भरतपुर १९ मा पुनः मतदान

भरतपुर १९ मा पुनः मतदान

काठमाडौं : सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा 'अनधिकृत कब्जा' भएको निष्कर्षसहित पुनः मतदानका लागि निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मि श्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतगणनाको मागसहित दायर रिट आइतबार खारेज गर्दै उक्त निर्णय सुनाएको हो । सर्वोच्चले आयोगलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन भनेको छ ।

आयोगले वडा नम्बर १९ मा पुनः निर्वाचन गर्न भरतपुरका मतदान अधिकृतलाई दिएको निर्देशन रोकी मतगणनालाई नै निरन्तरता दिन माग राखेर भरतपुर वडा नम्बर १९ मा एमालेतर्फका खुला वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा र सोही वडाका मतदातासमेत रहेका अधिवक्ता तुल्सीराम पाण्डेले रिट दायर गरेका थिए । तर, सर्वोच्चले उक्त मागलाई अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ ।

आयोगले गत जेठ २० गते पुनः मतदान गर्ने निर्णय गरेको थियो । 'स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० (१) (ख) मा भएको व्यवस्थाले मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिलाई बाहेक गरेको नभई मतगणनास्थलमा उपस्थित जोसुकैले मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीको जिम्मा रहने मतपत्र खोसी च्यातेको स्थितिमा मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रूपबाट हुन नसक्ने अवस्था हुने हुँदा,' पुनः मतदान गर्न दिएको आदेशमा लेखिएको छ । उक्त दफामा बल प्रयोग गरी वा नगरी मतपत्र नष्ट गरेमा, मतगणनाको काममा बाधा पारे वा खोसे अनधिकृत कब्जा हुने व्याख्या गरिएको छ ।

निर्वाचनमा धाँधली रोक्न नसकिए लोकतन्त्रमा अनास्था आउन सक्नेतर्फ सजग रहन निर्वाचन आयोगको ध्यानाकर्षण ।

सर्वोच्चको आदेशअनुरूप भरतपुर १९ मा पुनः निर्वाचनको मिति तय गर्नुपर्ने भएको छ । सर्वोच्चले भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको प्रतिवेदन तथा आयोगको अनुगमन टोलीको प्रतिवेदनलाई आधार बनाई निर्वाचनका लागि आयोगले गरेको निर्णयलाई वैध ठहर गरेको छ ।
'भरतपुर महानगरपालिका वडा नम्बर १९ का सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्ने गरी भएको निर्वाचन आयोगको मिति ०७४ जेठ २० गतेको निर्णय कानुनअनुरूप नै भएको देखिँदा सो निर्णयसमेत बदर गरी च्यातिएको ९० मतपत्र बदर श्रेणीमा पुनः मतगणना सुचारु गर्नु÷गराउनु भन्नेसमेत व्यहोराबाट निर्वाचन आयोगको नाममा आदेश जारी गरिपाऊँ भनी पर्न आएको प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,' फैसलाको ठहर खण्ड सुनाउँदै सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भने ।

सर्वोच्चले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने दायित्व आयोगलाई रहेको भन्दै ध्यानाकर्षणसमेत गरेको छ । निर्वाचनमा धाँधली रोक्न नसकिए लोकतन्त्रमा अनास्था आउन सक्नेतर्फ पनि आदेशमा सजग गराइएको छ । निर्वाचन सम्पन्न गराउने क्रममा मतदानस्थल, मतगणनास्थल तथा निर्वाचन कार्यमा प्रयोग हुने सामग्रीको सुरक्षामा ध्यान पुर्‍याउनसमेत आयोगलाई निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्चले भनेको छ, 'अबउप्रान्त आफ्नो दायित्वतर्फ विशेष रूपमा सचेत रही सुरक्षालगायत व्यवस्था गर्नु÷गराउनु भनी निर्वाचन आयोगका नाममा निर्देशनात्मक आदेशसमेत जारी हुने ठहर्छ ।'

सर्वोच्चले भरतपुरका एमालेतर्फका मेयरका प्रत्याशी देवी ज्ञवालीले दिएको उजुरीमा मतगणना प्रतिनिधिकै रूपमा बसेका व्यक्तिले अनधिकृत तवरले मतपत्र च्यातेर नष्ट गरेको स्विकारोक्ति गरेको फैसलामा जनाएको छ । अनुगमन टोली र निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगले मतगणनास्थल अनधिकृत तवरले कब्जा भएको ठहर्‍याएमा आयोगले मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी पुनः मतदान गर्नसक्ने व्याख्या सर्वोच्चको छ । भरतपुरमा २७ वडाको मतगणना कार्य सम्पन्न भई १९ र २० वडाको मात्र गन्न बाँकी छ ।

भरतपुर वडा नम्बर १९ को मतदान केन्द्रको मतगणना प्रारम्भ भई कुल खसेको मत २८९७ मध्ये १८०९ को परिणाम घोषणा भई बाँकी मतगणना भइरहेका बेला नगरप्रमुख उम्मेदवार रेणु दाहालका प्रतिनिधि न्यौपाने र सिवाकोटीले मतपत्र च्यातेको भन्दै निवेदक विक र पाण्डेले पुनः मतगणनाको माग गरेका थिए ।


सर्वोच्चको निर्णय दुर्भाग्यपूर्ण : एमाले

काठमाडौं : एमालेले भरतपुर महानगरपालिकाको मतगणना विवादसम्बन्धी सर्वोच्चको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ । यो निर्णयले आपराधिक गतिविधिलाई प्रोत्साहन दिने उसले जनाएको छ ।

सर्वोच्च अदालतले आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा 'अनधिकृत कब्जा' भएको निष्कर्षसहित पुनः मतदानका लागि निर्वाचन आयोगलाई आदेश दिएको छ । एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले अन्नपूर्णसँगको कुराकानीमा भने, 'सर्वोच्च अदालतले आइतबार दिएको निर्णय राजनीतिमा आपराधीकरणलाई प्र श्रय दिने कार्य हो । एमाले सर्वोच्च अदालतप्रति विश्वास गर्छ तर जे-जस्तो निर्णय आयो, त्यो अत्यन्त दुखद छ ।'

एमाले एउटा अभियानका साथ वडा नं. १९ का जनताबीच जाने र उनीहरूको विवेकपूर्ण मतबाट चुनाव जित्दै भरतपुर महानगरपालिकामा सूर्य चिह्नअंकित झन्डा फराउने दाबी श्रेष्ठले गरे ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.