रहेन। सपनामा नै दगुरीदगुरी यतिका वर्षहरू बितेछन्। युगकवि सिद्धिचरण श्रेष्ठले कतै लेखेजस्तो लाग्छ, 'सपनामै दगुरीदगुरी यतिका वर्षहरू बित्नु।' के के न गरौंला झैं जीवनको उत्ताप तरंगहरू लिएर किनारका ढुंगाहरूसँग ठोक्किँदै अगाडि बढिएछ।

आज समुद्रजस्तो आयुको एकनासे निरन्तरतामा प्रवेश गरिएछ कुनै पनि इच्छाहरू सँगाल्न नसक्ने गरी छताछुल्ल भएर पोखिएछ समय। सोचेजस्तो केही नहुने गरी अप्राप्ति र अवसादको दंशनभित्र गतिहीन र निरुद्देश्यजस्तो भएछ जीवन।

ए, म त आफ्नो प्रेम र विवाहबारे केही गन्थन गरौं भनेर लेख्न लागेको। साँच्चै भनौं भने जसलाई आज मेरी धर्मपत्नी भनेर आफन्तहरूमा चिनिन्छ उनलाई त मैले भोजपुरमा देखेको पनि थिइनँ। तर, उनको जेठो दाजु कुलबहादुर श्रेष्ठ भोजपुर दावाँबाट पढ्न भोजपुर बजारमा आएका थिए। र उनी मेरो कक्षामा मसँगै पढ्थे।

देउरालीको ठूलो घरमा बसेर उनी विद्योदय हाइस्कुलमा पढ्न आउँदा हामी भोजपुर बजारमा ठिटाहरूसँग उनको आत्मीय सम्पर्क भयो। उनी देउरालीमा हिरण्य भोजपुरेका पिता चण्डिप्रसाद श्रेष्ठको घरमा बसेर हाइस्कुल पढ्न आउँथे। मेरो र उनको निकै राम्रो 'दोस्ती' थियो। एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी हराए।

मजस्तै उनी पनि काठमाडौं आएका रहेछन् जीवनको संघर्ष क्षेत्रमा लड्न। धेरै दिनसम्म मेरो भेट भएन उनीसँग। त्यस बेला साझा कार्यक्रम विश्वबन्धु थापाले भर्खरभर्खर सुरु गरेका थिए। तनहुँबाट प्रसिद्ध कवि गीतकार क्षेत्रप्रताप अधिकारी आएजस्तै पूर्व ४ नं. भोजपुरबाट पनि कुलबहादुर श्रेष्ठ पनि आएका थिए। दुवैले साझा बसको कन्डक्टरको जागिर खाएका थिए।

ठूला हरिया बसहरू जापानबाट भर्खरभर्खर काठमाडौं आएका थिए। जताततै तिनकै चर्चा थियो। साझामा बस कन्डक्टर हुनु राम्रै मानिन्थ्यो। तलब पनि साह्रै नराम्रो होइन। हो, क्षेत्रप्रताप अधिकारीजस्तै साझामा धेरै प्रगति गर्न सकेनन् मेरा जेठान कुलबहादुर दाइले। तर, उनी लेखा अधिकृतका रूपमा हरिसिद्धि इँटा टायल कारखानामा काम गर्थे जीवनको अन्त्यतिर।

३८ वर्षकै उमेरमा उनको 'मल्टिपल माइलेमा' नामक हड्डीको क्यान्सर रोगबाट असामयिक मृत्यु भयो। यो रहेछ 'बोन म्यारो'को क्यान्सर। यही रोग लागेको हो प्रसिद्ध साहित्यकार जगदीश घिमिरेलाई पनि। स्याहारसम्भार, विदेशको महँगो उपचार आदि कारणले जगदीश धेरै वर्ष बाँचे तर हाम्रा दुःखी कुलबहादुर दाई धेरै वर्ष बाँच्न सकेनन्। उनलाई केही गरेर पनि बचाउन सकिएन।

हड्डी बीचको मासीमा लाग्ने रहेछ यो रोग। सारै घातक पहिला त थाहै नहुने रहेछ यो रोग। पछि थाहा पाएपछि उपचार गर्नै नसकिने। साझाबाटै कुलबहादुर दाईले छिटै थसिखेल, पाटनमा आफ्नै मेहनतले चिनियाँ इँटाबाट दुईतले घर बनाए। १४ आना जग्गा जोडे मर्नुअगाडि।
उनको मृत्युले मलाई अवाक् र स्तब्ध बनायो। उनकै घटनालाई लिएर मैले 'सपनाहरू छल गर्छन्' भन्ने कविता र 'मर्नु पनि' नामक सानो कथा लेखेको थिएँ। 'सपनाहरू छल गर्छन्' मेरो २०४६ सालमा निराला प्रकाशन नयाँ दिल्लीबाट छापिएको कवितासंग्रह 'सर्पहरू गीत सुन्दैनन्'मा संकलित छ।

यही कविता कोरियन भाषामा समेत अनुवाद भइसकेको छ र सायद केही दिनमा मैले त्यो पनि हेर्न पाउनेछु। 'मर्नु पनि' नामक कथा भने साझा प्रकाशनले २०४२ सालमा छापेको मेरो दोस्रो कथासंग्रह 'कालपात्र अरू कथाहरू'मा संकलित र प्रकाशित गरेको छु। कवि तुलसी दिवसले त्यो कथाको निकै प्रशंसा गरेका थिए त्यस बेला।

काठमाडौं दुईचार वर्ष बसेर उपलिब्ध हासिल नगरी जस्तो आएको थिएँ त्यस्तै रूपमा जुवा खुल्दा भनिन्छ नि 'उही रूप' हो त्यस्तै भएर म भोजपुर फर्केको थिएँ २०२३ सालतिर। यो मेरो आत्मरतिजस्तो मात्र लागिरहेछ। आफैंसँग गरिरहेको छु संवाद, तर्क वितर्क। कोट्याइरहेको छु, पुरानो घाउ, पुरानो सुख। के सुखदुःखलाई सम्झनुबाहेक के रहेछ र जीवनमा ?

सुरु पनि जीवनसँग यस्तरी गाँस्सिएर आएको छ कि त्यसलाई सुख भन्नु पनि जीवनको अपमान नै गर्नुजस्तो लाग्न थालिसक्यो। जीवन भन्नु नै दुःखहरूलाई भोग्नु र त्यसलाई अनुभव भन्नु रहेछ। हड्डीको ढाँचा भएर मात्र भोजपुर पुगेँ म। आमा रुनुभयो। निकै अग्लो भइसकेको ईश्वर र अझ अग्ला रेशमहरू आएका थिए। उनीहरूलाई देखेर म त छक्क परेँ।

छ महिनाले कान्छो भीमबहादुर काकाका छोरा ईश्वर र तीनचार वर्षले कान्छो कान्छा हजुरबा अम्बरबहादुरका छोरा रमेश काका कति अग्ला भइसकेछन्। हलक्क बढेका। आफू भने बढ्न नै बिर्सेजस्तो भुइँमान्छे जस्तो। 'सल्वार्टन' भन्छन् नि आजभोलि हो त्यस्तै। नेपालको गरिबीको उदाहरण दिँदा प्रस्तुत गरे हुने खालको उदाहरणीय।

आमाको माया, साथीभाइको स्नेह र खास गरेर भोजपुरमा पाइने पहाडी खोलाको माछा अर्गानिक कुखुराको फुच्चे अन्डा र सेलरोटीले तंग्रिएँ म छिट्टै। विद्योदय हाइस्कुलमा शिक्षक हुने मौका पनि मिल्यो मलाई। त्यस बेलाका धेरै विद्यार्थीमध्ये हिरण्यकुमार भट्टराई, चन्द्रकुमार उदास, जयेन्द्र पाँडे, ज्ञानेन्द्रबहादुर कार्की, रेखाबहादुर थापा, बालकृष्ण थापा, भीम गुरु न्यौपाने, झन्क न्यौपाने, केदार, गोविन्द न्यौपाने, सावित्री थापा आदि थुप्रै छन्।

सम्झँदै लेख्नुको अर्थ पनि छैन। यीमध्ये कैयौं विद्यार्थी जीवनमा सफल पनि भए कैयौं भएनन्। फेरि सफल पनि केलाई भन्ने ? धन, पद र पैसालाई ? कोही धनी छन्, नाम छैन, कोही नाम छ धन छैन। हाम्रोजस्तो देशमा मन्त्री हुनु नै 'बेइज्जती' गर्नुजस्तो, सम्पूर्ण कुलको इज्जत गुमाउनुजस्तो भएको बेला कसलाई पो सफल मान्नु र कसलाई पो असफल।

कुनै न कुनै क्षेत्रमा कीर्ति राख्न सके त्यही नै हो इज्जतपूर्ण, बाँचेको नमुना। राजनीति पनि एउटा सबल क्षेत्र त हो तर राजनीतिलाई 'गन्दा खेल' मान्छन् धेरै विचारकहरू। राजनीति सत्ताको खेल भएकाले आजसम्म हाम्रो सम्पूर्ण इतिहास रगतमा मुछिएको छ। शाह, राणा र त्यसपछि पनि भएको सत्ताको घृणित खेलमा विषयमा म लेख्न बसेको होइन। खालि के भने राजनीतिलाई मुख्य नीति ठान्नेहरूको कमी छैन र त्यो स्वाभाविक पनि हो।

खैर,म पहाडी झर्नाजस्तो आफ्नै गति र जीवनको तरंगमा दौडँन थालेँ पहाडी ढुंगाजस्तो। त्यही बेला ७ कक्षामा पढ्ने एउटी ब्राह्मण गोरी कन्याले म शिक्षकलाई मन पराउन थालेकी रहिछ। पढाउन्जेल पनि मलाई एक टकले हेरिरहने र केही न केही निहुँ पारेर मेरो घरमा पनि आएर र्‍याकमा किताब मिलाइदिने। उसको पिता काठमडौंबाट सरुवा भएर भोजपुर आएका थिए र एकदुई वर्षमा सरुवा भएर पश्चिमतिर लागे। जब उनीहरू पश्चिमतिर पुगे, त्यसपछि पत्र आउन सुरु भयो प्रत्येक दिन।

हजार दिनमा करिब हजार पत्र। मलाई भने त्यसको होश नै छैन। प्रेम यस्तैलाई भन्छन् भन्ने पनि थाहा छैन। प्रत्येक पत्रमा त्यस बेलाका चर्चित गीतहरू पनि लेख्ने र स्वेटर लगाएर राति नसुत्नु है, मेरो बिन्ती भनेर लेखेकी थिई। त्यसो किन भनेको होला ? तपाईं अन्दाज गर्न सक्नुहुन्छ ?

मैले त अहिलेसम्म त्यसको कारण जानेको छैन। तर, भोजपुर अलि जाडै ठाउँ भएको र कैयौंपल्ट स्वेटर लगाएरै सुत्ने बानी थियो धेरै व्यक्तिको। त्यसमध्ये म पनि पर्थें। उनले त्यो 'मार्क' गरेको हुनुपर्छ। मैले कुनैकुनै चिठीको त जवाफ दिएँ कि ? त्यो मलाई अलि सम्झना भएन। तर आईएको फार्म प्राइभेट परीक्षार्थीका रूपमा भरेर म विराटनगरबाट जाँच दिन धरान लागेँ।

धरानमा त्यस बेला अंग्रेजीका शिक्षक आनन्ददेव भट्टसँग अंग्रेजी पढेको मलाई सम्झना हुन्छ। धरानमा भेट भयो केही साहित्यिक साथीहरू। संखुवासभाका ज्ञान उदास, केदार शाक्य, तेह्रथुमका वसन्त सिटौला, धरानकै कुन्ता शर्मा, इन्द्रमाया शाक्य, कृष्ण पाख्रिन, नरेश शाक्य, वेणी आचार्य, गिरिराज आचार्य, केदार आचार्य, केदारनाथ श्रेष्ठ साथीहरू अनि बीए कृष्णजस्ता अग्रज।

विराटनगर जाँच दिन आउँदा शंकरपुरमा कोषराज रेग्मीबाट धेरै थोक थाहा भयो मलाई २०२२÷२३ सालतिर। उनको 'जनवार्ता' निक्लेको हेरिरहन्थेँ प्रेसबाट। किताब कसरी छापिन्छ भन्ने विषयमा पनि निकै जानकारी भयो मलाई। फलामका उल्टा अक्षरहरूको शक्तिका विषयमा पनि रुचि राखेँ मैले। कोषराज रेग्मीबाट 'झर्रो भाषा'बारे दिनहुँ लेक्चर सुन्नुपथ्र्यो तर ती त्यति कर्णकटु थिएनन्।

त्यसैले त पछि 'शहर' कवितामा 'ग्यालिप्रुफजस्तो फोहर आकासमुनि' भनेर सहरको परिकल्पना गर्न सकेँ मैले। आज जसले त्यो पुरानो प्रेसको रूप देखेका छैनन्, तिनीहरूले कुनै पनि हालतमा 'ग्यालिप्रुफजस्तो फोहर' भन्न सक्दैनन्। 'ग्यालिप्रुफ' भनेको छाप्नका लागि 'कम्पोज' गरिएको उल्टा अक्षरहरूको पहिलो प्रुफ कपीलाई भनिन्छ। त्यो ज्यादै फोहर र अशुद्ध हुन्छ।

'मन्त्र' पत्रिका निकाल्दा त्यस्ता प्रुफ हेर्नु परेको थियो। त्यो बेलाको उत्साहले त्यो केहीजस्तो लाग्दैन थियो। भोक प्यास पनि लाग्दैन थियो। लागे पनि त्यसको परवाह थिएन। उमेरको परि श्रम अहिले सम्झँदा पनि छक्क लाग्छ। विराटनगरमा बस्दाबस्दै नै देशव्यापी साहित्य सेमिनार गर्ने भनेर कवि केदारमान व्यथितज्यूहरूले राजा महेन्द्रबाट उद्घाटनसमेत गर्ने भनेको बन्दोबस्त मिलाएका रहेछन्। त्यसको निम्तोसमेत प्राप्त भयो।

प्रथम देशव्यापी कवि सम्मेलन प्रथमपल्ट नारायणघाटका डुंगाहरू जोडेर भव्यतापूर्वक सम्पन्न भएको थियो। म अलि सानै भएको र एक्लै त्यता लाग्न साहस र समयसमेत नमिलेको कारणले जान पाइनँ। पछि मलाई गए त राम्रै हुन्थ्योजस्तो लागिरह्यो। तराईको गर्मी लामखुट्टे सबै बेहोरेर आईए जाँच दिएपछि म त्यताबाट सीधै काठमाडौंतिर लागेँ।

यसपल्टको बसाइ भने अलि व्यवस्थितजस्तो भयो। आफू पनि केही बुझ्ने भइसकेकाले कवि मञ्जुल, गायक गणेश रसिक, गायक रामेश, रायनको झुण्डमा सामेल भएर हिँड्न थालेँ म। नयाँ सडकबाट क्षेत्रपाटी जाने बाटोको छेउमै दाँतहरू बनाउने थुप्रै पसल र डेन्टिस्टहरूका थुप्रै दोकान छन् नि त्यसकै अघिल्तिरबाट भित्र बस्ने गल्लीको चोकमा हामी डेरा लियौं।

पुरानो खालको घर भए पनि घरपट्टि राजभण्डारी सोझा, अलि लाटालाटाजस्ता देखिन्थे। उनीसमेत पुराना पत्रपत्रिकाका पारखी र संकलक रहेछन्। पहिलो तलामा चार कुनामा चारवटा ओछ्यान लगाएर जीवनको संघर्षमय जीवन यात्रा सुरु भयो हाम्रो। मञ्जुल, रामेश, रायन र रसिकले गीत गाएर र गितार बजाएर दिनभर कोठामा बस्न दिएनन्।

म दिनभर काठमाडौं घुमिरन्हथेँ र मञ्जुलसँग लागेर पारिजातकहाँ पुतलीसडकमा पुगिरहन्थेँ। पारिजातका कुनै औंलाहरू पनि नचल्ने, खालि दाहिने हातको बूढी औंला र बीचको माहिली र साइँली औंलामात्र चलेको जस्तो लाग्ने। त्यही औंलाको सहायताले उनी कि लेखिरहन्थिन् कि चुरोट, चिया या जाँड खाइरहन्थिन्। मलाई त्यो दृश्य खुबै रमाइलो लाग्थ्यो।

म पनि उनीसँगै बसेर चिया, चुरोट या जाँड तानिरहन लोभिन थालँे। सुकन्या यी सबै कुराको प्रबन्ध मिलाउँथिन्। त्यस बेला हामीलाई वास्ता पनि थिएन। तर, ती सबको खर्च उनले कसरी जुटाउँथिन् होलिन् ? अहिले सम्झँदा पनि आश्चर्य लाग्छ। हामी त नङगट न थियौं, पाए उडायो नत्र त्यसै सडकमा भौतारिइरहने। केही जिम्मेवारी पनि थिएन, खालि लेखक बन्नुपर्छ भन्ने चाहनाबाहेक। बेलाबेलामा त्यहाँ हाम्रो भेट नेपाली साहित्यका चर्चित पुरुषहरू शंकर लामिछाने, भूपि शेरचन र मदन रेग्मीसँग हुन थाल्यो।

उनीहरूबीचको गफ हामी खुब चाख लिएर सुनिरहन्थ्यौं। त्यस बेला खास गरेर नित्से, बुद्ध, अस्तित्ववादको खुबै चर्चा हुन्थ्यो। शंकर लामिछाने जसोतसो गरेर शून्यवादमा पुगिहाल्ने, मदन रेग्मी, अस्तित्ववाद हुँदै माक्र्सवादमा पुग्ने र भूपि टाउको हल्लाइरहने।

परिजातको त्यस्तो बिरामी अवस्थामा पनि फुत्केको अट्टहास र हाँसो कहिल्यै भूल्न सकिँदैन। हिस्सी परेको भोटिनी अनुहार पारिजातको। दार्जिलिङ पाराको बोली र मनमोहक मुस्कान बीचबीचमा। समय बितेको पत्तै नपाइने।

हामी बसेको डेराको चोकमा एउटैमात्र धारा थियो। त्यही धारामा म, मञ्जुल सखारै उठेर नुहाउने गर्थ्यो। डन्डिफोरले गर्दा मञ्जुल र मेरो अनुहार काठमाडौंको कुरूप लाखेको जस्तो भएको थियो। सफासुग्घर बस्यो भने डन्डिफोर हट्छ भनेर कसैले मञ्जुललाई सुनाइदिएको रहेछ। पुसमाघको त्यस्तो जाडोमा पनि उनी बिहान ४÷५ बजेतिर नै उठेर नुहाउन भ्याउने।

म भने अलि अल्छी गरेर उनी बाहिर गएपछि मात्र तल ओर्लने। त्यही बेला हिरण्य भोजपुरे, शशि भण्डारी, उर्मिला श्रेष्ठहरूले 'लेकाली' सुरु गरेको खबर हावाले कानसम्म ओसार्‍यो। रसिक दौडेर त्यतै लागे भने मञ्जुल, रामेश रायनहरूले राल्फा सन्तती सुरु गरेछन्। म संगीतमा त्यतिसारो ध्यान नदिने र गाउन पनि नसक्ने भएकाले त्यो समूहका सबैसँग आत्मीय सम्बन्ध भए पनि 'पुस्ता'मा सामेल भइनँ।

त्यो डेराको चोकमा बिहान ८ बजेतिर उभिएर एउटा कालोकालो छ्याके कुरूपजस्तै लाग्ने नेवार केटा त्यस बेला चलेको सबै हिन्दी सिनेमाका प्रेमगीतहरूलाई आफ्नै प्रकारले नेवारीमा चिच्याई चिच्याई गाउँथ्यो। त्यो उसले कसलाई सुनाएको होला भनेर हामी छक्क पर्थ्यो। 'तेरी प्यारी प्यारी सुरतको किसीकी नजर नलागे'लाई नेवारीमा अनुवाद गरेर त्यो कालो केटा बिहानभर जोडजोडले गीत गाउँथ्यो र हामीलाई मनोरञ्जन दिइरहन्थ्यो।

मञ्जुल धेरै व्यस्त हुन थाल्यो। गितार लिएर पूर्वी पहाडतिर क्रान्तिकारी गीतहरू लिएर डुल्न जाने भयो। रामेशको घर नै ओखलढुंगा भएकाले त्यहाँबाट गीत गाउँदै भोजपुर निस्कने कार्यक्रम बनाएर उनीहरू हिँडी पनि हाले। म भने कविताराम पनि कतैबाट आइपुगेकाले 'अस्वीकृत जमात' नामक एउटा चर्चित साहित्यिक जमात बनाउनतिर दौडधुप गर्न थालेँ।

म त प्रेम र विवाहबारे कुरा गर्न बसेको कहाँ पुगेछु। खैर, म फेरि त्यही विषयतिर लाग्छु। परशु दाइलाई व्यथित मन्त्री भएको बेला बोलाएर साझा यातायातको प्रशासकीय अधिकृत बनाएकाले हामी पाटन मंगलबजार नजिकै गाबहाल डेरा गरेर बस्न थाल्यौं। भुइँतलामा घरपट्टिहरूको 'ऐला-छोयला' पसल रहेछ।

हामी त्यहाँ पुगेको पनि मेरा एसएलसीका सहपाठी कुलबहादुर श्रेष्ठले दुवै परिवार एकै ठाउँ बसौं भनेर परशु दाइलाई भनेकाले त्यहाँ बस्न थालेका थियौं। कुलबहादुर दाइसँग काठमाडौंमा भेट हुनु पनि जीवनको एउटा अलिखित तर पूर्वनिर्धारित मोड रहेछ। एक दिन साझा यातायातकै नजिक कतैबाट म डुल्दै आइरहेको थिएँ। सहपाठी कुलबहादुर श्रेष्ठ अनायास भेट भयो।

उनले मलाई नजिकै रहेको झम्सिखेलनेर आफ्नो डेरामा लिएर गए। त्यहाँ उनले आफ्नी कान्छी बहिनीलाई चिया ल्याउन भनेँ। एउटी भर्खरकी गाउँले जस्ती लाग्ने बहिनीले चिया लिएर आई। सर्वप्रथम त्यही देखेको हो मैले मेरी हुनेवाला भावी पत्नीलाई। मलाई त्यही बेला त्यो केटी जसको नाम मञ्जु थियो राम्रो नै लागेको।

त्यो कुरा त मैले त्यसै बिर्संदै गइरहेको। पछि एकै घरमा डेरा लिएर बस्न थालेपछि पुराना क्षणहरूको सम्झना भयो। गाबहालको पुरानो पुरानो घरमा डेरा लिएर बस्न थालेपछि कुलबहादुरका भाइहरू जगदीश, विप्लवसँग पनि आत्मीयता र सम्पर्क बढ्दै गयो। हाम्रोतिर एउटा के चलन छ भने परिवारको एउटा व्यक्ति काठमाडौं आएर सानोतिनो जागिर खाएर बस्न थाल्यो।

पछि उनीपछिका सम्पूर्ण भाइबहिनीलाई पढाउने, खुट्टा टेकाउने जिम्मा त्यही कुल दीपकको हुन्छ। हुन पनि काठमाडौं आएर कुलबहादुरले यसो खुट्टा टेक्न लागेका थिए; सबै भाइबहिनीलाई हुर्काउने, पढाउने, खुट्टा टेकाउने जिम्मा उनकै काँधमा बाबुले थोपरिदिए। हाम्रो पनि त्यस्तै उनीहरूको पनि त्यस्तै। बाबु त्यसबाट छुट्टै पहाडमा बसिरहने।

परिवारको पहिलो सन्तानलाई भारी बिसाएर बाबु कर्तव्यबाट निवृत्तजस्तै हुने। गाउँघरका मानिस पनि सोध्दैखोज्दै त्यहीँ बसेर काठमाडौंमा आफ्नो सम्पूर्ण काम सिध्याउने उद्देश्य बोकेर आइपुग्ने। पैसा, माग्नु पनि छुद्रता देखिने र सित्तैमा बस्नु खानुको सुविधा उपलब्ध गराउनुपर्ने। यो व्यावहारिक झन्झटबाट पन्छिने उपाय नै थिएन र सायद अहिले पनि छैन। त्यस्तै विभिन्न सपनाहरूको कुटुरो बोकेर भोजपुरका कम्युनिस्ट पार्टीका महासचिव पूर्णलाल प्रधान पनि हामीसँग बस्न आइपुगे।

उनी दिनभर कताकता घुमेर बेलुकी टुप्लुक्क आइपुग्ने। उनलाई नेवारी पनि बोल्न आउने। तर, काठमाडौंका नेवारहरूले समेत उनको 'चखिन्चा' भन्ने शब्दलाई निकै आश्चर्य मानेर सुने। 'छस्काय, चखिन्चा'जस्ता नेवारी शब्दहरूले एक सुका या अलिकति (एकदम न्यून) भन्ने अर्थ राख्ने रहेछ। रक्सी खाँदा उनी यी शब्दहरू प्रयोग गर्थे र रक्सी बेच्न बसेका साहुनीहरू समेत छक्क पर्दै अलिकति रक्सी त्यसै थपिदिन्थे।

फागुपूर्णेको दिन। बिहानैदेखि भट्टीपसलमा आउनेजाने क्रम बढेको छ। हाम्रा पूर्णलाल दाइ पनि बिहानै देखि 'चखन्ची' लिएर गाबहालको चक्कर लगाउन थाले। म पनि उनकै साथ। कुलबहादुर दाइको बहिनी मञ्जु र भाइहरू एकले अर्कालाई अबिर दल्न थालेको मनोरञ्जन क्रियामा सामेल भइसकेका रहेछन्। हामी आफ्नै उत्तापमा मंगलबजार र पुरानो दरबार स्क्वायर, कृष्ण मन्दिर घुमेर फक्र्यौं।

खानासाना खाएर केही समय गफगाफ गरेर बस्नासाथ मञ्जु रुँदै हामी भए ठाउँ आइपुगी। 'मलाई तल त्यसै अबिर दलिदियो' भनेर ऊ रुन थाली। मलाई झोक उठ्यो। मैले उसलाई त्यो मान्छे देखाऊ भनेँ। त्यो मान्छे स्थानीय गुन्डा नै रहेछ। पहिले थाहा भएन, पछि थाहा भयो। त्यो त्यही महिमा पिर्कामा बसेर 'वासा' खान लागेको रहेछ। मैले त्यसको कमिज समातेर तान्दै दुई मुक्का लगाइहालेँ। त्यो केही नबोली मुख छोप्दै बाहिरियो। पूर्णलाल र म जितको खुसीमा कोठातिर लाग्यौं।

साँझपख एक हूल गुण्डाहरू लिएर त्यो मान्छे आइपुग्यो। 'ए पाखे बाहिर निस्की' भनेर हामीलाई लड्नलाई बोलाउन थाल्यो। घरवरिपरि गुण्डाहरू थुप्रन थाले। पूर्णलाल सम्झाउन भनेर गएको भर्‍याङमै बेस्मारी उसलाई कुटेछन्। मलाई लाग्यो, आज केही न केही बित्यास पर्ने भो। आफू पनि अलि केटाकेटी। भान्सामा गएर भोजपुरबाट ल्याएको खुकुरी खोज्न थालेँ।

भोजपुरे खुकुरी लिएर एकदुई जनालाई छप्काउँछु भनेर यसो बाहिर निस्कन लाग्दा ढोकैमा जानुका भाउजू (कल्पना प्रधान)। उहाँले हुँदैन बाबु तपाईं तल नओर्लनुहोस् भनेर बाहिरबाट भान्साको ढोका थुनेर ताला लगाइदिनुभयो। म भित्रै परेँ। रक्सी र रिसको आक्रोशमा मबाट ज्यान पनि मारिन सक्थ्यो।

हामीहरू रातभर रिस, डर र आक्रोशमा त्यो घरमा बसेर भोलिपल्टै रातको ३ बजेतिर काठमाडौं लाग्यौं। कसैले खबर गरेर जुराइदिएको मरु दक्षसाल (वसन्तपुर पछाडि) को एउटा पुरानो पुरानो खालको घरमा डेरा सर्‍यौं। केही सामानसमेत सार्न सकिएन। त्यो पुरानो घर बसुन्धरा मानन्धरको रहेछ। उनी सोझा र धनी नेवार रहेछन् त्यो टोलका। यो घटनापछि हामी सबै ललितपुरबाट काठमाडौं सर्‍यौं र ललितपुरतिर कहिल्यै पनि नबस्ने भयौं।

माथि भएको दुर्घटना भनौं कि घटनापछि सबैले मञ्जुलाई म मन पराउँदो रहेछु भन्ने अर्थ लगाए। दाजु भाउजूले पनि कुलबहादुर दाइसँग कुरा गर्न थालेका रहेछन्। बिस्तारै स्नातक सरस्वती क्याम्पसबाट ५७ प्रतिशत ल्याएर द्वितीय श्रेणीमा उत्तीर्ण भएपछि मैले लोकसेवा आयोगको परीक्षा दिएँ।

दुर्भाग्यवश पञ्चायतमा २ नम्बर नपुगेर म प्रथम हुन सकिनँ र विकासतर्फ शाखा अधिकृतमा घरेलु उद्योग कार्यालय दमौली, तनहुँमा खटाइए। त्यहाँ नै सुरु भयो नाचगान, राजनीति, यौन र जीवनको परिचय। एक वर्ष मादी खोलामा पौडी खेल्दै, छाप्दी बराहको बाटो बन्दीपुर घुम्दै बिताइदिएँ मैले।

२०२८ साल मंसिर ७ गते विवाह भयो मेरो त्यही मन्जुसँग, जसलाई मैले विभिन्न परिस्थितिले गर्दा चिनेको, जानेको थिएँ। अर्कोतिर उनका दाजु कुलबहादुर त मेरा सहपाठी नै भइगए, विद्योदय हाइस्कुल भोजपुरका। साधारण रूपले दुईतीन हजारमा विवाह गरियो गुह्येश्वरी मन्दिरमा। बेलुका वासा र मासु चिउरा।

कुलुङ भोजपुरका केही विद्यार्थी थिए भोज खाने, अखबारमाथि चिउरा थापेर खानेहरू। अरूको त नाम पनि आउँदैन खालि एउटा पवन आलोकचाहिँ तिनीहरूमध्ये एउटा थियो भन्ने अहिलेसम्म लागिरहन्छ। कवितारामको सल्लाहमा यो विवाह मज्जैसँग सम्पन्न भयो। उनकी श्रीमती चन्द्रा भाउजूको पनि निकै ठूलो सहयोग रह्यो त्यस बेला।

मरु दक्षसाल यसरी जीवनमा अमिट भएर गाँसियो। नजिकै रहेछन् शान्ति सुरभ। नेपाली र नेवारी संस्कृतिका अध्येता। उनी पनि निकै वर्षअगाडि दक्षिण अफ्रिकामा नै बितेछन्। सडकको मान्छेको भव्य विवाह समारोह गोरखापत्रे कागजमाथि चिउरा, छोइला र वासा खाएर सम्पन्न भयो।

त्यस बेला सम्झनुपर्ने एउटा कुरा छ। त्यो के भने कताकताबाट प्रसिद्ध साहित्यकार विजय मल्ल हामीलाई खोज्दै त्यहीँ आइपुगे। त्यो विवाहभोजको प्रमुख अतिथि नै उनी भए। उनीबाटै लोकार्पित भयो मेरो विवाह समारोह जुन क्षण सम्झँदा म गौरवान्वित हुन्छु। मेरो विवाहको प्रमुख साक्षी नै विजय मल्ल। जसको सान्निध्य र शुभाशिषबाट त्यो विवाह सिद्धियो।

विजय मल्लले पनि जमेर नेवारी प्रकारको भोज र मादक पदार्थ खाँदै संसारभरको कुरा गरे अभिनयसहित। लेख्न लागेको उपन्यासको चर्चा गर्दै लेखिसकेको कृतिबारे पनि गरे निकै विशद् व्याख्या।

विवाह भएर कार्यक्रम सिद्धिएपछि म न्युरोडतिर घुम्न निस्किएँ। आफैंलाई नियालेर हेरे जीवनको एउटा ठूलो मोडमा आइपुगेँ। तर संसार उस्तै छ, कुनै परिवर्तन भएको छैन र आफ्नै शरीर पनि उस्तै छ र विचार पनि उस्तै र विवेक पनि। आफूभित्र ठूलै परिवर्तन हुन्छ भन्ने एक किसिमको मानसिक डर पसेको रहेछ भित्र जब्बर तरिकाले।

त्यो 'डर' बिस्तारै शरीर छोडेर अनन्तमा बिलाउन लाग्यो सेकेन्ड, मिनेट र घन्टा हुँदै समयले हामीलाई छाडेर हिँडेजस्तै। 'भय'ले पनि त्यसरी नै छाड्ने रहेछ समयमा। त्यसैले 'भय'सँग अलिकति पनि 'भय' मान्नु हुँदैन भन्ने निष्कर्षमा पुगेँ म। के के न होला भन्ठानेको चर्चित कार्यक्रम त त्यसै फुस्स सकियो।

एउटा भनाइ सुनेको थिएँ , विवाह नगरेको मान्छे व्यावहारिक र पक्का हुँदैन भन्ने। म अब व्यावहारिक र पक्का भएँ भन्ने लाग्यो। तर आफूलाई टकटकाए– खै त म कति व्यावहारिक र पक्का भएँ त ? तुरुन्त परिवर्तन खोजेर कहाँ पाउनु ? त्यसरी आफूभित्र तुरुन्त परिवर्तन खोज्नु मेरै अव्यावहारिकता र अपरिपक्वता रहेछ भन्ने अहिले लाग्छ। जे भए पनि 'विवाह' नामसँग गाँसिएर आएको एकप्रकारको जिम्मेवारीको 'डर' विस्तारै स्वाभाविक रूपले हराउन थाल्यो। यो एउटा स्वाभाविक प्राकृतिक प्रक्रियामा जोडियो।

विजय मल्लसँग हाम्रो धेरैजसो भेट भइरहने। रानी रत्नकी बुबा हरिशमशेर जबराको महलमा उनका बुबा ऋद्धिबहादुर मल्ल सुब्बा थिए। त्यसैले विजय मल्ल दरबारबाट परिचित थिए।दरबारका काजीहरू सबैले विजय मल्ललाई राम्रैसँग चिन्ने। पछि पनि प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव हुनु र उपकुलपतिसम्म पुग्नु उनका लागि गाह्रो भएन। तर, २००७ सालमा कांग्रेसलाई साथ दिएका कारणले उनको छवि 'लोकतान्त्रिक' बनेको थियो।

उनका सम्पूर्ण रचनामा त्यो कुरा झल्कन्छ पनि। उनको एउटा कविता छ, 'झन्डा उठाउँदै आएको तिमीलाई सबैले देख्लान्'। 'विजय मल्ल्को कविता'मा संकलित उनका कविताहरू पढ्दा अत्यन्त प्रभावित भएको थिएँ म। 'छोरीलाई मानचित्र पढाउँदा' जस्तो कालजयी कविता थोरैले लेखेका छन्। विजय मल्लको शैक्षिक योग्यता खालि आईएसम्म मात्र भए पनि त्यस बेलाको चर्चित अस्तित्ववादबारे उनलाई राम्रो अध्ययन थियो।

मानवीय अस्मिताको खोजी उनको उपन्यास र कथाको मूल विषय हुन्थ्यो। विजय मल्ल र हाम्रो बीचमा पुल बनेका थिए ईश्वरमान रञ्जितकार। उनी विजयको घरमा निस्किरहन्थे र हाम्रो डेरामा पनि आइरहन्थे। विजयको भाइले चलाएको जोर गणेश प्रेसमा पनि जागिर दिलाइदिएका थिए मल्ल बन्धुहरूले। ईश्वरमान अत्यन्त राम्रा संकलन, अध्यवसायी र इमानदार व्यक्ति थिए।

उनको घरमा कैयौं अप्राप्य साहित्य सामग्रीहरू होलान्। त्यसको खोजी गर्नुपर्ने मलाई लाग्छ। नेपाली लेखक संघको पहिलो ख्रेसा पनि उनीसँग हुनुपर्छ। त्यो खेस्रा लेखेका थिए कथाकार गोविन्दबहादुर मल्ल गोठालेले। गोविन्दबहादुर मल्ल 'गोठाले' जति अन्तर्मुखी स्वभावका थिए त्यत्तिकै बहिर्मुखी थिए विजय मल्ल। विजयलाई चुरोट खाइरहनुपर्ने र गफ गरिरहनुपर्ने।

विजयको जीवनमा एउटैमात्र चिन्ता थियो— नौवटी छोरीहरू। छोरा हुन्छ भनेर पर्खंदा पर्खंदा लगालग छोरीहरू जन्मे। तिनै छोरीहरूमध्ये कोही छोरी ज्वाइँ अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्न थालेका थिए र विजय त्यहाँ घुमेर आइरहन्थे। ओहरदोहर राम्रै थियो। तर, उनले कहिल्यै पनि विदेश बस्ने चाह देखाएनन्। नत्र विदेश बस्नु उनका लागि कुनै आइतबार थिएन।

मेरो विवाहकै दिन उनले हामीलाई 'अनुराधा' उपन्यासको खाका पूरै सुनाएका थिएजस्तो लाग्छ। 'शारदा' पत्रिकाको प्रकाशनकालका दुःखहरू देवकोटा, सम, सिद्धिचरण र व्यथितबारे नयाँनयाँ कुराहरू सुनाइरहन्थे। जस्तो म अहिले मन्त्र, अस्वीकृत जमात, बुट पालिस अभियान, सडक कविता क्रान्तिकाबारे गफ गर्न र लेख्न पनि रुचाउँछु; त्यही र त्यस्तै अवस्था रहेछ विजयको त्यस बेला।

खास गरेर भवानी भिक्षुलाई सुब्बा ऋद्धिबहादुर मल्लले कसरी 'शारदा'मा काम दिएका थिए भन्ने विषय कोट्याइहाल्थे, हामी लठ्ठ परेर सुनिरहन्थ्यौं उनको कुरा। औसत उचाइका अलि कालाकाला लाग्ने विजय ठ्याक्कै नेवार देखिन्थे त्यस बेला। न मोटा न दुब्ला ठिक्कका। अर्का एकजना दरबारी कवि थिए नीरविक्रम प्यासी। भेट भयो कि कविताको एक वाक्यांश सुनाइहाल्ने।

त्यस बेला उनको कविताको एक हरफ निकै प्रसिद्ध भएको थियो-तँ पनि आगो म पनि आगो दुवैमा जलन। भेट भयो कि यही हरफ नाटकीय ढंगले सुनाएर मनोरञ्जन गरिरहन्थे उनी। बाहिरतिर 'मन' उपन्यासका लेखक लीलाध्वज थापा साइकल रोकेर साइकलमा 'फिट' गरेको ऐना हेर्दै जुँगा टिप्दै गरेको भेटिन्थे। भेट भयो कि 'मिस टेक? ' 'अन्डरल्यान्ड? ' भनेर छिल्लिरहन्थे।

कुनै खरेल थरका मित्र भेटमा 'क रेलचाहिँ कहाँ छ नि तपाईं ख श्रेणीको रेल हुनुभयो', भनेर जिस्क्याइहाल्थे। विशालनगरबाट साइकलमा दिनभर काठमाडौं घुमिरहन्थे उनी। एकपल्ट उनले भने, 'हेर न बिरामी नभए पनि बिरामीको बहाना बनाएर दुई महिना वीर अस्पतालको बेडमा सुतेँ म। नर्ससँग प्रेम भएपछि के गर्नु? म हाँस्थे र कतै लाग्थेँ।

कुनै पनि साहित्यिक समारोहहरूमा सभापति र वक्ताका रूपमा भेटिन्थे बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित। 'व्यथित'को वक्तृत्वकलाबाट प्रभावित नहुने व्यक्ति नै थिएनन् त्यस बेला। उनले 'राजनीति शौचालय हो र साहित्य भोजनालय हो' भन्ने भनाइ त्यस बेला निकै चर्चामा थियो। मोहन कोइरालालाई त्यस समयको विद्रोही पिँढीका कृष्णभक्त, द्वारिका, उपेन्द्र, मदन रेग्मीहरूले उचालेका थिए र बूढा पिँढीका स्वनामधन्यहरू मञ्जुल र मलाई निकै मन पराउँथे। जसरी बाजेले आफ्ना नातिलाई मन पराउँछन् नि, हो त्यस्तै खालको।

म दमौली जान मन नलागेर औलो उन्मूलन संघको कमलपोखरीस्थित प्रधान कार्यालयमा 'प्रशासकीय अधिकृत' पदमा नियुक्त भई काम गर्न लागेको थिएँ। मलाई कामको राम्रो जानकारी थिएन। त्यसैले उपप्रमुख रुद्रशंकर गिरी मलाई भेट भयो कि हप्काउन थाल्थे। प्रमुख थिए डा. राणा कृष्णजंग। उनी नेपालगन्जका हुनेखाने परिवारबाट आएका थिए र कविता पनि लेख्थे।

अमिजातपन उनको हरेक व्यवहारबाट झल्कथ्यो। उनले 'देश-लागि मन दुखाऊ' भन्ने कवितासंग्रह निकालेका थिए र मलाई प्रोत्साहन पनि दिइरहन्थे। उनलाई अहिले पनि देख्छु र उनको दीर्घायु देखेर आश्चर्य पनि लाग्छ। भर्खरै उनले तीनवटा कृति लोकार्पित गरेको खबर पढेँ। सायरी, गजल र मुक्तकमा उनको ठूलो रुचि थियो।

पछि उनी विश्व स्वास्थ्य संगठनमा काजमा खटिएर गए। म पनि विवाह हुनेबित्तिकै दाजुले छुट्याएर राख्न खोजिदिएको लगनटोलको डेराबाट डिल्लीबजार धोबीधारानेर सरेँ कार्यालय नजिक। लगनटोलको डेरा सर्वोच्च अदालतको न्यायाधीश जनकमान श्रेष्ठको घर थियो भने अहिलेको डेराका घरपट्टि थिए कवि कुमार नेपाल। कुमार नेपालको वास्तविक नाम थियो-काननलाल शर्मा नेपाल।

उनी प्रोफेसर शंकरप्रसाद नेपालका जेठा छोरा थिए। शंकरप्रसाद नेपाल शंकरदेव क्याम्पसमा पढाउँथे रे पहिला। अहिले निवृत्त जीवन बिताइरहेका। बिहानभरि लंगौटी मात्र लगाएर घर सफा गरिरहने र श्रीमीतसँग बोल्न छाडेको बीस वर्ष भइसकेको। कवि कुमार नेपालको 'चर्केको पर्खाल' भर्खरै निक्लेको थियो। उनको 'मैयाँ साहेबको डायरी' नामक कथाको निकै चर्चा थियो।

यौन साहित्यमा बीपीको 'कर्नेलको घोडा'पछि विजय मल्लको 'कालो चस्मा' दौलतविक्रम विक्रमको 'एक साँझ', पोषण पाण्डेको 'भिनाजुको स्वेटर' पछि उनकै कथाको चर्चा साहित्य जगत्मा थियो। बाहिरफेर डुलिरहेको बेला कुमार नेपाललाई 'दाइ भात खानु भयो ? ' भनेर या 'सन्चै हुनुहुन्छ ? ' भनेर कसैले सोध्यो भने उनी असाध्य रिसाइहाल्ने। जवाफ उस्तै बांगो र टिमुर्किएको हुने।

उनी त्यस्तो व्यक्तिलाई तुरुन्त जवाफ फर्काइहाल्ने, 'तैँले मात्रै भात खा होला होइन यो देशमा ? अरु त भोकै घुम्न निस्कन्छन्' अथवा 'बिरामी भएको भए ओछ्यानमै हुन्थे नि तँसँग भेट हुन्थ्यो त ? ' त्यसैले उनलाई चिन्नेहरू खालि नमस्कारमात्र गर्थे, केही बोल्दैन थिए। उनलाई पुतलीसडकनेर भेटेर उनको घर हेर्न गएँ। भुइँतलामा एउटा कोठा र भान्साको रु. ९०।- त्यति सस्तो पनि होइन र धेरै महँगो पनि होइन। रु. ४००।- तलब खाने मलाई त्यो भाडा ठीकै लागेको थियो।

मेरो कार्यालय कमलपोखरीको पोखरी नजिक भएकोले त्यो ठाउँ बस्न मलाई ठीक लागेकाले सरिहालेँ म त्यहाँ। पिता शंकरप्रसाद नेपाल भने श्रीमतीसँग नबोलेरै एउटै छानामुनि २० वर्ष बिताउन सक्ने भने छोरा कुमार नेपाल भने फुर्सद भयो कि श्रीमतीको चोलो सिएर दिनभरि बस्ने। अर्को भाइ जगदीश नेपाललाई यी कुनै पनि कुरामा कुनै रुचि थिएन।

उनी जनक शिक्षातिरै काममा व्यस्त र अलिकति पनि साहित्यिक थिएनन्। त्यही घर पर्दो रहेछ भवानी घिमिरेको ससुराली। अनि झापाका भवानी घिमिरे स्वाभाविक रूपले मेरा नजिक भए। हामी बिस्तारै सारै नजिक हुँदै गयौं, खानापान पनि मिल्यो हाम्रो। बेलुका भयो कि 'सांस्कृतिक कार्यक्रम'मा रुचि राख्ने। मद्यपानलाई भवानी घिमिरे संक्षिप्त सांस्कृतिक कार्यक्रम भन्ने गर्थे।

त्यस्तै एउटा संक्षिप्त सांस्कृतिक कार्यक्रमबाट फर्केर रातको १० बजेतिर डेरामा आउन लाग्दा गल्लीबाट एउटा पातलो व्यक्ति दौडेर भाग्यो मूल सडकतिर। एक हुन मानिसहरू लट्ठी बोकेर पछिपछि दौडेका 'चोर चोर' भन्दै। सबभन्दा अगाडि देखिए जगदीश घिमिरे खेद्नेहरूमा। मैले उनलाई भनेझै 'चोर त भर्खरै तिम्रै अगाडिबाट खुट्टा लतार्दै भाग्यो। तिमी त टक्क अडियौ। तिमी अगाडि बढेको भए समात्न सक्थ्यौ त चोरलाई किन टक्क रोकिएको ? '

उनले स्वाभाविक रूपमा भने, 'चोरलाई चिन्नु नलखेट्नु भने भनाइ छ। अझ नसमात्नु लखेट्नु मात्र भन्ने पनि नीति वचन छ। चोरलाई चिनिहालियो किन लखेट्नु ? ' मैले सोधेँ, 'को रहेछ त चोर ? ' उनी भोलि भनूँला भनेर डेरातिर लागे। उनी पनि नजिकै विमलराज बस्नेतको घरमा डेरा लिएर दुर्गा घिमिरेसँग बस्थे। छोराछोरी भएको थिएन।

भोलिपल्ट कार्यालयतिर लाग्ने बेलामा मैले फेरि जगदीशलाई भेटेर सोधिहालेँ, 'भोलि भन्छु भनेको होइन ? को रहेछ त चोर ? ' उनले हाँसेर भने, 'कथाकार सन्तोष भट्टराई।' 'ए त्यो अलि त्यस्तै छ...' भनेर म कमलपोखरीतिर लागेँ। धोबीधाराकै छेउमा जसलाई खास मूलधारा भनिन्छ, त्यसकै नजिकै दुई मित्रहरू पनि बस्थे-ओममणि शर्मा र मोहन घिमिरे।

ओममणि अहिलेसम्म अशेष मल्लको प्रत्येक नाटकमा बुद्ध पुरुष या पिताको अभिनय रिठ्ठो नबिराई गर्नमा जीवन बिताइरहेछन् र मोहन घिमिरे भर्खरै पुनरावेदन अदालतको विशिष्ट श्रेणीको न्यायाधीशबाट निवृत्त भएर घरमै थन्केका छन्। राम्रै कविता लेख्थे, आजभोलि लेख्न पनि छोडिसकेछन्। हामीहरू खास गरेर भवानी घिमिरे, कविताराम, मोहन घिमिरे, किशोर नेपाल, सन्तोष भट्टराई, हरि अधिकारी, ध्रुव सापकोटा प्रत्येक शनिबार मेरोमा अथवा मोहनकोमा भेला हुन्थ्यौं र देशको अवस्थाबारे चर्चा गरिरहन्थ्यौं।

उमेरले पनि भवानी घिमिरे निकै अग्रज भएकाले हामी उहाँलाई खुबै आदर गथ्र्यौं। उहाँको विरोधी भावनाहरू सुनेर र 'भानु' प्रकाशित गर्नमा उहाँले देखाउनुभएको उत्साह र जाँगरबाट प्रभावित पनि थियौं। त्यसरी चोर्नु हुन्छ ? के गरेको सन्तोष ? भनेर मैले सन्तोषलाई सोधेँ। 'कसले भन्यो ? ' भनेर ऊ जंगियो। जगदीशले भनेको भनेपछि ऊ चुप लाग्यो र भन्यो, 'त्यो जगदीश कुरै बुझ्दैन। त्यसै लठ्ठी बोकेर मेरोपछि दौडिहाल्यो। म उसको नजिक चोर्न गएकै होइन। उसको नजिकै दिउँसो विवाह भएको थियो र राति दुलहादुलहीको सुहागरात चियाउन गएको, मानिसहरूले 'चोर चोर'भन्दै लखेटिहाले।'

यस्तै थियो सन्तोष भट्टराई अत्यन्त अराजक। लंगडो भए पनि जताततै छतबाट हाम्फाल्न सक्ने। पुलबाट तल खोलामा हाम्फाल्न सक्ने। शरीरको अलिकति पनि माया नभएको। उनको बुवा पुष्कर भट्टराई वकिल थिए र सधैं किसुनजीकहाँ बिहानभरि बिताएर घर फर्कन्थे। बीपी भारतबाट मेलमिलाप भन्दै नेपाल फर्केपछि चाबहिलमा बस्दा उनलाई कानुनी सल्लाह दिने पनि उनै थिए।

सन्तोष र उनको पिताजी पुष्करको बारे अर्को एउटा कुरा पनि बताउन मन लाग्यो। दुवैजना सुरापानका अत्यन्त प्रेमी। एकपल्ट के भयो भने रातको ११÷१२ बजे दुवै बाबुछोरा एकैपल्ट घर पुगेछन्। छोरो भन्दो रहेछ, 'यो मेरो घर तँ के चोर्न आएको ? ' बाबु पनि छोरोलाई त्यही भन्दो रहेछ। हल्ला नि बढेपछि छिमेकीहरू उठेछन् र दुवैलाई घचेटेर घरभित्र हुल्दिएछन्। अब यस्तो हल्ला गरेमा नसहने जनाउ पनि दिएछन्। बाबु छोराले केही दिनपछि आफ्नो घर पस्ने समय परिवर्तन गरे रे।

हिजोआज सन्तोषको हालचाल के छ भनेर सोधेका एउटा मित्रले बताएअनुसार सन्तोषका दुवै छोरा अहिले डाक्टर भएका छन्। बाबु सन्तोष 'अल्कोहोलिक' भएकाले दुवै मिलेर बाबुलाई दाम्लोले बाँधेर राख्छन्। छोड्यो कि सन्तोष रक्सीपसलतिर गइहाल्ने।' यो निकै दुःखद खबर सुनेँ आजकल उनले लेख्न पनि छाडिसकेछन्– बाँधिएर कसरी कथा लेखिरहनु ?

नेपाल औलो उन्मूलन संघमा मलाई टिकिरहन गाह्रै भयो। डा. रुद्रशंकर गिरीले हप्काउनु त छँदैछ प्रमुख भएर आए डा. कल्याणमणि आचार्य दीक्षित। उनी सही गर्दा जहिले पनि डा. कल्याणमणि आचार्य दीक्षित एम.बी.बी.एस., एम.पी.एच. भनेर सही गर्थे। दिनमा १७ पटक कार्यालयवरिपरि घुमिरहन्थे र प्रत्येक स्टाफलाई तर्साइरहन्थे। उनी टंगालका नरेन्द्रमणि आदिका छोरा थिए र बहिरा थिए।

कानमा सुन्ने यन्त्र झुन्ड्याइरहने तर केही नसुन्ने। उनको तालझाल देख्दै मलाई घृणा लाग्ने। आफू प्रशासकीय अधिकृत भएकाले जिल्लाजिल्लाबाट औलो अधिकृत र प्रमुखहरूले पठाएका समस्याहरू सुनाउनुपथ्र्यो र म पत्रहरू पढ्दै समस्याहरू सुनाउन थाल्थेँ। उनी केही सुन्दैन थिए र झर्किरहन्थे। अनि मलाई पनि रिस उठ्थ्यो र भनिदिन्थे 'आफू बाहिरा छ केही सुन्दैन, यस्तालाई के बताइरहनु? '

अरू केही नसुन्ने कल्याणमणि 'बहिरा' भनेकोचाहिँ सुनिहाल्थे र उफ्रन थाल्थे, 'मलाई बहिरा भनेको ? गेट आउट।' म लुरुक्क आफ्नो ठाउँमा फर्कन्थेँ। यसरी दिन बित्दै गएको थियो। सामन्ती संस्कारमा हुर्किएका कल्याणमणि दोस्रा 'राणा' थिए। उनी डाक्टर भए पनि के गर्नु संस्कार पूरै सामन्ती।

जस्तो अहिले सुन्दरमणि दीक्षित त्यस्तै छन् भन्ने चर्चा सुन्छु। त्यो त मलाई राम्रो अनुभव छैन तर उनी मानवअधिकारवादी भएर चिच्याएको टीभीमा हेर्दा मलाई अट्टहास छाड्न मन लाग्छ। बैंककमा कुनै कामको सिलसिलामा गएको बेला डा. कल्याणमणिले पछाडिबाट आएको मोटरको हर्न सुनेनछन् र दुर्घटना भएछ। उनी त्यहीँ ढलेछन्। डाक्टरले अस्पतालमा उनलाई 'मृत' घोषणा गरिदिएछन् विचरा।

त्रिभुवन विश्वविद्यालयले त्यही बेला सुप्रिन्टेन्डेन्ट र असिस्टेन्ट रजिस्ट्रारको विज्ञापन निकाल्यो। मैले दुवै पदका लागि आवेदन दिएँ। त्यस बेला सभा मैले प्राइभेट परीक्षार्थीका रूपमा जाँच दिएर एमए (नेपाली) र एमए (राजनीतिशास्त्र) उत्तीर्ण भइसकेको थिएँ। दुई विषयमा स्नातकोत्तर गर्ने थोरै मात्र थिए। अन्तर्वार्ता लिने मुख्य व्यक्ति थिए त्यस बेलाका शिक्षाध्यक्ष डा. मोहनमान सैंजू।

उनी अत्यन्त बुद्धिमान्, दयालु र तीक्ष्ण प्रतिभाका व्यक्ति थिए भन्ने मलाई लाग्छ। उनले मलाई स्पष्ट भनिदिए, म तपाईंलाई सुप्रिन्टेन्डेन्टमा राख्छु। केही समयपछि तपाई असिस्टेन्ट रजिस्ट्रारमा बढुवा भइहाल्नुहुन्छ, म नै तपाईंलाई बढुवाका लागि सहयोग गरौंला भने। यसरी प्रोत्साहन दिने धेरै कम व्यक्ति देखेको छु मैले जीवनमा। त्यसपछि म निश्चित भएर डेरामा फर्केको, बाटैमा कतै चिया खान पस्दा चुरोट सल्काएर आफ्नै कोटको गोजीलाई एस्ट्रेजस्तो ठानेर चुरोट त्यहीँ फालेछु।

चुरोटले नयाँ कोटको गोजी सप्पै जलाएर धूवाँसहित खुसी हुँदै म डेरामा आइपुगेछु। श्रीमतीले पुत्पुताउँदो धुवाँ देखेर फालिदिई। आजपर्यन्त मेरो बेहोसीको कुरा गर्नुपर्दा श्रीमती त्यही कुरा उठाइहाल्छे। मलाई अहिले सोच्दा पनि छक्क लाग्छ। यसरी राम्रो भयो भन्नेसँगै एउटा विज्याइँ भएर छाड्यो। जीवनमा कैयौं कुरा यसरी नै बित्दै गएको आलो घाउ बोक्नु नै नियति बन्दै गएछ मेरो।

औलो छाडेर त्रिविको कर्मचारी भएँ म। त्रिविको सेवा आयोगमा। हाकिम थिए ज्ञानराज शाक्य र अध्यक्ष भगवतीप्रसाद सिंह पूर्वप्रधानन्यायाधीश। कडा स्वभावका थिए भगवतीप्रसाद सिंह। त्यस्तै कडा स्वभावका उपकुलपति सूर्यबहादुर शाक्य र रजिस्ट्रार जगतमोहन अधिकारी। जगतमोहन अधिकारी मनमोहन अधिकारीका भाइ थिए। उनी पछि क्यान्सरबाट बितेछन्।

दाजुभन्दा सायद अगाडि नै। त्रिविका थुप्रै प्राध्यापकसँग सम्पर्क भयो। त्यहाँबाट जाँचबुझ केन्द्रमा काजमा धेरै प्राध्यापक जाने गर्थे। तीमध्ये कवि मोहनहिमांशु थापा एकजना थिए। म पनि कवितामा एकदमै लागेकाले उनीसँगको सम्बन्ध मलाई विशेष लागेको थियो। उनी थापा क्षेत्री भएर पनि नेवार समुदायको बीचमा हुर्केकाले नेवारीमा कविता पनि लेख्न सक्थे र बोल्न पनि उस्तै।

यस्तै केही नेपाली भाषाका कविमा केही व्यक्ति छन् जो नेपालीमा लेखेर पनि नेपाल भाषामा त्यत्तिकै राम्रो दख्खल राख्छन्। तीमध्ये समकालीन कवि राजव र दिवंगत मित्र गोविन्द वर्तमान पनि हुन्। यी दुवै ब्राह्मण जातका भए पनि असाध्यै राम्रो नेवारी बोल्न सक्थे। म उनीहरूबाट जीवनमा निकै प्रभावित भएको निसंकोच स्वीकार गर्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.