एयरलायन्सका मालिक पाकिस्तानमा बने प्रधानमन्त्री
इश्लामावाद (पाकिस्तान) : पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग,नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई अघि सारेको छ।
नवाज सरिफका भाईलाई ४५ दिनपछि प्रधानमन्त्री पद सुम्पने गरी अब्बासी पाकिस्तानको अन्तरिम प्रधानमन्त्री भएका हुन । पाकिस्तानी संविधान अनुसार ४५ दिन अन्तरिम प्रधानमन्त्री बनाउन सकिने व्यवस्था छ ।
वासिङटन बिश्वबिद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरको शिक्षा आर्जन गरेका अब्बासी एयर ब्ल्यु एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) र पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पिआइए)का अध्यक्ष समेत थिए । सन १९९७ देखि १९९९ मा अब्बासी पिआइएका अध्यक्ष थिए । त्यतिवेला जनरल मुसरफको सरकारले उनलाई पक्राउ गरी दुई बर्ष जेलमा राखेको थियो।
एयर ब्ल्यु एयरलाइन्स पाकिस्तानको नीजि क्षेत्रको सफल कम्पनी मानिन्छ । पिआइएलाई चुनौती दिने नीजि क्षेत्रको एयरलायन्स एयर ब्ल्यु एयरलाइन्सलाई सफल बनाउन अब्बासीको भूमिका महत्वपूर्ण मानिन्छ । अब्बासीले सन २००३ मा सो एयरलाइन्स स्थापना गरेका हुन ।
५८ बर्षीय अब्बासी निवर्तमान प्रधानमन्त्री सरिफका बिश्वासपात्र मानिन्छन । अब्बासीले सन १९८८ देखि हालसम्म ६ पटक नेशनल एसेम्ब्लीमा जितिसकेका छन् । सन् २०१३ को जुन ७ मा पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री हुनु भएका शहिद खकान अब्बासी पाकिस्तानको नयाँ प्रधानमन्त्री हुन लागेका हुन्। सन् २००८ मार्च ३१ देखि मइ १३ २००८ सम्म उनी बाणिज्य मन्त्री थिए।
अदालतले उक्त दलका नेता नवाज सरिफलाई प्रधानमन्त्री पदमा बस्न अयोग्य घोषित गरेपछि राजीनामा दिएका थिए । सरीफले आफ्ना भाई शहवाजलाई नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यसमा पार्टीभित्रबाट मौन समर्थन देखिएको थियो । तर शेहवाज प्रधानमन्त्री हुन संसद सदस्य हुनुपर्ने पाकिस्तानी प्रावधानले केही समस्या देखिएको छ ।
शेहबाजले पहिले पञ्जाब प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्नेछ र त्यसपछि केन्द्रीय संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’को उपचुनावमा जित्नुपर्नेछ ।
सरीफले आफ्ना विश्वास पात्रका रूपमा लिँदै आएका अब्वासीलाई अन्तरिम प्रधानमन्त्री बनाएर आगामी केही समयभित्र निर्वाचन प्रक्रिया मार्फत भाई शहवाजलाई उपनिर्वाचनबाट केन्द्रिय संसदको सदस्य बनाउने र उनलाई नै भावी प्रधानमन्त्री बनाउने रणनीति देखिएको छ ।
तर शेहवाजलाई प्रधानमन्त्री बनाउन अब्बासीको राजीनामा भने आउनु पर्ने हुन्छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा