विकिन, सक्षम र मेलिनालाई स्वर्ण
काठमाडौं : सृजना ज्ञानसागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरिल्यान्डकी मेलिना मानन्धरले दोस्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर छात्र, सक्षम जुनियर छात्र र मेलिना खुला छात्रामा च्याम्पियन बनेका हुन्।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)को आयोजना तथा पुष्पकुञ्ज हाइस्कुलको संयोजनमा भएको प्रतियोगिताको सिनियर छात्रको फाइनलमा विकिनले राजन मेमोरियलका अनुप नेपाललाई १२–१०, ११–६, ११–६ को सोझो सेटमा पराजित गरे । हिमरश्मिका आश्विन अधिकारी र सेबका रेजिल गुरुङ संयुक्त रूपमा तेस्रो भए ।
सामाखुसीको मित्रनगरस्थित पुष्पकुञ्जमा भएको प्रतियोगिताको जुनियर छात्र फाइनलमा सक्षमले सृजना ज्ञानसागरका प्रवीण सापकोटालाई ६–११, ११–५, ११–१३, ११–३, ११–६ को सेटमा हराए । पुष्पकुञ्जका प्रतीक सुब्बा र जीसीएका प्रवीण भुसाल तेस्रो बने ।
खुला छात्राको उपाधि भिडन्तमा मेलिनाले ज्ञानमन्दिरकी रविना खत्रीको चुनौती १२–१०, ११–९, ११–५ को सीधा सेटमा समाप्त पारिन् । न्युटनकी विनिशा केसी र सृजना ज्ञानसागरकी प्रेमकुमारी तामाङले तेस्रो स्थानमा चित्त बुझाए । समग्रमा सृजना ज्ञानसागर टिम च्याम्पियन बन्यो । सृजना ज्ञानसागरले तीन स्पर्धा समावेश प्रतियोगितामा समान एक स्वर्ण, एक रजत र एक कांस्य जित्यो ।
विजेतालाई प्याब्सन प्रदेश नं. ३ का अध्यक्ष थकिनकुमार गुरुङ, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, पुष्पकुञ्जका संस्थापक प्रिन्सिपल एवं प्रतियोगिता संयोजक एकबहादुर आले, ओप्सका सचिव शिवप्रसाद अर्याल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शैलेन्द्र चिलवाल र ओप्सका ईसीए कोअर्डिनेटर राजेन्द्र कडरियाले पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न १८ विद्यालयका ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।