कांग्रेसबाहेकसँग तालमेल गर्ने एमालेको योजना

 कांग्रेसबाहेकसँग तालमेल गर्ने एमालेको योजना

काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत रहन एमाले चुनावमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छ । एमाले नेताहरूले २ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरिरहेका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनबाट कांग्रेसभन्दा ५० सिटले अघि रहेको एमाले कुनै पनि स्थितिमा एक नम्बरको स्थान गुमाउन नहुने निष्कर्षमा छ । पहिलो र दोस्रो चरणबाट एमालेले २ सय ७६ स्थानमा प्रमुख÷अध्यक्ष जितेको छ भने कांग्रेस २ सय २६ स्थानमा विजयी भएको छ । भरतपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

'कांग्रेस पहिलो हुनलाई २ नम्बरमा १ सय सिट जित्नुपर्छ भने एमाले शून्य हुनुपर्छ,' एमाले सचिव प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, 'यस्तो हुनु असम्भव छ । एमालेलाई पहिलो हुनबाट कसैले पनि रोक्न सक्दैन ।' २ नम्बर प्रदेशका १ सय २७ स्थानीय तहमा असोज २ गते तेस्रो चरणमा चुनाव हुँदै छ ।

२ नम्बरको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले एमालेले कांग्रेसबाहेक अन्य सबै पार्टीसँग चुनावी तालमेल गरेर 'जसरी पनि चुनाव जित्ने' रणनीति बनाएको छ । विगतमा 'शत्रुतापूर्ण' सम्बन्ध रहेको राष्ट्रिय जनता पार्टी (राजपा) सँग पनि चुनावी तालमेल गर्न एमाले तयार रहेको सचिव ज्ञवालीले बताए । 'मधेस समस्याको हल नहुनुमा मुख्य जिम्मेवार कांग्रेस हो भन्ने निष्कर्षमा राजपाका नेताहरू पुगिसक्नु भएको छ,' ज्ञवालीले भने,'राजपाले चुनावमा भाग लेओस् र चुनावबाटै आफ्ना एजेन्डा स्थापित गरोस् भन्ने पक्षमा एमाले स्पष्ट छ ।'

राजपालाई चुनावबाट वञ्चित गरेर कांग्रेसले २ नम्बर प्रदेशमा चुनाव जित्ने रणनीति बनाएको एमालेको बुझाइ छ । 'कांग्रेसको केन्द्रीय समिति बैठकमै राजपालाई चुनावबाट बाहिर राख्न सके २ नम्बर प्रदेशमा १ सय बढी सिट जित्न सकिन्छ भन्ने कुरा छलफल नै भयो,' सचिव ज्ञवालीले भने, 'यो कुरा राजपाले बुझेको छ, चुनावमा भाग लिनुपर्छ ।' राजपाका मुद्दा समेट्नेभन्दा उसलाई 'उपयोग' गरेर कांग्रेसले चुनावी फाइदा उठाइरहेको सचिव ज्ञवालीको तर्क छ । मधेसमा भएको आन्दोलन र राजपाका मागप्रति अनुदार भन्दै विगतमा २ नम्बर प्रदेशमा एमालेप्रतिको आक्रोशलाई साम्य पारी चुनाव जित्नु एमालेका लागि प्रमुख चुनौती भएको नेताहरू बताउँछन् । त्यसैले राजपालाई चुनावमा ल्याएर कांग्रेस र राजपाबीचको प्रतिस्पर्धाले आफूलाई फाइदा पुग्ने एमालेको विश्लेषण छ ।

'राजपाले भाग नलिए त्यो जनमत कांग्रेसमा जान्छ कि भन्ने हामीलाई लागेको छ तर ५ नम्बर प्रदेशको नतिजाले पनि एमाले डराउने स्थिति छैन,' एमालेका एक पदाधिकारीले भने । त्यसैले एमाले नेतृत्व राजपा जसरी पनि चुनावमा भाग लेओस् भन्ने पक्षमा छ । एमाले नेता पनि राजपासँग सम्बन्ध सुधारमा लागेका छन् । केही दिनअघि मात्र एमालेका दोस्रो तहका नेताले राजपाका नेतासँग औपचारिक छलफल गरेका छन् भने मधेसको राजनीतिमा प्रभावी नेतालाई धमाधम पार्टी प्रवेश गराइरहेका छन् ।

दोस्रो चरणको निर्वाचनमा राजपालाई चुनावमा भाग लिन कांग्रेसले रोकेको र अहिले पनि संविधान संशोधन प्रस्ताव पास फेल जे भए पनि संसद्मा लैजाऔं भन्ने कांग्रेसको प्रस्ताव राजपालाई चुनावमा रोक्ने प्रपञ्च भएको एमालेको आरोप छ । 'संशोधन पारित भए चुनावमा आफूलाई फाइदा पुग्छ र फेल भए एमालेलाई दोषी देखाएर चुनाव जित्न सकिन्छ भन्ने कांग्रेसको प्रपञ्च हो,' ज्ञवालीले भने, 'राजपाका माग सम्बोधन गर्नलाई हुँदै होइन ।'

चुनाव जित्न एमालेले उम्मेदवार छनोटमा विशेष ध्यान दिने जनाएको छ । दोस्रो चरणको निर्वाचनमा पार्टीको पोजिसन राम्रो भएका कतिपय स्थानमा उम्मेदवार मिलाउन नसक्दा चुनाव हारेको विश्लेषणसहित २ नम्बर प्रदेशमा 'गुट÷उपगुट' नभनी चुनाव जित्ने मान्छेलाई मात्र टिकट दिने मनस्थितिमा एमाले छ । 'जनतामा लोकप्रिय र चुनाव जित्नेलाई नै प्राथमिकता दिएर उम्मेदवार छनोट हुँदै छन्,' सचिव ज्ञवालीले भने ।

एमालेले २ नम्बर प्रदेशमा चुनावी मोर्चा हाँक्न पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारीलाई जिल्ला तोकेर पठाएको छ । महासचिव पोखरेललाई महोत्तरी जिल्लाको जिम्मा दिइएको छ भने उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई क्रमशः बारा र रौतहटको जिम्मेवारी तोकिएको छ । यस्तै, सचिव पृथ्वी सुब्बा गुरुङलाई पर्सा, प्रदीप ज्ञवालीलाई सिरहा, भीम आचार्यलाई सप्तरी, गोकर्ण विष्टलाई सर्लाही र योगेश भट्टराईलाई धनुषाको जिम्मेवारी तोकिएको छ । 'अहिले हामी उम्मेदवार छनोट, दलसँग चुनावी तालमेललगायत आन्तरिक तयारीमा छौं,' सचिव ज्ञवालीले भने, 'भदौबाट हामी विशेष अभियान लिएर प्रदेशमा जाँदै छैाँ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.