विश्व बजारमा सफलता हात पार्दै हुवावे
काठमाडौं : हुवावे कन्ज्युमर बिजनेस गु्रपले सन् २०१७ को पहिलो ६ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार कम्पनीले यो वर्षको पहिलो ६ महिनामा १६ खर्ब तीन अर्ब ८४ करोड २६ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३६ दशमलव २ प्रतिशतले वृद्धि हो ।
स्मार्टफोनको विश्व बजारमा ९.८ मार्केट सेयरका साथ तेस्रो ठूलो स्मार्टफोन कम्पनीका रूपमा रहेको हुवावे नेपाली बजारमा दोस्रो स्थानमा छ । कम्पनीका अनुसार नेपालमा कम्पनीको मार्केट सेयर १२ प्रतिशतभन्दा बढी छ । तीव्र रूपमा आफ्नो बजार विस्तार गर्दै आएको हुवावेको यो अवधिमा मोबाइल निकासीतर्फ पनि उल्लेखनीय वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार स्मार्टफोन निकासीमा गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष २०.६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीका अनुसार यो वर्षको पहिलो ६ महिनामा सात करोड ३० लाख १० हजारभन्दा बढी स्मार्टफोन निकासी भइसकेको छ ।
हुवावेले आफ्नै देश चाइनामा सबैभन्दा बढी छलाङ मार्दै आएको छ । कम्पनीका अनुसार मोबाइल निकासीअन्तर्गत चाइनामा पे्रत्यक वर्ष २४ प्रतिशतले वृद्धि भइरहेको छ भने चाइनाको २१ प्रतिशत मार्केट सेयर हुवावेको छ । उक्त प्रतिवेदनअनुसार कम्पनीले आफ्नो हाइएन्ड स्मार्टफोनमा समेत सफलता हात पारेको छ । कम्पनीका अनुसार विश्वमा ५० हजार मूल्यभन्दा माथिका स्मार्टफोनको बजारमा हुवावेले ९ प्रतिशत मार्केट हिस्सा कब्जा गर्न सफल भएको छ । स्पने, इटाली, पोल्यान्ड, थाइल्यान्डलगायत देशमा हुवावेको हाइएन्ड स्मार्टफोनको मार्केट हिस्सा १० प्रतिशत छ भने चाइना र मलेसियामा ५० हजार मूल्यभन्दा माथिका स्मार्टफोनमा हुवावेले २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विश्वका ठूला २१ सहरमा कम्पनीको हाइइन्ड स्मार्टफोन (पी सिरिज र मेट सिरिज) को निर्यातमा वार्षिक शतप्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । पछिल्लो ६ महिनाको प्रतिवेदनअनुसार फिनल्यान्ड, चेक रिपब्लिक, हंगेरी, पोर्चुगल, इटाली, अस्ट्रिया, पोल्यान्डलगायत युरोपका १० भन्दा बढी देशमा कम्पनीको मार्केट सेयर २० प्रतिशतभन्दा बढि पुगको छ । भने, बेल्जियम, रोमानिया, स्पेन, आयरल्याण्ड, डेनमार्क, युक्रेन, ग्रिस, जर्मनी लगाएत देशमा हुवावेको १० प्रतिशत मार्केट सेयर रहेको उल्लेख गरिएको छ ।
यो क्रममा कम्पनीले एसिया प्रशान्तमा पनि उल्लेखनीय सफलता हात पारेको छ । ब्रान्ड भ्यालुका साथै मार्केट सेयरमा एसिया प्रशान्तमा ठूलो वृद्धि भएको छ । कम्पनीका अनुसार एसियाका दक्षिण–पूर्वी देश थाइल्यान्ड, मलेसियामा स्मार्टफोन निकासीमा वार्षिक ५२ प्रतिशतले वृद्धि भइरहेको छ भने जापान, दक्षिण कोरिया र रसियामा ४७ प्रतिशको हिसाबले स्मार्टफोन निकासीमा वार्षिक वृद्धि भइरहेको उल्लेख गरिएको छ । यी देशमा कम्पनीको मार्केट सेयरमा ९.५ प्रतिशतसम्म वृद्धि भएको कम्पनीले जनाएको छ । त्यस्तै, ल्याटिन अमेरिका, अफ्रिकालगायत देशमा कम्पीनको मार्केट सेयरमा गत वर्षको तुलानमा ४.७ प्रतिशत सम्म वृद्धि भएको छ ।
यो सफलता हात पार्ने क्रममा कम्पनीले पछिल्लो सयमा सार्वजनिक गरेको मेट सिरिजको मेट ९ र मेट ९ प्रो ८५ लाख, पी १० र पी१० प्लस ६० लाख निकासी भएको छ । त्यस्तै, नोभा २ र नोभा २ प्लस सार्वजनकि भएको एक महिनाको अवधिमा १० लाख निकासी भएको छ भने अनर ९ सार्वजनिक भएको २८ दिनमा १० लाखभन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ ।
यसका साथै यो अवधिमा कम्पनी आफ्नो ब्रान्डमा समेत सफलता हात पारेको छ । हुवावे ‘ब्रान्ड जेड’ को टप सय ब्रान्डमा २०.३८८ बिलियन अमेरिकन डलर ब्रान्ड भ्यालुका साथ ४९ नम्बरमा परेको छ । त्यस्तै, फोर्वस्ले सार्वजनिक गरेको विश्वका उत्कृष्ट ब्रान्डमा ७.३ बिलियन अमेरिकन डलर ब्रान्ड भ्यालुका साथ हुवावे ८८ औं नम्बरमा परेको छ । प्रतिवेदनअनुसार अघिल्लो वर्ष यो अवधिको तुलनामा यो वर्ष कम्पनीको ब्रान्ड भ्यालुमा नौ प्रतिशतले वृद्धि भएको छ ।