राजपाको अन्योल

राजपाको अन्योल

 

प्रमुख तीन ठूला दललाई तेस्रो चरणको निर्वाचन लागिसकेको छ । दुई चरणको निर्वाचनमा दोस्रो हुन पुगेको कांग्रेसले असोज २ मा हुने चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । अघिल्ला चुनावको समीक्षा गर्दै तेस्रोमा 'जसरी पनि पहिलो हुने' रणनीति कांग्रेसले लिएको छ । एमालेले कांग्रेसबाहेकसँग तालमेल गरेर भए पनि 'फेरि एक नम्बर' नै बन्ने योजनासहितको चुनावी रणनीति अख्तियार गरेको छ । माओवादी पनि मधेसमा आफ्नो शक्ति प्रदर्शन गर्न दुई नम्बर प्रदेशकेन्द्रित भइसकेको छ । ठूला दलहरू मधेसकेन्द्रित चुनावी रणनीतिमा व्यस्त बन्दै जाँदा राष्ट्रिय जनता पार्टी (राजपा) चाहिँ अझै सहभागी हुने÷नहुने अन्योलमा छ ।

राजपाभित्र दुईखाले मत छ । एउटा, संविधान संशोधनको माग सम्बोधन नहुँदा चुनावमा सहभागी नभई पुनः आन्दोलनमा जानुपर्छ भन्छ । दोस्रो, चुनावमा सहभागी हुनुपर्छ भन्ने तर्क गर्छ । दुई धारबीच अन्तरर्विरोध बढिरहँदा राजपा अन्योलग्रस्त देखिन्छ । गत साता राजपाका पदाधिकारी तहका नेताहरूबीच चलेको अनौपचारिक बैठकमा पनि चुनावको पक्ष र विपक्षमा मत जाहेर भए र धेरैले संविधान संशोधनको मुद्दालाई थाँती राखेर भए पनि चुनावमा जानुपर्ने तर्क गरे । राजपा साउन १८ गतेदेखि औपचारिक रूपमा पदाधिकारी र उक्त बैठक सकिएपछि केन्द्रीय समिति बैठक गर्दैछ । उक्त बैठकबाट उसले चुनावका बारेमा प्रस्ट दृष्टिकोण बनाउनु आवश्यक छ ।

चुनाव लोकतान्त्रिक विधि हो । यसको सफलताले संविधानसभा- २ बाट जारी नेपालको नयाँ संविधान कार्यान्वयनलाई बलियो बनाउँछ । स्थानीय हुँदै प्रदेश र केन्द्रको चुनाव निर्धारित समयमा गर्न सके संक्रमणकालको अन्त्यसँगै नयाँ पद्धति संस्थागत हुन्छ । यसो हुन सके मधेसले पाएका राजनीतिक उपलब्धि पनि संस्थागत हुनेछन् । मधेस वा अरू क्षेत्र, समुदायका असन्तुष्टि सम्बोधन हुनुपर्छ । संविधान संशोधनमार्फत ती असन्तुष्टि सम्बोधन गर्ने अवसर भावी दिनमा पनि आउनेछ । तर यतिबेला ०६३ को आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने महत्वपूर्ण कार्यसूची मुलुकसामु भएकाले चुनावको अझ बढी महत्व छ । चुनावमार्फत लोकतन्त्रलाई स्थानीय तहसम्म पुर्‍याउने प्राप्त अवसरलाई सबै मिलेर उपयोग गर्न सक्नुपर्छ । राजपा त्यसमा अवरोधक होइन, सहायक हुनु जरुरी छ ।

राजपाभित्र हुर्कंदो अस्पष्टता, दुई वर्षयता उसका गतिविधिमा देखिएका उतारचढाव, कहिले आन्दोलनबाटै समाधान खोज्ने कुरा गर्ने त कहिले संसद् छोड्ने, अनि कहिले प्रधानमन्त्री चुनाव हुँदा आफ्नो राजनीतिक आग्रह र स्वार्थ पूरा हुँदा सहभागी हुने, कहिले चुनाव बिथोल्ने कुरा गर्ने आदिले उसैलाई राजनीतिक हानि गर्न सक्छ ।

त्यसकारण पनि यो दलले निर्वाचनतर्फ केन्द्रित हुन ढिलाइ गर्नु हुँदैन । निर्वाचनको मिति राजपाकै आग्रहमा सारिएको हो । यो चुनावमा राजपा सहभागी नहुने हो भने मिति सार्नुको औचित्य पुष्टि हुँदैन । त्यसकारण एकातिर सरकारले राजपालाई चुनावमा सहभागी गराउने अधिकतम प्रयास गर्नुपर्छ भने अर्कोतर्फ राजपा आफैंले पनि राजनीतिक जिम्मेवारी बोध गर्दै हठ त्यागेर चुनावी गतिविधि तेज बनाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.