जिल्ला न्यायाधीश सरुवा छिट्टै

जिल्ला न्यायाधीश सरुवा छिट्टै

काठमाडौं : न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा तयारी गरेको छ । चाँडै परिषद् बैठक बसी सरुवाको निर्णय गरिने भएको छ ।यसअघि ०७२ सालमा जिल्ला न्यायाधीश सरुवाको निर्णय भएको थियो । परिषद्ले यसपटक पायक पर्ने जिल्लामा सरुवाको गृहकार्य गरेको हो । 'जिल्ला न्यायाधीशको सरुवा गर्ने समय भएको छ ।

अहिले हामी त्यही गृहकार्यमा छौं', परिषद्का सचिव राजन भट्टराईले अन्नपूर्णसँग भने, 'सकभर पायक पर्ने जिल्लामै सरुवा गर्ने कुरा छ ।' सचिव भट्टराईका अनुसार सरुवा प्रयोजनका लागि यतिबेला न्यायाधीशबाट अनलाइन फारम भराउने काम चलिरहेको छ । अनलाइनमार्फत विवरण लिएपछि अध्ययन मूल्यांकन गरी पायक पर्ने स्थानमा सरुवा गरिनेछ ।

'कुन जिल्लामा कति न्यायाधीश छन् र कहाँ जान इच्छुक हुन् भन्ने विवरण लिएपछि परिषद् बैठक बसेर निर्णय गर्छ', उनले भने । ३१ जिल्लामा एकभन्दा बढी न्यायाधीश छन् भने हिमालीसहित ४४ जिल्लामा एक जना मात्र छन् । काठमाडौं जिल्ला अदालतमा सबैभन्दा बढी ३३ न्यायाधीश छन् । परिषद् सचिवालयबाट न्यायाधीशको विवरण संकलन भइसकेपछि सरुवाका लागि चाँडै बैठक बोलाउने तयारी छ ।

जिल्लामा काम नभएको मौका पारी अधिकांश न्यायाधीश सुविधायुक्त स्थानमा सरुवाका लागि काठमाडौं आएर दौडधूपमा लागेका छन् । न्याय परिषद् ऐन २०७३ को दफा २७ मा साधारणतया एउटा अदालतमा दुई वर्षको कार्यकाल पूरा गरिनसकेका जिल्ला र उच्चका न्यायाधीशलाई सरुवा नगर्ने व्यवस्था छ । ऐनअनुसार न्यायाधीशलाई एउटै अदालतमा दोहोर्‍याएर सरुवाको निर्णय नहुने भनिएको छ ।

स्रोतका अनुसार न्यायाधीश सरुवामा हिमाली, पहाडी, तराई र काठमाडौंको अनुभव हुने गरी मिलाउने प्रयास भइरहेको छ । यसरी मिलाउँदा दुर्गम क्षेत्रका अदालतमा रहेकाहरू सुगममा र सुगममा कार्यरतहरू दुर्गममा पुग्न सक्छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकालको अन्तिम समयमा परिषद्मा किचलोका कारण बैठकसमेत बस्न नसक्ने परिस्थिति बनेको थियो । त्यही कारण सरुवा र न्यायाधीश नियुक्तिको कामसमेत अड्किएको थियो।

जिल्ला न्यायाधीशको सरुवापछि मात्र सर्वोच्चमा रिक्त चार पदमा नियुक्ति प्रक्रिया थालिने भएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश छन् । सर्वोच्चमा २१ न्यायाधीश रहने व्यवस्था छ । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कार्की, न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र जगदीश शर्मा पौडेलको अवकाशपछि चार पद रिक्त भएको हो । नियुक्तिमा उच्च अदालतका मुख्य न्यायाधीशबाट दुई र कानुन व्यवसायीबाट दुई जना ल्याउने गृहकार्य चलिरहेको स्रोतले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.