एमालेलाई मधेस विरोधी स्थापित गर्न पूर्व गृहमन्त्रीको उर्दी
जनकपुर : पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधिले एमालेलाई मधेस विरोधी स्थापित गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार पार्टी केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा जनकपुरमा आयोजित २ नम्बर प्रदेश स्तरीय प्रचार प्रसार समिति विशेष भेलाको उद्घाटन कार्यक्रममा बोल्दै निधिले यस्तो निर्देशन दिएका हुन्।
‘संविधान संशोधनको विपक्षमा रहेको एमाले मधेस विरोधी पार्टी हो भन्नेकुरा जनता समक्ष चुनावको प्रचारप्रसार गर्दा भन्न छुटाउनु हुँदैन’, कार्यक्रममा प्रमुख अतिथि समेत रहेका निधिले भने, ‘संविधान संशोधन विधेयक मतदानमा लगेर त्यसको पक्षमा मत दिने र नदिनेलाई सजिलै फेला पार्न सकिने हुनाले यसबाट मधेसी जनताले मधेस विरोधी को हुन् भनेर ठम्याउन सक्नुपर्छ।’
निधिले एमाले संविधानको सर्वस्वीकार्यताको पक्षमा नरहेकाले यस्ता संघीयता विरोधीलाई मधेसी जनताले राम्रो सबक दिनुपर्ने बताए।
विशेष भेलामा सहभागी कांग्रेस नेता तथा खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले देशको राजनीतिको आँखा अहिले यसै प्रदेशमा केन्द्रीत भएको बताए। उनले भने, ‘२ नम्बर प्रदेशको निर्वाचन कांग्रेसका लागि ठूलो परीक्षा हो र यसलाई हामीले जसरी पनि उतिर्ण गर्ने पर्छ।’
मधेसले विगतमा पनि कांग्रेसको इज्जत जोगाएको हुनाले यसपटक पनि यहाँका मतदाताले पार्टीको योगदानको कदर गर्दै इज्जत जोगाउने दाबी उनले गरेका छन्।
मन्त्री यादवले भने, ‘पार्टीले सबै शक्ति अहिले दुई नम्बर प्रदेशमा केन्द्रित गरेको छ र यहाँबाट सय भन्दा बढी सिट जित्ने लक्ष्य जसरी पनि पूर्ति गर्नेछ।’
उनले चुनाव निर्धारित मितिमा हुन्छ हुदैंन् भनेर दोहोरो मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्। ‘दोहोरो मनस्थितिका कारण हामीले नकारात्मक परिणाम भोग्नु परेको हो। अब यसलाई अन्त्य गरौं’, यादवले भने, ‘असोज २ गते निर्वाचन गराउनमा नेपाल सरकार प्रतिबद्ध रहेको हुनाले कसैले पनि शंका गर्नु हुँदैन।’
भेलाबाट प्रेस युनियनको सक्रियतामा मिडिया सेन्टरहरुको गठन गरी निर्वाचन प्रचारप्रसारका लागि परिचालन गरिने समेत जानकारी गराइएको छ।
भेलामा मधेसका आठै जिल्लाका पार्टी सभापति लगायत केन्द्रीय नेताको उपस्थीति रहेको थियो। भेलाको सभापतित्व केन्द्रीय प्रचारप्रसार समितिका प्रमुख रमेश लेखकले गरेका थिए।