ग्रामीण सडकको यात्रा भगवान् भरोसामा

ग्रामीण सडकको यात्रा भगवान् भरोसामा

हेटौंडा : कैलाश गाउँपालिकास्थित पकनीबाट दामन डाँडाबास सडक हुँदै त्रिभुवन राजपथको दामनसम्म यात्रुबाहक बस सञ्चालनमा आएको पाँच वर्ष बितिसक्यो । तर बर्खामा पकनीबाट दामनसम्म बसयात्रा गर्न ठूलै जोखिम मोल्नुपर्छ ।ठाउँठाउँमा बिग्रिएको हिलाम्मे सडक पार गर्दै खचाखच भरिएको बस दामन नआइपुग्दासम्म यात्रुको मन थिरमा हुन्न । ‘दिन बित्दै जाँदा सडक राम्रो हुँदै जानुपर्ने हो, तर बसजस्तै सडक पनि थोत्रो हुँदै गएको छ’, पकनीका राजन लामाले गुनासो गरे, ‘थोत्रो बस, हिलो र बिग्रिएको बाटोमा ज्यानकै माया मारेर यात्रा गर्नुपर्छ ।’

चुनियाँ नामटार कालिकाटार सडकको पनि अवस्था दामन डाँडाबास पकनी सडकको जस्तै छ । ‘नामटार कालिकाटार बस चल्न छाडेको दुई महिना भइसक्यो, नामटारबाट चुनियाँसम्म पनि बस मुस्किलले सञ्चालन भइरहेको छ’, कालिकाटारका नवीन रिजालले भने, ‘सरकारले सडक त सबै ठाउँमा पु¥यायो तर स्तरीकरण गर्न नसक्दा मोटर सञ्चालनमा सधैं समस्या हुने गरेको छ ।’

ग्रामीण सडकको भन्दा निर्माणाधीन राष्ट्रिय सडक आयोजना धरान–चतरा सडकअन्तर्गत हेटौंडा–फापरबारी सडकको अवस्था दयनीय छ । ‘हटियादेखि फापरबाही हुँदै राईगाउँसम्म हिलाम्मे नभएको सडक भेट्न मुस्किल छ’, छतिवनका होमनाथ चौंलागाईले भने, ‘धरान–चतरा सडक आयोजनाले पुरानो सडक भत्काए पनि नयाँ सडक निर्माण गरिनसकेकाले यस्तो समस्या आएको हो।’

बर्खाका कारण ४० प्रतिशत ग्रामीण सडकमा चल्ने बस थन्किएका छन् । बाँकी सडकमा भगवान् भरोसामा बस चलिरहेका छन् । -सरोज खनाल, महासचिव, नारायणी यातायात व्यवसायी संघ

जिल्लाका ४० प्रतिशत ग्रामीण सडकमा यात्रुबाहक सवारीसाधन आवागमन ठप्प रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले बताए । ‘बर्खाका कारण ४० प्रतिशत ग्रामीण सडकमा चल्ने बस थन्किएका छन्’, उनले भने, ‘बाँकी सडकमा भगवान् भरोसामा बस चलिरहेका छन् ।’ ग्रामीण सडकको स्तरीकरण नभए पनि यातायात व्यवसायीले जोखिम मोलेरै बस सञ्चालन गरिरहेको खनालको भनाइ छ ।

गाउँपालिकासँग सडक विच्छेद

जिल्लाको पश्चिमी राक्सिराङ गाउँपालिकासँग सडक विच्छेद भएको एक महिना पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीबाट खोलैखोला सदरमुकाम चैनपुर हुँदै राक्सिराङसम्म पुग्ने सडक बर्खासँगै अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘गाउँपालिकामा जोडिएका अरू सडकबाट हिउँदमा पनि मोटर चल्दैनन्, बर्खामा खोलाको बाटो पनि बन्द भएपछि स्थानीय भीरपाखाबाट हिँड्न बाध्य छन्’, उनले भने । उक्त सडक भएर जिल्लाको साविक आठ गाविसका स्थानीय ओहोरदोहोर गर्दै आएका छन् । उक्त सडकमा १२ वटा बस सञ्चालन हुँदै आएको थियो ।

तरकारी ल्याउन समस्या

मनहरी गाउँपालिकाको हाँडीखोलास्थित डिल्लीपुर मसिनेबाट हेटौंडा जोडिने सडक बन्द हुँदा तरकारी बाहिर पठाउन समस्या भएको छ । बर्खाका कारण सडक बिग्रिएपछि यहाँ चल्ने चारवटा बस थन्किएका छन् । ‘बस चल्न छाडेपछि यहाँ उत्पादित तरकारी बजारसम्म लैजान समस्या भएको छ’, स्थानीय कृषक प्रताप राईले भने, ‘पक्की मोटरबाटो नहुँदा प्रत्येक बर्खामा सास्ती बेहोर्दै आएका छौं ।’

बर्खाका कारण जिल्लाको पूर्वी धियाँल, शिखरपुर, पश्चिमी डाँडाखर्कलगायत क्षेत्रमा सञ्चालन हुने सवारी पनि बन्द भएको नारायणी यातायात व्यवसायी संघले जनाएको छ । भौगोलिक विकटता र बर्खाले सडक बिगार्दा सवारी सञ्चालनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले बताए। 

१) चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत नामटारमा जिल्ला प्रहरीको गाडी तान्दै ट्र्याक्टर ।
२) चुनियाँ–नामटार–कालिकाटार सडकअन्तर्गत कालिकाटारमा ट्र््याक्टर धकेल्दै सर्वसाधारण ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.