रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत
जनकपुरधाम : विश्वमै लोप भइसकेको न्यारोगेज रेलको कोइला इन्जिन नेपालमा भए पनि संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।नेपालकै एक मात्र रेल सेवा जनकपुर-जयनगर ब्रोडगेज निर्माणको क्रममा बन्द भएको तीन वर्ष हुन लागेको छ । रेल सेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपुर्जामा संरक्षणको अभावमा घाम र पानीले खिया लाग्दै कबाडीमा परिणत हुन थालेको छ ।
नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ जना कर्मचारी खटाए पनि उनीहरूले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपुर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् । जनकपुरबाट करिब १५ किलोमिटरको दूरीमा रहेको वैदेही गाउँपालिकास्थित खजुरी स्टेसनमा नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इन्जिन संरक्षणको अभावमा जर्जर बन्दै गएका छन् ।
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटरसम्म सञ्चालनमा रहेको थियो । तर २०५९ सालमा आएको बाढीबाट बिग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुग्यो । जनकपुर-जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे अन्तिम समयमा आएर एउटा सेवामा सीमित भएको थियो । त्यो पनि नियमित थिएन ।
पर्यटकीय तथा धार्मिक नगरीका रूपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनको म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्नेछ ।
सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेलले २०१८ सालदेखि यात्री ओसारपसार गर्न थालेको थियो । पछि ०५१ मा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थानअन्तर्गत राखियो । पछि २०२५ मा सरकारले यसको नाम जनकपुर-जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकका रूपमा टेकजंग थापा नियुक्त भएका थिए । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ।
संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी धनिकलाल दास बताउँछन् । उनी भन्छन्, 'वैदेही नगरपालिकाको खजुरी स्टेसनमा म्युजियम निर्माण गरेर कोइला इन्जिन संरक्षण गरिए पर्यटक भित्याउन सकिन्छ ।' सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायतस्थित कम्पनीका मालिकका नातेदारहरू २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यतिबेला एउटा इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्तावसमेत उनले गरेका थिए ।
त्यसबेला तत्कालीन सरकारले आफैं म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माणसम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् । संरक्षणका लागि महाप्रबन्धक तुलाधर डाँगीसहित खटाइएका १७ जना कर्मचारीमध्ये कार्यालयमा एकजना पनि भेटिँदैनन् । घरमै बसेर तलब खाइरहेका रेल्वेका कर्मचारीको लापरबाहीका कारण करोडौंको सम्पत्ति क्षति भइरहेको छ ।
पर्यटकीय तथा धार्मिक नगरीका रूपमा स्थापित जनकपुरधाम वा आसपासको क्षेत्रमा संसारमा कतै नभएको रेल इन्जिनको म्युजियम निर्माण गरिए जनकपुरको पर्यटकीय विकासमा थप टेवा पुग्ने पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रको भनाइ छ ।