ट्रेकिङ हिँडेको जोडीले अग्लो पुलबाट मध्यरातमा हाम फालेपछि..
कुश्मा : घुमघामका लागि पर्वत सदरमुकाम कुश्माबजार आइपुगेको एक युगल जोडीले मुलुककै अग्लो कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गरेका छन्। शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर धरान उपमहानगरपालिका-११ का २६ वर्षीय अंकिन गुरुङ र ललितपुर उपमहानगरपालिका-१४ की मुना रानाले सामुहिक रुपमा आत्महत्या गरेका हुन्।
शनिबार घुमघामको लागि आएको जोडीले रातको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका हुन्। शनिबार साँझ कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थित पुलको मुखमा चिसो खाँदै निकै हर्षित देखिएको उक्त जोडीले करीब साढे ९ देखि १० बजेको समयमा कुश्मा-ज्ञादी झोलुङ्गेपुलबाट हाम फालेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मधुकरजंग विष्टले जानकारी दिए।
विष्टले भने, ‘शनिबार ज्ञादी साइडको स्थानीय एक पसलमा चिसो तथा खाजा खाँदा निकै हर्षित बनेको उक्त जोडी बेलुका हाम फालेपछि घटना आश्र्चयमय बनेको हो।’ पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र बिहान मोदीको किनारमा जोडीको शव भेटिएको विष्टले जानकारी दिए।
उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ भने आफन्तहरुलाई खबर गरेर शव बुझ्नका लागि बोलाइएको समेत प्रहरीले जानकारी दिएको छ। उनीहरुको मृत्युको कारण भने पुष्टि नभएको पनि प्रहरीले जनाएको छ। उनीहरु ट्रेकिङ्गमा आएको पाइएको छ। झोलामा राति बास बस्ने टेण्ट तथा अन्य बन्दोबस्तीका सामान समेत रहेका थिए।
-यसअघि संवाददातालाई विश्वास गरेर प्रयोग गरेको तस्बिर गलत भएकाले तस्बिर सच्याइएको छ।