के छ मधेस जित्ने माओवादी रणनीति ?

के छ मधेस जित्ने माओवादी रणनीति ?

काठमाडौं : दुई चरणको निर्वाचनमा अपेक्षित सफलता नपाएको माओवादी केन्द्रले प्रदेश २ को निर्वाचन पक्षमा पार्न विशेष कार्यक्रम सुरु गर्ने भएको छ ।साउन १६ गते जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षणमार्फत शीर्ष नेतालाई नै मधेसमा उतार्ने योजना उसले बनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतले निर्वाचनकेन्द्रित प्रशिक्षण दिने प्रदेश २ का नेता गोपाल ठाकुरले बताए । 'मधेसका करिब ५ सय अगुवा कार्यकर्तालाई अध्यक्षलगायत नेताले प्रशिक्षण दिनुहुन्छ,' ठाकुरले अन्नपूर्णसँग भने, 'त्यसपछि केही योजना बनाएरै पार्टी निर्वाचनको मुभमेन्टमा होमिनेछ ।'

माओवादीले साउन १७ गते जनकपुरमै पार्टी अध्यक्षको उपस्थितिमा प्रदेश २ मा कार्यक्षेत्र रहेका पार्टी पोलिटब्युरो सदस्यको बैठक बोलाएको छ । निर्वाचन रणनीति बनाउन बैठक बोलाइएको नेता युवराज भट्टराईले जानकारी दिए । अध्यक्ष दाहाललगायत शीर्ष नेतालाई नै २ नम्बर प्रदेशअन्तर्गतको वीरगन्ज महानगरपालिका, तीन उपमहानगरपालिका र पार्टीले जित्ने सम्भावना देखिएका अन्य स्थानीय तहका विभिन्न कार्यक्रममा सहभागी गराउने योजना बनेको नेताहरूले बताएका छन् ।

अध्यक्षलगायत शीर्ष नेतालाई नै २ नम्बर प्रदेशअन्तर्गतका पार्टीले जित्ने सम्भावना देखिएका स्थानीय तहका चुनावी कार्यक्रममा सहभागी गराइने ।

मधेसका ८ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदै छ । माओवादीका २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले कम्तीमा यस प्रदेशबाट ४४ स्थानीय तहमा जित्ने आकलनसहितको रिपोर्ट हेडक्वार्टरमा बुझाएका छन् ।

जिम्मेवारी बाँडफाँट

माओवादीले निर्वाचन तयारीका लागि मधेसमा कार्यक्षेत्र रहेका नेता तथा सांसदलाई आठवटै जिल्लामा जिम्मेवारी बाँडफाँट गरेर परिचालन गरिसकेको छ । पार्टी हेडक्वार्टरकै अन्य नेतालाई पनि निर्वाचनका लागि दुई नम्बर प्रदेशमा परिचालन गर्ने उसको तयारी छ । यसको निर्णय भने साउन १७ गते बस्ने पोलिटब्युरो बैठकले गर्ने बताइएको छ ।

प्रदेश इन्चार्ज यादवका अनुसार पर्सामा उर्मिला अर्याल, रौतहट र बारामा सहरी विकास मन्त्रीसमेत रहेका नेता प्रभु साह, महोत्तरी र सर्लाहीमा स्वास्थ्यमन्त्रीसमेत रहेका नेता गिरिराजमणि पोखरेल, धनुषामा मातृका यादव र सिरहा-सप्तरीमा विश्वनाथ साह भने परिचालन भइसकेका छन् ।
सहरी विकासमन्त्री साह अहिले पनि मधेसमै छन् । उनी १७ गते मात्र काठमाडौं फर्किने गरी रौतहटमा परिचालित भइरहेको उनको सचिवालयले जनाएको छ ।

कतिपय स्थानमा माओवादीले उम्मेदवारसमेत चयन गरेर चुनावी प्रचार अभियान तीव्र पारेको छ । असार १४ अघि नै माओवादीले प्रदेश २ का अधिकांश स्थानीय तहमा उम्मेदवार चयन गरिसकेको थियो । तर, केही ठाउँमा उम्मेदवारी हेरफेर हुन सक्ने नेताले बताएका छन् । सामाजिक सम्बन्ध राम्रो भएका नेतालाई प्राथमिकता दिएर उम्मेदवार चयन गनुपर्ने आवाज पछिल्लो सचिवालय बैठकमा चर्को रूपमा उठेको थियो । 'माओवादीका उम्मेदवार सामाजिक नहुँदा, समाजसँग अन्तरघुलन हुन नसक्दा पनि पराजित हुन पुगेका छन्,' भट्टराईले अन्नपूर्णसँग भने, 'अब उम्मेदवार चयन गर्दा यसमा विशेष ध्यान दिइनेछ ।'

माओवादीले यसअगाडिका निर्वाचनमा जस्तो सबै पक्षसँग चुनावी तालमेल नगर्ने रणनीति बनाएको छ । 'मधेसमा संघीयता पक्षधर एजेन्डा मिल्ने शक्तिसँग मात्र अब पार्टीले चुनावी तालमेल गर्नेछ,' भट्टराईले भने ।

दोहोरो मापदण्ड

दुई नम्बर प्रदेशको निर्वाचनसम्मुखमा माओवादीले मधेसमा दोहोरो रणनीतिसमेत अख्तियार गरेको छ । प्रदेश इन्चार्ज मातृका यादवले अन्य मधेसकेन्द्रित दलका नेतालाई पनि साथमा लिएर 'मधेस भ्वाइस एसेम्ब्ली' गठन गरी 'समग्र मधेस एक प्रदेश' को अभियान थालेका छन् ।

पार्टीभित्रै यादवको यस्तो अभियान आलोचित भइरहँदा अध्यक्ष दाहालले भने कुनै प्रतिक्रिया दिएका छैनन् । यादवको अभियानबाट माओवादीले मधेसका जनतालाई आफूतिर तान्ने र मुद्दा मिल्नेहरूको चुनावी मोर्चा बनाउन प्रयास गर्ने रणनीति बनाएको देखिन्छ । यसले पार्टीभित्रै विवाद ल्याउने देखिएको छ । तर, यादवले यो विषय आफूले पार्टीमा दर्ज नै गरेर अयिभान थालेको बताएका छन् । 'माओवादी पार्टीहरूको एकताकै बेला यसलाई एकताको आधारका रूपमा स्वीकार गरिएको छ,' यादवले भने, 'यसमा विरोध गर्नुको अर्थ छैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.