विमान दुर्घटनामा बचेका खेलाडी मैदानमा ओर्लन आतुर

विमान दुर्घटनामा बचेका खेलाडी मैदानमा ओर्लन आतुर

रियो दी जेनेरियो : गत मंसिरमा भएको विमान दुर्घटनामा बाँच्न सफल भएका ब्राजिली फुटबलर एलन रस्चेल मैदानमा ओर्लन आतुर देखिएका छन् । गत मंसिर १४ गते ब्राजिली फुटबल क्लब चापाकोएन्सका खेलाडीसहित ८१ जना सवार विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना यात्रुमात्रै बाँच्न सफल भएका थिए । तिनै ६ यात्रुमध्येका एक थिए, रक्षक एलान रस्चेल ।

उनी लामो समयसम्म उपचारमा थिए । उनी होसमै रहे पनि लामो समयसम्म टोलाएरै बसिरहन्थे । कसैसँग पनि कुरा गर्न नरुचाउने रस्चेललाई दुर्घटनाको त्रासबाट बाहिर निकाल्न उनकी पत्नी मरिना स्र्टोचीले अहम् भूमिका निर्वाह गरिन् । पत्नीको लामो र अथक प्रयासपछि रस्चेल यतिबेला दुर्घटनाको त्रासबाट बाहिर निस्किएका छन् । अकल्पनीय दुर्घटनाका साक्षी बनेका फुटबलर रस्चेल अहिले पुरानै कर्ममा फर्किएका छन् । लामो समयसम्म गुमनाम बनेका रस्चेल अहिले फुटबल मैदानमा फर्कने तयारीमा छन् ।

रस्चेल आठ महिनापछि स्पेनिस क्लब बार्सिलोनाविरुद्ध मैदानमा ओर्लने तयारीमा छन् । उनी अर्को महिना बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल खेल्न आतुर छन् । २७ वर्षीय रस्चेल पुरानै फर्ममा फर्कन हरेक दिन फुटबल मैदानमा पसिना बगाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ महिनाअघिको बीभत्स घटनालाई बिर्सिएर चापाकोएन्सले नयाँ टोली तयार पारिसकेको छ । टिममा विमान दुर्घटनामा बाँचेका रस्चेलसँगै गोलरक्षक ज्याक्सन फोलम्यान र मार्कोस ड्यानिलो पनि चापाकोएन्समा आबद्ध भएका छन् ।

उक्त विमान दुर्घटनामा चापाकोएन्सले १९ जना खेलाडी र पूरै कोचिङ स्टाफ गुमाउनु परेको थियो । इन्धन सकिएर दुर्घटना भएको विमानमा २१ खेलाडी, २० भन्दा बढी पत्रकार, कोचिङ स्टाफ र अन्य यात्रु सवार थिए । दुर्घटनामा परेर पनि चापाकोएन्सका तीनजना खेलाडी, चालक दलका दुई सदस्य र एक पत्रकार बाँच्न सफल भएका थिए । चापाकोएन्स टोली एट्लेटिको नासिओनलसँग कोपा सुडामेरिकाना प्रतियोगिताको फाइनल खेल्न मेडिलिन जाँदै थियो । उक्त प्रतियोगिता दक्षिण अमेरिकाकै दोस्रो ठूलो क्लब प्रतियोगिता मानिन्छ ।

चापाकोएन्सले आगामी जुलाई ७ तारिखमा बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा मैत्रीपूर्ण खेल खेल्नेछ । जोआन ग्याम्पर ट्रफी नाम दिइएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई नै मैदानमा उतार्ने सञ्चारमाध्यमले जनाएका छन् । चापाकोएन्सले शुक्रबार विज्ञप्ति निकाल्दै रस्चेलको पुनरागमन उनको स्वास्थ्य र क्लबको फुटबल टिम पुनर्निर्माणमा महत्वपूर्ण रहेको जनाएको छ । चापाकोएन्सले बार्सिलोनाजस्तो संसारकै चर्चित क्लबसँगको मैत्रीपूर्ण खेलले क्लबको पुनरागमनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । चापाकोएन्स क्लबको स्थापना सन् १९७३ मा भएको थियो । ब्राजिलियन लिगमा यो क्लब नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.