भक्तपुरमा एमाले र नेमकिपाको उम्मेदवारी
भक्तपुर : भक्तपुर जिल्ला समन्वय समितिको पदाधिकारीहरुमा नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।
नौ सदस्यीय जिससको प्रमुखको एमालेले नवराज गेलाल र नेमकिपाले हरिरत्न गोर्खालीको नाम दर्ता गराएका हुन् ।
त्यस्तै उपप्रमुखमा एमालेले सरिता कुँवर र नेमकिपाले कमला भारतीको उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्ने भक्तपुरमा एमालेको स्पष्ट बहुमत रहेको छ । चारवटा नगरपालिका रहेको भक्तपुरमा एमालेले सूर्यविनायक र चाँगुनारायण नपामा मेयर र उपमेयर तथा मध्यपुर थिमी नपामा मेयर जितेको छ ।
नेमकिपाले भक्तपुर नपामा मेयर र उपमेयर जितेको छ । मध्यपुर थिमी नपामा उपमेयर जितेको नेपाली कांग्रेसले भने जिल्ला समन्वय समितिको कुनै पनि पदमा उम्मेदवारी दिएको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार मनोनयन भएका पदाधिकारीहरुको पहिलो नामावली प्रकाशन गरेको हो ।
मुख्य निर्वाचन अधिकृत भोजराज शर्माका अनुसार आइतबार जिससको सात सदस्यमा एमालेका तर्फबाट सकुन्तला श्रेष्ठ, कमला पोखरेल, गीता देउजा, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, श्रीराम व्याञ्जु र गीता बिसुंखेको उम्मेदवारी दर्ता भएका छन् ।
त्यस्तै नेमकिपाको तर्फबाट सदस्यहरुमा रोशन खत्री, सरिना द्यौला, रोशनमंैया सुवाल, रञ्जना त्वाती, जगतलाल मानन्धर, जितेन्द्र मुनंकर्मी र विजयलक्ष्मी शाक्यको उम्मेदवारी परेको उनले जानकारी दिए ।
उनका अनुसार साउन २२ गते जिससको निर्वाचन तोकिएको छ । यसअघि साउन २० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रमुख निर्वाचन अधिकृत शर्माले बताए ।