पर्यटक तान्दै बेनीको लभ्लीहिल
बेनी : बेनी नगरपालिका-२ खबरा पर्ने 'लभ्लीहिल' आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभान अवस्थित बेनीबजार, म्याग्दी र पर्वतको तल्लो भेगका अधिकाँश बस्तीहरु र धौलागिरि लगायतका हिम श्रृङखलाको अवलोकन गर्न सकिने लभ्लीहिलमा उपभोक्ता समितिको सक्रियतामा आवश्यक पूर्वाधार निर्माण गरिएपछि पर्यटकको रोजाइमा पर्दै गएको हो ।
बेनीबजारबाट आधा घण्टाको पैदलयात्रापछि पुगिने लभ्लीहिलमा गत आर्थिक बर्ष २०७३/०७४ मा बेनी नगरपालिका र पर्यटन कार्यालय पोखराको सहयोगमा गोलघर सहितको वि श्रामस्थल, रेलिङ, आराम गर्न विभिन्न स्थानमा फलामे बेञ्चको व्यवस्था गरिएपछि आन्तरिक पर्यटकको सँख्या ह्वात्तै बढेको छ । उच्च स्थानमा अवस्थित लभ्लीहिलबाट चौतर्फी अवलोकन र प्राकृतिक आनन्द लिन सकिन लभ्लीहिल पुगेका रघुगंगा गाउँपालिका-२ का निरोज कार्कीले बताए ।
'बेनीबजार कस्तो देखिन्छ भनेर हेर्ने ठाउँ यो उपयुक्त छ, मौसम खुलेको बेला धौलागिरि हिमाल पनि देख्न सकिन्छ', उनले भने, 'गुम्सिएर बसेको बेनीबजारबासी र आन्तरिक पर्यटक यहाँ आएपछि आनन्द महसुस गर्छन ।' दुई नदीको बिचमा अबस्थित सुन्दर शहर बेनीबजारलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउँदा मनै फुरुङ्ग हुने उनको अनुभव छ । गत आबमा पर्यटन कार्यालय पोखराको ५ लाख, बेनी नगरपालिकाका साढे ४ लाख र स्थानीयको साढे २ लाख रुपैयाँ बराबरको श्रमदानमा लभ्लीहिलको शिरमा आकर्षक गोलघर सहितको वि श्रामस्थल, पाँच ठाउँमा आकर्षक आरादायी फलामको बेञ्च र डिलमा सुरक्षाको लागि १८८ मिटर रेलिङ निर्माण गरिएको लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताए।
चालु आर्थिक बर्षलाई वडा- २ ले लभ्लीहिलमा पर्यटन पूर्वाधार निर्माणको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट हाँडेभिर हुँदै लभ्लीहिल पुग्ने नयाँ पदमार्ग निर्माण कार्य सुरु गर्ने योजना बनाईएकोे अध्यक्ष कार्कीले बताए । अहिले बेनीबजारबाट लभ्लीहिलसम्म पुग्न घोरेटो बाटो भएपनि त्यसलाई स्तरोन्नति गरेर सिढी सहितको पदमार्ग बनाउने योजना समितिसँगले अघि सारेको छ । 'बेनीबजार नजीकै रहेपनि अहिलेसम्म कतैबाट पनि महत्व नपाएर ओझेलमा परको लभ्लीहिलले विस्तारै चर्चा बटुल्न थालेको छ, व्यवस्थित पदमार्ग निर्माणसंगै लभ्लीहिलमा आकर्षक भ्यू-टावर निर्माण गर्ने योजना बनाएका छौँ', उपभोक्ता समितिका अध्यक्ष काकीले भने, 'सबैक्षेत्रबाट आबश्यक सहयोग प्राप्त भएमा चालु बर्षभित्रै यसलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेछौँ ।'
लभ्लीहिलमा विशेषगरि युवायुवतीहरु ीवहान-बेलुका र बालबालिका तथा तिनका अभिभावकहरु शनिवार र बिदाको दिन त्यहाँ पुगेर मनोरञ्जन लिने गरेका छन् । अग्लो र चुच्चे परेको ठाउँबाट आकर्षक दृश्यहरु देखिने भएकाले स्थानीयले खाडाको डाँडालाई परिर्वतन गरि यसलाई लभ्लीहिल नामाकरण गरेका हुन् ।
आवश्यक भौतिक पूर्वाधारको विकासँगै उपभोक्ता समितिले व्यवस्थित पदमार्ग, भ्यूटावर, फोहोर व्यवस्थापन, सार्वजनिक सौचालय निर्माण, खानेपानीको सुविधा, होटल तथा रेष्टुरेन्ट र बगैचा निर्माण जस्ता योजनाहरुलाई अघि सारेको छ । 'पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा रहेको बेनीबजार आफैमा पनि सुन्दर छ, यहाँ आउने पर्यटकलाई हामीले लभ्लीहिलमा पुग्ने वातावरण तयार गर्दैछौँ', बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले भने, 'यसलाई उच्च प्राथामिकता दिएर काम अघि बढाएका छौँ ।'