कोरियामा ‘चिन्दगी’ किराले टोकेर बिरामी परेका नेपालीको मृत्यु
सोल : रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया आएका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ । छनानको बंगुर फार्ममा पन्ध्र महिनादेखि काम गर्दै आएका धादिङका २५ वर्षीय माङ तामाङको स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालले तामाङ चिन्दगी किर्ना नामक किराको टोकाइबाट संक्रमित भएको र त्यसैबाट निधन भएको आशंका गरेका छन् । चिन्दगी किराको टोकाइबाट विरामी परेका तामाङ एक साता अघि फार्मका साहुले अस्पतालमा लगेको उनका सहकर्मीले बताएका छन् । अस्पतालमा पुर्याएको केही दिनपछि तामाङ अचेत भएका थिए ।
जंगली किरा चिन्दगीको टोकाइबाट संक्रमण हुने रोगको औषधी अझैसम्म पत्ता लाग्न नसकेको कोरियन चिकित्सक बताउँछन् । कोरियाको स्वास्थ्य सम्बन्धी तथ्याकं अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना संक्रमित भएका छन् । जसमा १९ जनाले ज्यान गुमाई सकेका छन् ।
विवाहित समेत रहेका मृतक तामाङको परिवारमा बुबा, आमा , पत्नी र चार वर्षीय छोरा रहेको बुझिएको छ ।