छाउप्रति निर्मम बन्दै 'अगुवा'

छाउप्रति निर्मम बन्दै 'अगुवा'

पञ्चपुरी (सुर्खेत) : छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै छाउ (महिनावारी) भएका महिलाप्रति निर्मम व्यवहार भइरहेको छ । स्थानीय गाउँ र टोलमा सबैले विश्वास गर्ने अगुवा (धामी, पुजारी, बूढापाका र शिक्षित) बाटै महिनावारी हुँदा महिलालाई सार्वजनिक धारामा बन्देज लगाउनेदेखि पशुसँगै गोठमा सुताउनेसम्मका कठोर व्यवहार भइरहेको हो ।

रजस्वलाको बेलामा समुदाय र परिवारबाट भइरहेको कठोर व्यवहारका कारण महिला तथा किशोरी पीडित बनेका छन् । कुनैबेला छाउपडीविरुद्ध खरो उत्रिएका गाउँका अगुवाले नै अहिले महिलालाई न्यूनतम ६ दिनसम्म घरको नजिक पर्न नदिने र पशुसँगै गोठमा सुताउने गरेको भेटिएको छ । छुई हुँदा देउता रिसाउने भन्दै महिनावारीको बेला महिलालाई सार्वजनिक धारामासमेत प्रतिबन्ध लगाउने गरिएको छ । धारामा प्रतिबन्ध लगाइएका कारण खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको महिलाले पीडा पोखेका छन् । छाउपडीको कुप्रथा रहेको पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि महिनावारीको बेलामा महिलाहरू सार्वजनिक धारामा प्रवेश गर्न पाउँदैनन् ।

गाउँमा छाउगोठ बनाउन डर मानेका परिवारले भने अहिले महिनावारी हुँदा महिलालाई पशु बाँध्ने गोठमा सुताउने गरेको पाइएको छ । घरमा छाउगोठ छैन भन्ने देखाउन छाउगोठ पुनर्निमाण नगरेको भए पनि महिनावारी भएका परिवारका सदस्यलाई उनीहरूले पशु बाँध्ने गोठमा सुताउने गरेको भेटिएको हो ।

स्थानीय अगुवाले नै धाराको पानी प्रयोग गर्दा देउता रिसाउने भन्दै उनीहरूलाई नजिक पर्न दिँदैनन् । दुई वर्ष पहिला छाउपडीमुक्त घोषणा भएको बाबियाचौर निवासी रत्ना नेपालीले महिला र किशोरीका लागि समुदाय र गाउँका अगुवा नै निर्मम बनेको बताइन् । 'पाखा सरेको बेलामा धारामा जानै दिँदैनन्, खोला पनि नजिक छैन', उनले पीडा सुनाउँदै भनिन्, 'धारामा जाँदा देउता रिसाउँछन् भन्छन्, हामी त नजिक पनि पर्दैनौं । यस्तो बेलामा सरसफाइ बढी गर्नुपर्छ तर धाराको नजिक जानै नपाएपछि कसरी सफा हुने ? ' आफूलाई यो प्रथा गलत लागे पनि समुदाय नै छाउपडीको पक्षमा एकजुट भएकाले धारामा पस्ने आँट नआएको उनको भनाइ छ । उनले थपिन्, 'हामीले के पाप गरेका रहेछौं खै ? ६ दिनसम्म घरको नजिक पर्नै दिँदैनन् । धाराको पानी प्रगोग गर्न पनि पाइँदैन, अँध्यारो गोठमा सुत्नुपर्ने बाध्यता छ ।'

पञ्चपुरी नगरपालिकाकी ६५ वर्षिया नन्नकला विकलाई स्थानीयले विश्वास गर्छन् । तर उनले आफ्नो घरमा पनि देउता भएकाले रजस्वला भएका महिलालाई घरको आँगनमा टेक्न नदिने गरेको सुनाइन् । उनले भनिन्, 'छुई हुँदा मलाई पनि अशुभ हुन्छ, घरका सदस्य बिरामी हुन्छन् । हामीले पहिलेबाटै मान्दै आएको चलन हो, पाखा सरेको बेलामा घरभित्र र धाराको वरपर लसपस गर्नुहुँदैन ।' आफूहरू पनि गोठमा सुत्दै आएको भन्दै उनले अबका छोरी बुहारीले पनि घरदेखि टाढाको छाउगोठमा सुत्नुपर्ने उल्लेख गरिन् । सबैले विश्वास गर्ने अगुवा नै छाउप्रति निर्मम भएपछि स्थानीय महिला गोठमा सुत्न बाध्यछन् । यसअघि छाउपडीविरुद्धको अभियानका क्रममा उनको घरमा रहेको छाउगोठ भत्काइएको थियो । तर देउता रिसाएको र अशुभ भएपछि फेरि छाउगोठ बनाएको उनले सुनाइन् ।

गाउँमा छाउगोठ बनाउन डर मानेका परिवारले भने अहिले महिनावारी हुँदा महिलालाई पशु बाँध्ने गोठमा सुताउने गरेको पाइएको छ । घरमा छाउगोठ छैन भन्ने देखाउन छाउगोठ पुनर्निमाण नगरेको भए पनि महिनावारी भएका परिवारका सदस्यलाई उनीहरूले पशु बाँध्ने गोठमा सुताउने गरेको भेटिएको हो । कतिपयले भने खुला आकाशमुनि नै सुताउने गरेका छन् । समुदायका अगुवा र परिवारकै सदस्य महिनावारीप्रति निर्मम भएर अहिले पनि ढुंगे युगको झल्को दिइरहेका छन् ।

गाउँमा अगुवा र सबैले मान्दै आएका स्थानीय धामी र पुजारी थप कठोर बन्दै गएका छन् । बाबियाचौरका धामी दलबहादुर विकले भने, 'देउता रिसाउने काम गर्नु हुँदैन, छाउ भएकालाई अलग्गै गोठमा नै सुताउने हो । घरभित्र र भान्सामा त पस्नै दिँदैनौं, बरू हामीलाई हतकडी लगाए पनि राजी छौं ।' जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै उनले छाउगोठ भने हटाउन नसक्ने जिकिर गरे ।

सुर्खेतमा मात्र होइन, छिमेकी जिल्ला दैलेखमा पनि अवस्था दर्दनाक छ । जिल्लामा छाउपडीमुक्त घोषणा भएका स्थानमा हिजोआज महिलाहरू महिनावारी हुँदा गाईभैंसीसँगै गोठमा सुत्ने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायले छाउगोठ भत्काएर महिलालाई घरभित्र लगेका थिए । तर अभियानको बेलामा घरभित्र पुर्‍याइएका महिलालाई पछिल्लो समय समुदायले पशुसँगै सुताउन थालेको हो । छाउगोठ बनाउन नपाएको र घरभित्र देउता रिसाउने भन्दै स्थानीयले छाउ भएकी महिलालाई पशुसँगै सुताउने गरेको बताए । दैलेख लैनचौरकी कोकिला विकले घरभित्र सुत्न नपाउने भएकाले आफूहरू महिनावारी हुँदा गाईभैंसीसँगै गोठमा सुत्ने गरेको बताइन् । देउताको नाममा समाज निर्दयी र कठोर बन्दै गएकाले आफूहरू गोठमै रहेको उनको भनाइ छ । छाउपडी उन्मूलन अभियानपछि समुदाय थप कठोर बन्दै गएको हो ।



 




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.