शीर्ष नेताको कस्तो छ ‘फेसन’ मोह ?
महात्मा गान्धी आजीवन धोतीमै देखिए । अहिंसात्मक आन्दोलनबाट अंग्रेजलाई धपाएका गान्धीसँगै जोडिएर आउने अर्को बिम्ब हो, चर्खा । १५औं शताब्दीमा विकास भएको स्वदेशी हस्तकला उद्योगलाई उनी जोगाउन चाहन्थे । उनको चर्खा मोह धोती उत्पादनलाई माया गर्ने आत्मनिर्भर स्वावलम्वीपनको संकेत थियो ।पोशाकको कुरा गर्दा प्राचीन रोमसम्म पुग्नुपर्छ । त्यहीँबाट मानिसले पोशाक लगाउन शुरु गरेको विश्व इतिहास छ । त्यतिबेला पुरुष र महिलाका लागि छुट्टाछुट्टै पोशाक हुन्थेन । शरीरको तलदेखि माथिल्लो भाग छोप्ने त्यो कपडामा अगाडिको भागमा ३३ वटा टाँक हुन्थे । जसलाई रोममा ‘साकसा’ भनिन्थ्यो । त्यसपछि युद्धका निमित्त उपयोगी हुने कपडाको विकास पनि रोमबाटै भयो ।
जसलाई ‘फुस्टनेला’ भन्न थालियो ।अहिले विश्वमै बहुप्रचलित टाई त रोमन सैनिकहरूलाई चिनाउने प्रतीकका रूपमा विकास भएको बताइन्छ । इनसाइक्लोेपिडियाका अनुसार पछिल्लो विकसित टाई भने १६औं शताब्दीमा युरोपबाट विकास भई विश्वभर फैलिएको मानिन्छ । पछिल्लो समय ‘मर्निङ’, ‘इभिनिङ’, ‘ट्राभलिङ’, ‘नाइट’का छुट्टाछुट्टै डे«सहरू विकास गरियो । सुरक्षाकर्मी, स्कुल, अस्पताल, कार्यालयहरूका लागि पोशाकको व्यवस्था गरियो । मजदुर र मालिक, विकसित र अविकसित देश, तल्लो तहका कर्मचारी र माथिल्लो तहका कर्मचारीले लगाउने पोशाकमा विविधता आयो । आज संसारमा पोशाक सभ्यताको परिचय दिने संकेतसमेत भएको छ ।
समाजशास्त्री सम्राट शर्मा भन्छन्, ‘आदिमकालमा पोशाक अंग छोप्ने साधन मात्रै थियो । समाज विकासको क्रममा पोशाकले व्यक्तिको सुन्दरता र राष्ट्रियताको विषयसँग जोडिएको छ ।’२१औं शताब्दीमा आइपुग्दा पोशाकमा झनै विविधता आयो । पोशाककै कारण विश्वका कतिपय नेताहरूलाई ‘स्टाइलिस’ नेतासमेत भन्न थालिएको छ । बहुजाति, बहुभाषा र बहुसंस्कृति भएको नेपालका नेताहरूको पहिरनमा पनि बहुलता नै देखिन्छ । विदेशका मात्र होइन, नेपालकै नेता पोशाककै कारण बेला–बेलामा चर्चामा आउने गरेका छन् । राजनीतिको अग्रपंक्तिमा रहेका नेपाली केही नेताका पोशाक रुचि यस्ता छन् :
शेरबहादुर देउवा
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सधैं दौरा सुरुवाल र कोट लगाउँछन् । उनी पोशाकमा सजग र सोखिन छन् । चिटिक्क परेर हिँड्नु उनको रुचि पनि हो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियार भन्छन्, ‘उहाँ जस्तो पायो, त्यस्तै कपडा लगाउनु हुँदैन । कार्यक्रमको प्रकृतिअनुसार पहिरन लगाउनु हुन्छ ।’देउवालार्ई मनपर्ने रंग खैरो हो । तर, कालो भादगाउँले टोपी भने कहिल्यै छुटाउँदैनन् । विदेशी पाहुनासँग भेट्दा मात्रै उनी टाइसुट लगाउँछन् । त्यतिबेला उनी टोपी लगाउँदैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दा उनले सुट पेन्ट र टाई लगाएका थिए । टाई भने उनलाई निलो र रातो रंगको मनपर्छ । अधिकांश सरकारी समारोहमा उनी दौरा सुरुवाल लगाउँछन् ।
२१ औं शताब्दीमा आइपुग्दा पोशाकमा झनै विविधता आयो। पोशाककै कारण विश्वका कतिपय नेतालाई ‘स्टाइलिस’ नेतासमेत भन्न थालिएको छ। बहुजाति, बहुभाषा र बहुसंस्कृति भएको नेपालका नेताहरूको पहिरनमा पनि बहुलता नै देखिन्छ।
यो नै उनको सबैभन्दा मनपर्ने पोशाक हो । चौथो पटक प्रधानमन्त्री निर्वाचित हुँदा उनले सेतो रंगको दौरा सुरुवाल, कालो कोट र कालै टोपी लगाएर संसद्मा उपस्थित थिए । पार्टीका बैठकहरूमा पनि उनी दौरा सुरुवाल, कोट र कालो टोपीमै भेटिन्छन् ।स्रोतका अनुसार देउवालाई श्रीमती डा. आरजु राणाले किनेको कपडा मन पर्दैन । त्यसैले आफै सपिङ गर्छन् । उनलाई ‘ब्रान्डेट’ कपडा नै चाहिन्छ । तर, ब्रान्डमा भने ‘चुजी’ छैनन् । उनी घर बस्दा सर्ट पाइन्ट र कोट लगाउँछन् । कपडा उपहारका रूपमा लिने र दिने उनको बानी छैन ।
केपी ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको पनि देउवाको जस्तै पोशाकमा दौरा सुरुवालमै मोह देखिन्छ । जुन कुरा, ०७० माघमा उनले एमालेले बैठकमा आउँदा अनिवार्य सेतो दौरा सुरुवाल र निलो कोट लगाएर आउन दिएको उर्दीबाट पनि पुष्टि हुन्छ । घर बस्दा सर्ट पाइन्ट लगाउने उनी अधिकांश भेटघाट र कार्यक्रममा जाँदा लगाउने पोशाकमा दौरा सुरुवाल नै पर्छ । बालकोटस्थित निवासमा हुने उच्चस्तरीय भेटघाटमा भने दौरा सुरुवाल छुट्दैन । उनी पनि जस्तो पायो त्यस्तै लुगा लगाउँदैनन् । ‘उहाँलाई सम्पूर्ण कपडा ‘म्याचिङ’ भएको हुनुपर्छ,’ स्वकीय सचिव राजेश बज्राचार्यले भने । ओलीलाई कोटको रंग कालो र खैरो मन पर्छ । रोजाइमा खैरो बढी पर्छ ।
पाल्पाली ढाकाको र कालो भादभाउले टोपी उनी फेरिफेरि लगाउँछन् । २९ असारमा राजधानीमा आयोजित कार्यक्रममा काजीसाहेब, पण्डितजी, साहुजी र दलितले कसरी टोपी लगाउँछन् भनेर दिएको उनको भाषण भाइरल नै भएको थियो ।संसद्मा सम्बोधन गर्दा प्रायः दौरा सुरुवाल, खैरो कोट र कालो टोपी लगाउँछन्, उनी । सन् २००६ मा उपप्रधान तथा विदेशमन्त्रीका रूपमा उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा सम्बोधन गर्दा सुटपाइन्ट र टाई लगाएका थिए तर, टोपी लगाएका थिएनन् ।
उनी प्रधानमन्त्रीका रूपमा भारत भ्रमणमा जाँदा सेतो दौरा सुरुवाल, खैरो कोट र कालो टोपीमा ठाँटिएका थिए । उनको पनि कुनै ‘फेवरेट ब्रान्ड’ छैन । राम्रो कपडा जुनसकुै ब्रान्डको भए पनि चल्छ । कहिलेकाहीँ सपिङमा सपरिवार जान भ्याउँछन् । अरूबेला श्रीमती राधिका शाक्यले लुगा किनिदिन्छन् । उनी रेडिमेड कपडा पनि लगाउँछन् । दौरासुरुवाल सिलाउन प्रायः ललितपुरको पाटन पुग्छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोशाकमा सोखिन नेतामा गनिन्छन् । १० वर्षे सशस्त्र द्वन्द्व बिसाएर शान्ति प्रक्रियामा आएपछि ०६३ मा पहिलो पटक सार्वजनिक हुँदा उनी अर्का नेता डा.बाबुराम भट्टराईसँग एउटै पोशाक, खैरो रंगको कमिज र पेन्टमा थिए । शान्ति प्रक्रियामा आएको केही वर्षसम्म पनि प्रचण्डसहित अधिकांश केन्द्रीय नेताहरू एउटै रंगका कपडा लगाउँथे । एउटै लुगा मात्र होइन, काठमाडौंको नयाँ बजारमा प्रचण्ड र बाबुराम एउटै घरमा पनि बस्थे ।
तेस्रो तलामा प्रचण्ड र भुइँतलामा बाबुराम बस्थे । उनीहरू दुई वर्ष एकै घरमा बस्दा एकै किसिमका कपडा लगाए । जुन न्युरोडबाट खरिद गरिएको थियो । सँगै बस्दा नेताद्वय सपरिवार त्रिपुरेश्वरमा पटक–पटक सपिङ गर्न जान्थे । प्रचण्ड प्रधानमन्त्री र बाबुराम अर्थमन्त्री भएपछि उनीहरूको बाससँगै पोशाकमा पनि विविधता आयो । कपडा किन्ने बेला प्रचण्ड प्रायः ‘हेडक्वाटर स्टाफ’ जोखबहादुर महरालाई छान्न लगाउँथे । स्रोतका अनुसार ‘एक पटकको सपिङमा ६÷७ जोर कपडा किन्ने’ उनको बानी छ । प्रधानमन्त्री भएपछि उनी सुट पेन्टमा देखिन थाले । विदेशबाट उपहारमा कपडा पनि आउन थाल्यो । प्रधानमन्त्री हुनुअघि रेडिमेड कपडा लगाउने उनले त्यसपछि भने छोडे ।
‘प्रधानमन्त्री, प्रतिपक्षी दलको नेता हुँदा होस् वा पार्टी अध्यक्षका हैसियतमा औपचारिक कार्यक्रम र भेटघाटमा सुट पेन्ट नै उहाँको रोजाइमा पर्छ,’ उनका सचिवालय सहयोगी सन्दीप विश्वकर्मा अनुभव सुनाउँछन् । विभिन्न जात, जातिका कार्यक्रममा जाँदा उनीहरूकै पोशाकमा देखिए पनि उनले विगतको नेपाली पोशाक दौरा सुरुवाल भने कहिल्यै लगाएको देखिएन । २६ सेप्टेम्बर २००८ राष्ट्रसंघको ६३ आंै महासभालाई सम्बोधन गर्दा उनले सुट पेन्ट लगाएका थिए । १६ सेप्टेम्बर २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बनेर भारत भ्रमणमा गएका बेला पनि उनी टाई सुट र कालो टोपीमै थिए । घर बस्दा भने प्रायः ट्रयाक सुट र टिसर्ट नै उनको रोजाइमा पर्छ ।
बिहान ब्याडमिन्टन खेल्दा स्पोर्ट सुज र ट्रयाक सुट छुट्दैन । घरमै पार्टी भेटघाटमा औपचारिक पोशाक लगाउँदैनन् ।लुगा छोरी, नातिनी र श्रीमतीले किनिदिन्छन् । किन्नेदेखि लुगा लगाउन सल्लाह दिनेमा श्रीमती सीता दाहाल नै हाबी हुन्छिन् । जस्तो पायो त्यस्तो लुगा लगाउँदैनन् । लुगा चिटिक्क परेको र ‘टिपटप’ हुनुपर्छ । उनको मनपर्ने पहिरन कोट, पेन्ट, सर्ट हो । रंग कालो मन पर्छ । सुट, पेन्ट र जुत्ता सबै कालो लगाउँछन् । सर्ट सेतो हुन्छ । उनी पनि ‘ब्रान्ड कन्सस’ छैनन् ।
आफन्त र शुभचिन्तकबाट उपहारमा लुगा धेरै पाउनेमा प्रचण्ड अग्रपंक्तिमै पर्छन् । प्रायः इन्डियन र थाइल्यान्डका लुगा नै उपहारमा बढी हुने उनीनिकट स्रोत बताउँछ । ०६४ मा पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालका एकजना ठूला उद्योगीले उपहारस्वरूप गाडीमा सजाएर सुटपेन्ट ल्याएका थिए । तर, दुर्भाग्यवश त्यसबेला उद्योगीले उपहार दिन पाएनन् । उपहार टक्रयाउनका लागि उनले अर्को भेट कुर्नु परेको थियो । उपहार दिने व्यक्तिको नाम स्रोतले खुलाउन चाहेन ।
झलनाथ खनाल
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘ह्यान्डसम’ नेताको परिचय बनाएका छन् । भूमिगत अवस्थामा उनले लगाएको ओभरकोटको चर्चा आज पनि यदाकदा कम्युनिस्ट वृत्तमा चल्ने गर्छ । उनी टाईको मोह राख्ने नेताका रूपमा समेत चर्चित छन् । अध्ययनशील नेताको छवि बनाएका उनी कार्यक्रममा बस्दाबस्दै सेल्फी खिच्न भ्याउँछन् । गीतकारको समेत पहिचान बनेका उनले आफ्नै गीतको म्युजिक भिडियोमा अभिनयसमेत गरेका छन् । ‘उहाँ नेपालमै उत्पादित कपडा लगाउन रुचाउनुहुन्छ,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराई भन्छन्, ‘खाँदबारीमा बनेको कपडा लगाउनुहुन्छ ।’ कालो कोट, दौरा सुरुवाल र रातो स्विटर उनको ‘फेबरेट’ हो ।
उनलाई रातो रंग बढी मनपर्छ । खनाल साधारण व्यक्ति जसरी नै कहिलेकाहीँ आफैँ सपिङमा जान रुचाउँछन् । आफूले नभ्याउँदा सहयोगीले कपडा ल्याइदिन्छन् । उनको मुख्य सपिङ सेन्टर जमल हो । त्यहाँ विदेशी ब्रान्ड पाइने भए पनि उनी स्वदेशी ब्रान्ड खोज्न लगाएर व्यापारीलाई हैरान पार्छन् । उनी पनि उपहार लिन्छन् । ठाउँ अनुसारको भेष उनलाई पनि मनपर्छ । जस्तो ः मधेश जाँदा मधेशी जस्तो देखिने गर्छन् । उनी घर बस्दा सामान्य कपडा लगाउँछन् ।
बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई स्वदेशी ब्रान्डका सर्ट पेन्ट लगाउन रुचाउँछन् । सकेसम्म नेपालमै उत्पादन भएको जुत्ता खोज्छन् । सफाचट भएर हिँड्ने उनी पोशाकमा भने त्यत्ति धेरै ध्यान दिँदैनन् । त्यसैले प्रायः स्वकीय सचिव विश्वदीप पाण्डेले लुगा किनेर ल्याइदिन्छन् । उनको स्वदेशी मोह प्रधानमन्त्री हुँदा सवारी साधनका रूपमा नेपालमै बनेको ‘मुस्ताङ म्याक्स’ गाडी प्रयोगबाट पनि झल्किन्छ । उनी घर बस्दा सामान्य कपडा लगाएर बस्छन् । तर, भेटघाटका लागि घरमा कोही उपस्थित हुने बित्तिकै उनी औपचारिक पोशाक लगाउँछन् । २४ सेप्टेम्बर २०११ राष्ट्रसंघको ६६ औं महासभालाई सम्बोधन गर्दा उनले सुटपेन्ट, टाई र कालो टोपी लगाएका थिए ।
नेताको पोशाक समाजको ऐना हो। त्यसबाट समाजको अन्तरविरोध हेर्न सकिन्छ। प्रकाश राई समाजशास्त्री
सन् २०११ मा भारत भ्रमणका बेला पनि सोही पहिरनमै थिए । उनलाई मनपर्ने रंग भने नीलो हो । जाति अनुसारको भेष गर्न उनी पनि माहिर छन् । प्रधानमन्त्री हुँदा नेवारी पोशाकमा नेपाल भाषामै सम्बोधन गरेका थिए । तराई–मधेशमा पुग्दा मधेशी झल्किने पोशाक लगाएर मैथिली भाषामै भाषण गरेको कुरा चर्चामा आएको थियो । भट्टराई पत्नी हिसिला यमी भन्छिन्, ‘स्कुले जीवनबाहेक उहाँले दौरा सुरुवाल लगाउनु भएको छैन ।’ उनलाई पनि शुभचिन्तकले कपडा उपहार दिने गरेका छन । उनले विद्यार्थीकालयता जिन्स लगाएका छैनन् । उनको पोशाकहरू यही नै हुनुपर्छ भनेर छान्ने बानी नभएको नेतृ यमीले प्रस्ट पारिन् । ‘उहाँलाई सर्ट पेन्ट मनपर्छ । तडकभडक मन पराउँनुहुन्न,’ उनले भनिन् । विद्यार्थीकालमै यमीले भट्टराईका लागि कपडा किनेको भए पनि उनले आजसम्म यमीका लागि कपडा किनेका छैनन् ।
महन्थ ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुर भने हरेक दिन लुगा फेरिफेरि लगाउने नेतामा पर्छन् । कतिसम्म भने आज लगाएको लुगा भोलि लगाउँदैनन् । उनका स्वकीय सचिव सतेन्द्र मिश्र भन्छन्, ‘उहाँको ‘फेबरेट’ पोशाक प्रायः कुर्ता, पाइजामा र बन्डी हो ।’ लुगा प्रायः छोरीले किन्छिन् । कहिलेकाहीँ सहयोगी किन्न जान्छन् । जसले ल्याए पनि लगाउने उनको बानी छ । तर, छानी छानी लगाउँदैनन् । कांग्रेसबाट मन्त्री हुँदा उनले दौरा सुरुवाल र टोपी लगाएका थिए । त्यतिबेला दौरा सुरुवाल राष्ट्रिय पोशाक थियो । जुन मन्त्रीका लागि बाध्यकारी हुन्थ्यो ।
कांग्रेस छोडेर तमलोपा हुँदै राजपासम्म पुग्दा उनी बाह्रैमास पाइजामा, कुर्ता र बन्डी लगाउँछन् । उनी लुगा सस्तो महँगो भन्ने ख्याल गर्दैनन् । उनको सेतो रंग मन पर्ने कुरा एकपटक सहयोगीलाई ‘मलाई कोठाका भित्तादेखि ओड्ने, ओछ्याउने, सिरानी सबै सेतो ल्याइदिनु’ भनेको बाट थाहा हुन्छ । उनलाई जुत्ता भने कालो नै चाहिन्छ । उनी रेडिमेट लुगा पनि लगाउँछन् । घर बस्दा लुङ्गी र कहिलेकाहीँ ट्रयाक सुट पनि लगाउँछन् । मधेशका पाका नेता ठाकुरले कहिल्यै टाई सुट लगाएनन् ।
रंगको मनोविज्ञान
पोशाकको रुचिमा रंगको मनोविज्ञानसमेत अध्ययन गर्नुपर्ने विज्ञहरू बताउँछन् । चित्रकार देवेन्द्र थुम्केली रंग मन पराउनुलाई सामान्य अर्थमा लिन नहुने बताउँछन् । उनी रंगको फरक–फरक अर्थ हुने र त्यसमा राशि पनि हेरिनुपर्ने बताउँछन् । ‘रंगको प्रभाव मानवीय जीवनमा रहन्छ । रंगबाट मनोविज्ञान बुझ्न सकिन्छ’, उनले भने । उनी संस्कृति, समाज र वातावरणअनुसार रंगको अर्थ फरक–फरक हुने प्रस्ट पार्छन् । अफ्रिकी समाजको उदाहरण दिँदै भन्छन्, ‘अफ्रिकामा कालो बिरालोले बाटो काटे साइत प¥यो भन्छन् । हाम्रोमा बिग्रियो भन्ने चलन छ ।’
ज्योतिष डा. सुनिल सिटौला रंग मन पराउनुसँग ग्रह नक्षत्र जिम्मेवार रहने बताउँछन् । उनका अनुसार विभिन्न रंग मन पराउने व्यक्तिसँग आफ्नै खालको स्वभाव हुन्छ । रंगको छनोट समाज, संस्कृति, लिंग, उमेर र पर्यावरणअनुसार फरक पर्ने बताउँछिन्, त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रमुख प्रा.डा. शान्ता निरौला । रंगको छनोटमा व्यक्तिगत रुचि पनि हुने तर त्यो व्यक्तिगत रुचिमाथिका तथ्यहरूसँग जोडिने उनको भनाइ छ । उनी मानिसभित्र अरूसमक्ष आफूलाई बेग्लै देखाउन खोज्ने रुचि हुने गरेको बताउँछिन् ।
पोशाक छनोटमा समयको प्रभाव रहन्छ। त्यसमा मिडिया जोडिएको छ। मिडियाको प्रभाव मानिसमा सीधा पर्छ। प्रा. शान्ता निरौला प्रमुख, मनोविज्ञान केन्द्रीय विभाग, त्रिवि
१५ देखि १७ वर्षका मानिसहरूले प्रायः निलो मन पराउँछन् । उमेर छिप्पिँदै जाँदा आकाशे रंग मन पराउन थाल्ने र त्यसपछि मात्रै अरू रंगहरू मन पराउने उनको भनाइ छ । रंग मन पराउनुमा शिक्षा र आर्थिक स्तरले पनि प्रभाव पार्ने उनको धारणा छ । ६० वर्षको उमेर नाघेपछि आध्यात्मिक आस्था राख्ने खालको भए सेतो रंगका कपडाहरू मन पराउने र उमेर ढल्कँदै गएपछि पारिवारिक अवस्थामा परिपक्व हुनुपर्ने जस्ता सामाजिक दबाब आउने उनको विचार छ ।
पोशाक छनोटको मनोविज्ञान
‘पोशाक छनोटमा समयको प्रभाव रहन्छ’ उनी भन्छिन्, ‘त्यसमा मिडिया जोडिएको छ । मिडियाको प्रभाव मानिसमा सीधा पर्छ ।’ मिडियाको आधारमा मानिसले गेटअप बनाउने गरेको निरौला बताउँछिन् ।पोशाक फेरिफेरि लगाउनुपर्ने अवस्था व्यक्तिको सामाजिक हैसियतले निर्धारण गर्ने उनको भनाइ छ । सामाजिक हैसियतमा माथि रहेको व्यक्तिले सधैं आफूलाई फूर्तिलो राख्नुपर्छ भन्ने मनोभावनाले पनि काम गर्ने उनको जिकिर छ । सक्रिय नेताको सक्रिय कार्यकर्ता हुन्छ भन्ने धारणा उनको छ । ‘म अरूको बीचमा आकर्षणको केन्द्र हुनुपर्छ भन्ने भाव व्यक्तिहरूमा हुनेगर्छ,’ उनी भन्छिन्, ‘भूमिका र उत्तरदायित्वले फरक–फरक पोशाकको माग गर्छ ।’
पोशाक र समाज
समाजशास्त्री प्रकाश राई पोशाकलाई संकेत मानेर नेपाली समाजलाई विश्लेषण गर्नुपर्ने तर्क गर्छन् । उनी मानिसभित्र रहेको सौन्दर्य चेतको आधारमा मानिसले प्रयोग गर्ने भाषा र पोशाक जोडिने बताउँछन् । सौन्दर्यचेत समाजको वस्तुगत अवस्थासँग जोडिने उनको ठहर छ । मानिसभित्र रहेको सौन्दर्य चेत नै मानिसको पोशाकमा झल्किने उनको भनाइ छ । ‘पोशाक मानिसभित्र भएको विचारको संकेत हो । कसले कस्तो पोशाक लगाउँछ भन्ने हेरेर त्यो समाज कस्तो छ भन्ने थाहा पाउन सकिन्छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीले लगाउने पोशाकबाट समाज कहाँ छ भन्ने हेर्न सकिन्छ ।’ तर, कूटनीतिक भेटघाटमा तत्कालका लागि लगाइने पोशाकले भने अर्थ नराख्ने उनको धारणा छ ।
रंग मन पराउनुसँग ग्रह नक्षत्र जिम्मेवार रहन्छन। विभिन्न रंग मन पराउने व्यक्तिसँग आफ्नै खालको स्वभाव हुन्छ। डा. सुनिल सिटौला ज्योतिष
नेपाली समाजको सामाजिकीकरणको प्रक्रियामा दौरा सुरुवाल लगाउने मात्रै नेपाली हुन्छ भन्ने धारणा विकास भएको र राजेन्द्र महतो र महन्थ ठाकुरलगायत नेताहरूलाई सम्झिँदा उनीहरूलाई नेपाली नसोच्ने सामाजिक मनोविज्ञान समाजमा रहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘सामाजिकीकरणको प्रक्रियामा नै गल्ती भइरहेको छ । नेपाली भनेको यस्तो मात्रै हुन्छ भनेर सिकाइयो ।’ अहिलेका नेताहरू सफाचट भएर हिँड्नुसँग बाल्यकालको सामाजिकीकरणको प्रक्रिया जोडिने उनको तर्क छ । यस प्रक्रियामा जस्तो सिक्यो त्यस्तै गर्ने हो, तर, विचारधाराद्वारा पछि परिवर्तन पनि हुन सक्छ,’ उनी थप्छन् ।
पोशाकमा राजनीति
वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले सन् १९७५ मा राजा वीरेन्द्रको अस्ट्रेलिया भ्रमणका बेलामा १०–१५ जना दौरा÷सुरुवालमा रहेकोे देखेर वरपर खेलिरहेका केटाकेटी अनौठो मान्दै नजिक आएको प्रसंग अन्नपूर्ण पोस्टको एक लेखमा लेखेका थिए । लेखमा उनले नेपालबाट विशिष्ट व्यक्तिहरू विदेश जाँदा विभिन्न पोशाकमा हुँदा कुन नेपाली र कुन विदेशी भन्ने छुट्याउनै गाह्रो परेको उल्लेख गरेका थिए ।अर्कोतिर नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल मात्रै हुन नहुने भन्दै विवाद भएपछि संविधानको अनुसूचिमा उल्लेख छैन ।
जसले गर्दा कस्तो पोशाक लगाएका नेपाली हुन् भन्ने नै समस्या परेको विज्ञहरू बताउँछन् । व्यक्तिले लगाउने पोशाक वस्तुगत अवस्थाको प्रतिबिम्ब ठान्छन्, समाजशास्त्री राई । उनी प्रधानमन्त्री शेरबहादुर देउवाले लगाउने पोशाकलाई संकेत गर्दै त्यसले नेपाली समाज अझै परम्परावादी अवस्थाबाट माथि उठ्न नसकेको बताउँछन् । उनी देउवा, दाहाल र ठाकुरले लगाउने पोशाकलाई हेरेर नेपाली समाजको अन्तरविरोधलाई हेर्न सकिने ठोकुवा गर्छन् ।
उनी त्यसमा तीन किसिमको प्रवृति अन्तरनिहित रहेको बताउँछन् । भन्छन्, ‘नेताको पोशाक समाजको ऐना हो । त्यसबाट समाजको अन्तरविरोध हेर्न सकिन्छ,’ उनी थप्छन्, ‘दौरा सुरुवाल परम्परालाई माया गर्ने विचारको प्रतिबिम्ब हो । कोट पेन्टले सामाजिक संरचना भत्काउन खोज्दैछ र कुर्ता पाइजामाले संरचनाभित्र आफ्नो अस्तित्व खोजिरहेको छ ।’
विश्वका ‘स्टाइलिस’ १० नेता
बाराक ओबामा
पूर्वअमेरिकी राष्ट्रपति ओबामा पोशाकको मामिलामा स्टाइलिस मानिन्छन् । अनौपचारिक अवस्थामा उनी कालो पेन्ट र प्लेन सर्ट लगाउछन् । उनी बेला–बेलामा टी–सर्ट र स्पोर्ट सुज लगाउँछन् ।
भ्लादिमिर पुटिन
रसियाका राष्ट्रपति पुटिन विभिन्न कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी पनि स्टाइलिस नेताका रूपमा चिनिन्छिन् । सुट पेन्ट लगाउनुमा सोखिन उनको फेबरेट ब्रान्ड ‘किटोन’ र ‘ब्रिओनी’ हो । उनी प्रायः कालो, खैरो र निलो रंग मन पराउँछन् । उनको मनपर्ने टाई भलेन्टिनो टाइ हो ।
मलकोल्म तुर्नबुल
सन् २०१५ मा अस्ट्रेलियाका प्रधानमन्त्री भएका तुर्नबुल पोशाक लगाउने सन्दर्भमा चर्चित छन् । उनीसँग विभिन्न डिजाइनका कपडाहरूले भरिएको ठूलो दराज रहेको बताइन्छ ।
जस्टिन ट्रडेउ
क्यानाडाका २३ औं प्रधानमन्त्रीका रूपमा रहेका ४६ वर्षीय उनी औपचारिक कार्यक्रमहरूपछि जिन्स पेन्ट लगाउँन रुचाउँछन् । उनी रंगीन मोजा मन पराउँछन् ।
नरेन्द्र मोदी
२०१४ मा १४ औं प्रधानमन्त्रीका रूपमा उदाएका मोदी पनि पोशाकको मामिलामा स्टाइलिस नेताका रूपमा चिन्छिन् । कुर्ता पाइजामा र बन्डीमा देखिने उनले ओभरकोट समेत लगाउन मन पराउँछन् । पहेँलो गेरुवस्त्रमा समेत बेला–बेलामा देखिन्छन्, उनी ।
हिना रब्बानी खार
२०११ देखि ०१३ सम्म पाकिस्तानको विदेशी मन्त्रालय सम्हाल्दा उनी ३४ वर्षकी थिइन् । उनको सुन्दरता र स्टाइलिस डे«सअपको निकै चर्चा भएको थियो । उनी प्रायः कुर्ता लगाउँछिन् । हातमा उनको कालो ब्याग टुट्दैन । उनी एकैथरीका लुगा लगाउँछिन् ।
यिङलुक सिनावात्रा
सन् २०१४ मा थाइल्यान्डकी प्रधानमन्त्री भएकी सिनावात्रा पनि स्टाइलिस नेतृका रूपमा चिनिन्छिन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी हुन् । ५० वर्षीया सिनावात्राको पहिरनमा छुट्टै पहिचान छ । घुँडाभन्दा माथिको भाग मात्रै छोपिने स्कट लगाउँछिन् उनी । परम्परागत थाई कपडा उनी प्रायः लगाउँदिनन् ।
आङसाङ सुकी
म्यानमारमा प्रजातन्त्र पुनर्बहाली गर्न जीवनभर संघर्ष गर्ने सुकी पनि संसारका ‘स्टाइलिस’ नेतृको रूपमा चिनिन्छिन् । लामो समय नजरबन्दमा रहेकी उनी प्रायः परम्परागत पोशाक लगाउँछिन् । उनको शिरमा सधंै एउटा फूल हुने गर्छ ।
लउरा छिनछिला
सन् २०१० देखि २०१४ सम्म कोस्टारिकाको ४६ औं राष्ट्रपतिको पद सम्हाल्दा उनी ५१ वर्षकी थिइन् । उनी पहिलो महिला राष्ट्रपति समेत थिइन् । तर आधा दशकको उमेरमा समेत उनी कुनै मोडल जस्ती देखिन्थिन् । सधंै आधुनिक पोशाक बोल्ड तरिकाले लगाउँछिन् । सुट पेन्ट मन पराउने उनी पोशाककै कारण चर्चामा थिइन् ।
हिलारी क्लिन्टन
सन् २०१६ मा डोनाल्ड ट्रम्पसँगको चुनावी मैदानमा पराजित अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि पोशाकको सन्दर्भमा ‘स्टाइलिस’ नेतृ मानिन्छन् । ७० वर्षीय उनी आफ्नो डे«सअपलाई मेन्टन गर्छिन् । उनी पेन्ट सुट बढी लगाउछिन् ।