‘कुसुण्डा' जातिको शब्दकोष निर्माण
लमही (दाङ) : लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ। अनुसन्धानकर्ता उदयराज आलेले कुसुण्डा शब्दकोष तयार पारेका छन्। आलेले कुसुण्डाहरुको भाषा, धर्म, संस्कृति लोप हुन थालेको भन्दै ५ वर्षको अध्ययन अनुसन्धानपश्चात् ‘कुसुण्डा जाति र शब्दकोष' तयार भएको बताएका छन्।
आलेले दाङको लमहीमा एक कार्यक्रमकाबीच शब्दकोष विमोचन गरेका हुन्। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोईरालाले पुस्तकको विमोचन गरेका थिए।
भाषा मरेमा सभ्यता नै समाप्त हुने भन्दै लोपोन्मुख कुसुण्डाहरुको भाषालाई पुस्तकका रुपमा प्रकाशन गरेर आलेले महत्वपूर्ण काम गरेको उपकुलपति कोइरालाले बताए। उनले भने, ‘भाषा, संस्कृतिको संरक्षणमा ब्यक्तिगत रुपमा लेखकले पुर्याएको योग्दान उच्च प्रशंसनीय रहेको भन्दै लोप हुन लागेको जाति र भाषालाई संरक्षण गर्न पुस्तक भूमीका महत्वपूर्ण छ।
आफ्नो भाषाबारे शब्द कोष निर्माण भएकोमा कुसुण्डा समुदायहरु पनि निकै खुसी भएका छन्। कुसुण्डा जातिको पूर्ण भाषा बोल्न जान्ने आफू मात्रै भएको भन्दै शब्दकोष पढेर अब अरुले पनि बोल्न सक्ने उनीहरुको विश्वास छ। नेपालमा एक सय ५० जना मात्र कुसुण्डा जाति रहेको अध्ययनबाट पत्ता लागेको छ। कृतिकार आलेले कुसण्डा जाति र भाषा लोप हुन थालेकोले यसको संरक्षणका लागि आफूले पुस्तक लेखेको बताए।