श्रमदानका लागि महिलाकै भर
लापु (गोरखा) : भुइँचालोले भत्काएको कालरात्रि मावि लापुको भवन पुनर्निर्माणका लागि गुम्दाको लप्सीबोटबाट रड बोक्ने जिम्मा स्थानीयको काँधमा आयो । पुनर्निर्माण गर्दा पुरुषले ज्यालाको काम गरेका थिए । श्रमदान गरेर रड बोक्न भने महिलाको मात्र धुइरो लाग्यो ।
माहिला नेपाल नामक एक गैरसरकारी संस्थाले सञ्चालन गरेको खानेपानी आयोजनाका लागि पाइपलाइन खन्ने काम पनि गाउँलेको जिम्मा थियो । पुरुषहरू ज्याला-मजदुरीमा थिए । श्रमदानबाट पाइपलाइन खन्ने कामका लागि महिला नै जुटे ।
यी केही उदाहरण मात्र हुन् । यसैगरी यहाँ श्रमदानबाट गर्नुपर्ने काममा पुरुषभन्दा धेरै महिला नै जुट्ने गर्छन् । 'पहिल्यैदेखि यस्तो चलन छ गाउँमा', गणेश गुरुङले भने, 'पुरुष पैसा कमाउने काममा जान्छन् अनि सामाजिक काममा महिला मात्र हुन्छन् ।' सामाजिक काममा जाने पुरुषको संख्या थोरै संख्या थोरै रहेको उनको भनाइ छ । '९५ प्रतिशत महिला नै हुन्छन्', उनले भने ।
वैदेशिक रोजगारीका कारण गाउँमा पुरुषको संख्या न्यून छ । भएकाहरू पनि ज्याला तथा निमेकमा काम गर्नुपर्छ । लापुमा हरेक घरबाट तीन÷चारजना वैदेशिक रोजगारीमा गएको स्थानीय शिक्षक वीरबल गुरुङ बताउँछन् । 'अझ कसैको घरबाट त चारपाँचजना पनि वैदेशिक रोजगारीमा गएको देखेको छु', गुरुङ भन्छन्, 'त्यसैले गाउँमा पुरुष कम छन् । भएका पुरुष पनि घरखर्च जुटाउन ज्यालादारी काममा जानुपर्छ । अनि श्रमदान गर्ने काममा महिला मात्र हुन्छन् । पुरुषहरू कत्ति पनि नहुनेचाहिँ होइन ।'
लापुमा मात्र होइन, वैदेशिक रोजगारीमा गएका अधिकांश ग्रामीण भेगमा श्रमदान गर्नुपर्ने काममा महिलाको संख्या उल्लेख्य हुने गरेको छ । पुरुषको र महिलाको ज्यालामा विभेदका कारण यस्तो हुने गरेको लाप्राकका मार्सिङ गुरुङ बताउँछन् । 'लाप्राकतिर सामाजिक काम गर्नुपर्यो, श्रमदान गर्नुपर्यो भने सयमा १५ जना मात्र पुरुष हुन्छन् । अरू सबै महिला नै हुन्छन्', उनले भने ।
घरमा महिला छैनन् भने छिमेकी महिलालाई ज्याला दिएर पनि श्रमदान गर्न पठाउने चलन रहेको उनको भनाइ छ । 'यतिसम्म हुन्छ कि आफू ज्यालादारीमा काम गर्न जान्छन् अनि श्रमदान गर्नुपर्ने ठाउँमा अरू महिलालाई ज्यालामै पठाउँछन्', उनले भने, 'कसैकसैले एकजना पुरुषबराबर दुईजना महिलाका दरले पनि श्रमदान गर्न पठाउने गर्छन् ।'