मेयर आफै ताते रंगशाला बनाउन
बनेपा : वर्षौंदेखि विवादमा रहेको पनौती रंगशाला निर्माणका लागि पनौती नगरपालिकाका मेयर आफैं लागिपरेका छन् । पनौती नगरपालिका-७ स्थित सिरानचौरमा ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको क्षेत्रीय रंगशालाको करिब १८ रोपनी जग्गा स्थानीय कँडेल परिवारले नगरपालिकालाई नदिएपछि रंगशाला निर्माणको कामले गति लिन सकेको थिएन । स्थानीयवासीसँगको विवादका कारण लामो समयसम्म काम हुन नसकेको रंगशाला बनाउन नगरपालिका मेयर आफैं लागेका हुन् ।
रंगशालाको करिब ४२ रोपनी सार्वजनिक जग्गासँगै स्थानीय गणेशकुमारी कँडेल र नानीगीता कँडेलको १७ रोपनी १४ आना दुई पैसा जग्गा पनि परेपछि विवाद उत्पन्न भएको थियो । कित्ता नं. १३२ मा करिब १८ रोपनी जग्गा आफ्नो रहेको भन्दै निर्माण कार्य रोक्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा काभ्रेमा कँडेल परिवारले निवेदन दिएपछि रंगशाला निर्माण अलपत्र बनेका थियो ।
स्थानीय राजनीतिक दल, नगरपालिका र कँडेल परिवारबीच भएको लिखित सम्झौता कार्यान्वयन नभएपछि कँडेल परिवारले पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए । २०७० वैशाख ३ गते अदालतले कँडेल परिवारको नाममा रहेको जग्गामा रंगशाला नबनाउनू भन्ने फैसला सुनाएको थियो ।
सिंगो नगर, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, प्रशासन र नवनिर्वाचित जनप्रतिनिधिले बारम्बार सहमतिका लागि पहल गर्दा पनि कँडेल परिवारले नमानेको र उक्त जग्गा ३१ सालअघि सार्वजनिक रहेको भन्दै रंगशाला निर्माणको काम अघि बढाएको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताए । ‘व्यक्तिगत स्वार्थमा भन्दा पनि सिंगो नगरको विकास खोजेका हौं’, उनले भने, ‘रंगशाला नगरको मात्र नभई राष्ट्र र जिल्लाको सान भएकाले आयोजनालाई निरन्तरता दिन आफैं मैदानमा उत्रिएको हुँ ।’
उनले सरकारको करोडौं रुपैयाँ खर्च भइसकेकाले रंगशालालाई जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए । ‘सरकारको करोडौं रुपैयाँ लगानी भइसक्यो । व्यक्तिका स्वार्थका कारण अब रंगशाला निर्माणको काम रोकिँदैन’, उनले भने । काभ्रे २ नम्बर क्षेत्रका सांसद रामहरि सुवेदीलगायत स्थानीयवासीले पनि उक्त जग्गा २०३२ सालको नापीअघि सार्वजनिक रहेको र पछिमात्र व्यक्तिका नाममा दर्ता भएको बताउँदै आएका छन् ।
रंगशाला निर्माणको गुरुयोजनामा परेको कँडेलको १३२ कित्ता नम्बर रहेको १७ रोपनी १४ आना २ पैसा जग्गा २०३३ सालमा नापी भएको हो । तत्कालीन समयमा बसुन्धरा केसी प्रधानपञ्च, गोविन्दप्रसाद सुवेदी उपप्रधानपञ्च तथा तीर्थबहादुर बस्नेतलगायतका पदाधिकारी रहेको बेला गंगाप्रसाद कँडेलको नाममा उक्त जग्गा नामसारी भएको थियो । गंगाप्रसाद कँडेलको मृत्युपछि उनका दुई श्रीमती गणेशकुमारी र नानीगीता कँडेलको नाममा जग्गा नामसारी भएको हो ।
पाँच हजार दर्शक अट्ने क्षमता रहने गरी निर्माण हुने भनिएको क्षेत्रीय रंगशालामा स्टेडियम ग्राउन्ड, प्याराफिट, कम्पाउन्ड वाल, मुख्य द्वार, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल, कभर्ड हललगायतका संरचना निर्माण हुने तयारीमा छन् । बहुवर्षे आयोजना भएकाले नेपाल सरकारले पटकपटक बजेट छुट्ट्याए पनि विवादका कारण बजेट फिर्ता हुँदै आएको छ ।